Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २० सोमबार ०८:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थप खोप ल्याउन पहल भइरहेको छ :अर्थमन्त्री

जनताको जीवनरक्षा सर्वाधिक प्राथमिकतामा, अर्थतन्त्रलगायत विषय त्यसपछिको प्राथमिकतामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २० सोमबार ०८:२७:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको पहुँचमा ल्याउन थप खोप ल्याउने पहल जारी रहेको बताएका छन् । जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट खोप ल्याई नागरिकहरूलाई लगाइएको भन्दै उनले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले जनताको जीवनरक्षा यतिवेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै उनले आ–आफ्ना ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष ०७८÷७९ बजेटसम्बन्धी दिएको सुझाब लिएपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा रहेको बताए । ‘कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका वेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने देखिएको छ,’ उनले भने, ‘पहिले जनताको जीवनरक्षा र त्यसपछि यस्ता अन्य विषयमा ध्यान केन्द्रित हुनेछ ।’ उनले वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए ।

सेजनले कोरोनाका कारणले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन आगामी वर्षको बजेटमा ल्याउनुपर्ने तत्कालीन राहत प्याकेजका साथै मध्यकालीन र दीर्घकालीन रूपमा समेट्नुपर्ने विषयलाई समेटेर अर्थमन्त्रीलाई सुझाब दिएको छ । सेजनले व्यक्तिगत आयकरमा छुटको सीमा बढाउन, अन्य करका दरहरूमा सहुलियत दिन तथा दायरा बढाउन, पुनरुत्थानका लागि प्याकेजहरू ल्याउन, अनुत्पादक खर्चहरू कटौती गर्न, उत्पादन तथा निर्यात वृद्धि गर्ने कार्यक्रम ल्याउनलगायत सुझाब दिएको छ । 

सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमूलक समाचारका लागि प्रोत्साहनस्वरूप फेलोसिपको व्यवस्था गर्न, पत्रकारको पेसागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, आर्थिकसँग सम्बन्धित बिटको विकासका लागि प्रोत्साहन गर्नेलगायतका कार्यक्रम ल्याउन सुझाब दिए ।