मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोजगारीका लागि भारत गएका श्रीमान् कुटपिटबाट मारिएपछि विलौना गर्दै प्रमिलादेवी सदा र उनका सन्तान । तस्बिर : नयाँ पत्रिका
२०७८ बैशाख २१ मंगलबार ०७:३२:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मजदुरी गर्न भारत गएका बुधु सदाको कुटपिटबाटै गयो ज्यान

Read Time : > 4 मिनेट
२०७८ बैशाख २१ मंगलबार ०७:३२:००

गम्भीर घाइते बुधुको उपचार गर्न सहयोग माग्दा वडाध्यक्षले नाकको फुली राखेर पाँच हजार दिए, उपचार नपुग्दा घाइतेको मृत्यु

अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन शनिबार प्रधानमन्त्री केपी ओलीले श्रमिकहरूको तलब बढाउने घोषणा गर्दैगर्दा सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरकी प्रमिलादेवी सदा पतिको शवको निष्पक्ष पोस्टमार्टम गरिदिन अस्पतालमा डाक्टरसमक्ष हारगुहार गर्दै थिइन् । काम गरेपछि भरपेट खाना माग्दा ठेकेदारले मरणासन्न हुने गरी कुटपिट गरेपछि उपचारकै क्रममा बुधु सदाले १७ वैशाखमा प्राण त्यागेका थिए । श्रीमान्को शवको निष्पक्ष पोस्टमार्टम गरिदिन भन्दै प्रमिलाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गुहार मागेकी हुन् । 

तर, अस्पताल प्रशासनले ठूला अस्पतालमा पोस्टमार्टम गरिए मात्र धेरै कुरा थाहा हुन सक्ने भन्दै जवाफ दिएपछि प्रमिला थप चिन्तामा परिन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म शववाहनको खर्च कहाँबाट जुटाउने भन्ने संकट थपियो । नयाँ पत्रिकाकर्मीले एकजना प्रहरीको खातामा १० हजार रुपैयाँ पठाउने बताएपछि शनिबार साँझ शव पोस्टमार्टम गर्न धरान लगियो । संयुक्त दलित संघर्ष समिति सप्तरीको पहलमा शव पोस्टमार्टमका लागि धरान पठाइएको समितिका अगुवा शिवकुमार रामले जानकारी दिए । त्यहाँबाट पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । आइतबार सदाको सप्तरीस्थित गाउँमै अन्तिम संस्कार गरिएको छ । 

ठेकेदार रमेश यादवले मजदुरीका लागि बुधुलाई लगेका थिए भारत
मृतककी पत्नी प्रमिलादेवीका अनुसार गत ९ वैशाखमा छिन्नमस्ता गाउँपालिका–७ का ठेकेदार रमेश यादवले ४५ वर्षीय बुुधुलाई भारतको जमुनानगरस्थित प्लाइउड कम्पनीमा मजदुरी गर्न लगेका थिए । पाँच दिनपछि १४ वैशाखमा खाना खाने विषयमा विवाद भएपछि ठेकेदार यादवसहित चारजनाले बुधु सदामाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका बुधुुको अवस्था चिन्ताजनक बनेपछि ठेकेदार यादवले बुधुलाई गाडीमा हालेर नेपाल–भारत सीमा ल्याई छाडेर भारत फर्के । त्यसअघि ठेकेदार यादवले बुधुको मानसिक अवस्था बिग्रिएको भन्दै परिवारलाई फोन गरेर जानकारी गराएका थिए । मानसिक सन्तुलन गुमाएपछि गाडीको सिसा फुटाइदिएको र आफूले कोठामा ल्याएर थुनेर राखेको भन्दै रमेश यादवले बुधुका छोरालाई फोनमा भनेका थिए । बुधुलाई नेपाल ल्याउनुअघि नै रमेश १५ वैशाखमै नेपालस्थित उनको घरमा आएर भोटर लिस्टमा भएको बुधुको फोटो खिचेर भारत गएका थिए । उनले प्रमिलालाई ‘तपाईंको श्रीमान् घर पठाउन सजिलो हुन्छ’ भन्दै फोटो खिचेर गएका थिए ।

१६ वैशाख बिहान ३ बजे रमेशले फोन गरेर बोर्डरमा आउन भनेपछि छोरा र भतिजालाई लिएर जाँदा मुख्य बाटोमा प्रहरी छ, जान दिँदैन भन्दै चौरबाट लिएर जान भनेको प्रमिलाले बताइन् । प्रमिलाले भनिन्, ‘ठेकेदार रमेशले बुधु बिरामी छ, घर लिएर जानु भन्दै त्यहीँबाट पुनः भारत नै फर्किए । हामी सबैजना मिलेर काँधमा बोकेर धानखेतको बाटोबाट घर ल्यायौँ ।’

प्रमिलाका अनुसार काम गर्दा खाना मागेपछि ठेकेदारको समूहले बुधुलाई फलामको साङ्लोले बाँधेर निर्घात कुटपिट गरेका थिए । ‘अघिल्लो दिन पनि तरकारीविना निस्तै भात खान दिएको र अर्को दिन पनि त्यस्तै खाना खान दिएपछि उहाँले काम गर्ने मान्छेलाई सधैँ विनातरकारीको खाना खान दिएर कसरी काम गर्न सकिन्छ ? भनेपछि ठेकेदारको समूहले मरणासन्न हुने गरी कुटेछन्,’ प्रमिलाले भनिन् ।

ठेकेदार यादवले नुन–भात खाएर पनि काम गर्नुपर्छ भन्ने जवाफ दिएको र सवालजवाफकै क्रममा ठेकेदार रमेश यादव, महेश यादव, कमल र अर्को एकजना नाम नखुलेका व्यक्तिले आफूमाथि कुटपिट गरेको बुधुले जानकारी दिएको प्रमिलाले बताइन् ।आफ्नो पतिको कुटपिटकै कारण मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको प्रमिलाले बताइन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘बुधु सदाको परिवारले कुटपिट गरी हत्या गरेको भन्नुभएको छ,’ उनले भने, ‘कुटपिटबाटै मृत्युु भएको हो कि होइन भन्ने विषय अनुसन्धानमै छ ।’ मृतक सदाका चार छोराछोरी छन् ।

बुधु सदाकी पत्नी प्रमिलादेवी भन्छिन्– प्लाइउड कम्पनीमा काम लगाइदिने भन्दै ठेकेदारले भारत लगे, खान माग्दा साङ्लोले बाँधेर मरणासन्न हुने गरी कुटेछन्

मेरो श्रीमान्लाई ठेकेदार रामेश्वर यादवले ९ वैशाखमा काम गर्न भारतको जमुनानगर जाने भनेर घरबाट मोटरसाइकलमा हालेर लगेका थिए । त्यहाँ पुग्न गाडीमा तीन दिन लाग्यो । चौथो दिन खानपिनको विषयमा विवाद भएछ । अर्को दिन फेरि तरकारीकै लागि झगडा भएछ । रामेश्वर, महेश र रमेश सबै दाजुभाइ ठेकेदार हुन् । उनीहरू मिलेर श्रीमान्लाई फलामे साङ्लोले बाँधेर कुटपिट गरेछन् । त्यसपछि ठेकेदार रमेशले छोरालाई फोन गरेर आमासँग मलाई कुरा गराइदेऊ भन्यो । उसले छोरालाई तिम्रो बुबालाई सञ्चो छैन, मानसिक सन्तुलन बिग्रिएको छ भन्यो । तर, छोराले पाँच दिनअघिसम्म स्वस्थ बुबा कसरी त्यस्तो हुन्छन्, तपाईंहरूले कुट्नु भयो कि भन्यो । त्यसपछि उसले भन्यो, म गाडीमा चढाएर पठाइदिन्छु । 

फेरि फोन गरेर भन्यो, गाडीको सिसाहरू तोडफोड गर्‍यो, मैले कारमा ल्याएर कोठामा थुनेर राखेको छु । म आउँदै छु तिम्रो घरमा । ठेकेदार रमेश यादव १५ वैशाखमा मेरो घरमा आएर भोटर लिस्टको फोटो खिचेर लग्यो । उसले म भोलि फोन गर्छु, त्यसपछि ३/४ जनालाई लिएर ४ बजे सखडा आउनु भन्यो । १६ गते ३ बजे नै फोन गर्‍यो । अनि म आत्तिएर हतारहतार सिटीवालाकहाँ गए । उसले १५ सय रुपैयाँ माग्यो । पछि १३ सयमा जाने भयो । ३ बजे नै हामी सखडा गयौँ । प्रहरीले फर्काइदियो ।

त्यसपछि हामी नहरको बाटो भएर बोर्डरमा गयौँ । उताबाट सेतो कार आयो । कारबाट ५/७ जना मान्छे निस्के । श्रीमान् पूरै अचेत अवस्थामा थिए । मेरो छोरालाई ‘तिम्रो नाम धिरेन हो’ भनेर सोध्यो । र, लिएर गयो । म पनि गएँ । छोरालाई हात समातेर कागजमा सहीछाप गर्न लगाइयो । मलाई पनि लगाउन भने । मैले लगाउँदिन भनेँ । ठेकेदारले भन्यो, तपाईं नआत्तिनुस्, हामीलाई बाटोमा प्रहरीले रोकेमा मान्छेलाई छोड्न गएका थियौँ भन्छौँ । उनको श्रीमती र छोरा आएका थिए लिन, जिम्मा लगाइसके भन्छु यो कागज देखाएर । यो सबै सुनेपछि मैले पनि छाप लगाइदिएँ । त्यसपछि ठेकेदारले श्रीमान्लाई बेहोसको अवस्थामा गाडीबाट तल झारिदियो । बेहोस अवस्थामा रहेका श्रीमान्लाई कसरी घरसम्म लग्ने ? कोही पनि थिएन । त्यसपछि आफन्तलाई बोलाएँ । काँधमा बोकेर धानखेत हुँदै घर ल्याएँ । बीचबाटोमा पानी खान्छु भने, त्यही खेतमा भएको पानी अलिकति खुवाएँ । अलि टाढा गएपछि एउटा मोटरबाट पानी दिँदै थियो । त्यहाँ एक लिटरजति पानी खानुभयो । मुख सेतो भइसकेको थियो । शरीरमा रगत छैन जस्तो लागिरहेको थियो । खाना नदिएर, भोकभोकै राखेर मेरो श्रीमान्लाई मारे । । पूरै शरीरभरि कुटेको डाम थियो, सुनिएको थियो । 

घरमा पैसा नभएकाले १६ गते दिनभर छरछिमेकमा हारगुहार गरेँ, कतै सहयोग पाइनँ । राजगढ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मी ठाकुर छिमेकी पनि हुन् । भोलिपल्ट वडाध्यक्षकहाँ सहयोग माग्न गएँ । तर, पाइनँ । उनको छोरा विरेन ठाकुरकहाँ सहयोगका लागि हात फैलाएँ, तर उनले पनि पैसा छैन भने । मैले छोरीको नाकमा दुुई आनाको सुनको फुली छ, त्यो बन्धकी राखेर पैसा दिन अनुुनयविनय गरेँ । त्यसपछि वडाध्यक्षका छोरालाई छोरीको नाकको फुली झिकेर दिएपछि तत्काल पाँच हजार र पुनः बेलुका छोरालाई पैसा माग्न पठाएपछि पाँच हजार गरेर १० हजार ऋण लिएँ । त्यसपछि उपचार गर्न राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पताल लगेँ । अस्पतालमा पनि डाक्टरहरूले नौ सयजतिको औषधि ल्याउन भने । त्यसपछि सलाइन पानी चढाउन थाले । एकछिनपछि सलाइनबाट पानी रोकियो । त्यत्तिकैमा श्रीमान् छटपटाउन थाल्नुभयो । केही छिनमा प्राण त्याग्नुभयो । 

ठेकेदारहरूले ढाँटेर, फकाएर मुसहर युवालाई भारत लैजान्छन् : लक्ष्मी ठाकुर, वडाध्यक्ष राजगढ गाउँपालिका–५

गाउँघरमा अझै पनि निमुखा मुसहर समुदायको श्रम शोषण भइरहेको छ । ठेकेदारहरूले झुक्याएर, फकाएर मुसहर समुदायलाई भारतमा लगेर काम गराउने गर्छन् । काम गर्न लगेका बुधु सदाको ठेकेदारको कुटपिटबाट मृत्यु भएको छ । सुरुमा मलाई पनि थाहा थिएन । उपचार गर्न राजविराज लगेपछि मात्र थाहा भयो । अब कानुनी उपचारमा सकेजति सहयोग गर्छु । 

चोटका कारण रक्तचापको गति र मुटुको धड्कन कम भएर मृत्यु भयो : डा.रणजितकुमार झा, मेडिकल सुपरिटेन्डेन्ट, गजेन्द्रनारायण सिंह अस्पताल

अस्पताल ल्याउँदा उनको अवस्था गम्भीर थियो, भित्री इन्जुरीका कारण रक्तचाप र मुटुको धड्कन नर्मल अवस्थाभन्दा निक्कै कम भई मृत्यु भयो । शरीरको भित्री भागमा अत्यधिक चोटका कारण रक्तचापको गति र मुटुको धड्कन कम भएर उनको मृत्यु भएको हो । भिसेरासमेत परीक्षण गर्नुपर्ने भएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका हौं । 

मुसहर समुदायमाथि पञ्चायतकालमा भन्दा बढी शोषण भइरहेको छ  : चन्देश्वर सदा, अध्यक्ष राष्ट्रिय मुसहर उत्थान संघ 

पिँधमा पारिएका मुसहर समुदायलाई समाजका कथित उच्च जात र जनप्रतिनिधिहरूकै नातागोताका व्यक्तिहरूले भारतमा चर्को श्रम शोषण गरिरहेका छन् । मुसहर समुुदायमाथि पञ्चायतकालभन्दा बढी शोषण भइरहेको छ । अघिल्लोपटक लकडाउन सुुरु हुँदा शम्भु सदा, राजु, मलर सदालगायत दर्जनौँ दलितले मृत्युवरण गर्नुपर्‍यो ।