मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २० सोमबार १०:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सूर्य चिह्नबाट चुनाव लडेका सांसद कानुनी रूपमा अन्य दलको हुन सक्दैन : शंकर पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २० सोमबार १०:१७:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सूर्य चिह्नबाट चुनाव लडेर सांसद बनेकाहरू कानुनी रूपमा अन्य दलको हुन नसक्ने दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पोखरेलले विमलाकुमारी खत्रीलाई अहिले माओवादी केन्द्र रोज्न कानुनले नदिने बताए ।

उनले भने, ‘लुम्बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको हो । दलको बैठकले सर्वसम्मत रूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्तिपछिको विवादको निरुपण प्रक्रियाअनुरूप नै हुनेछ । विमलाकुमारी खत्री फागुन २३ को फैसलापछि एमालेको प्रदेश सभा दलमा सहभागी हुँदै आउनुभएको हो । उक्त विवरण त्यतिवेला नै प्रदेश सभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुनविपरीत कार्य हो । यस प्रक्रियामा प्रदेश सभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ। चर्चामा ल्याइएका अन्य सांसदहरूसमेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमति जनाउनुभएको हो । सूर्य चिह्नबाट चुनाव लडेका उहाँहरूको समर्थन कानुनी रूपमा समेत अन्य दललाई हुन सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।’

अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चारजना सदस्यलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा गर्नु  षड्यन्त्रपूर्ण नाटक भएको बताए । उनले  नेकपा (एमाले) बहुमत प्राप्त दल बनेको र बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहने दाबी गरे । जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरेको भन्दै उनले  पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको बताए । 

संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जिल्नेहरूलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताए । चुनाव चिह्न सूर्य लिएकाहरू हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद भएको उनको टिप्पणी छ । 

उनले लेखेका छन्, ‘जनता समाजवादीका बहुमत सदस्यले कारबाहीका  विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुनेछ । नियुक्तिपछिको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितिको उपज हो ।सूर्य चिह्न लिएर उम्मेदवार भई सांसद भएकाहरूलाई अर्को दलले आफ्नो पक्षको भनेर दाबी गर्ने कुरा संविधानविरोधी र अराजनीतिक कुरा हो । यस प्रकरणमा के–कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् ।’

बहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार रहने उनले दाबी गरे । ‘जुन साथीहरूले अराजनीतिक हर्स ट्रेडिङको खेल खेलिरहनुभएको छ, उहाँहरूले लुम्बिनी सरकारविरुद्ध प्राेपोगण्डा सञ्चालन गर्नु स्वाभाविक हो । जहाँसम्म प्रदेश सरकारको कामको कुरा छ, सात प्रदेशमा लुम्बिनी प्रदेशअगाडि नै छ र आगामी दिनमा पनि रहनेछ,’ उनले लेखेका छन् ।