मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २० सोमबार ०९:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लयमा फर्किंदै सेयर बजार

कारोबार रकम बढ्दा लगानीकर्तामा उत्साह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २० सोमबार ०९:१६:००

अघिल्लो साताको लामो करेक्सनलाई पार गर्दै सेयर बजार पुनः लयमा फर्किएको छ । अघिल्लो साता बजारमा उतारचढाव तीव्र गतिमा रहेको थियो । बजारको उतारचढावपछि करेक्सनमा जानु स्वाभाविक मानिन्छ । अघिल्लो साता बजार घट्नुमा अनलाइन कारोबार बन्द हुने हल्ला, नयाँ लगानीकर्ता सशंकित र निषेधाज्ञाको डर प्रमुख रहेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ब्याजदर घट्दो दरमै रहेको र लगानीकर्तामा  मनोबल उच्च राखेर कारोबार गर्दा बजार सकारात्मक हुन पुगेको उनको दाबी छ ।

आइतबार नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ७८ अंकले बढेर ४ सय ७७ बिन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम बढ्नु बजार लयमा फर्किएको संकेत भएको लागनीकर्ताको बुझाइ छ । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २६ कम्पनीको १ करोड ५८ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक रहको छ । बैंकको ४२ करोड २ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल रिइन्स्योरेन्स कम्पनीको ४० करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रोमा नेपाल दूरसञ्चार कम्पनीको ३२ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक रहेको छ । अन्य समूह, निर्जीवन बिमा कम्पनीको समूह र जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै बढेको छ ।

तीन कम्पनी सबैभन्दा धेरै नाफामा
तीन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले यस दिन सबैभन्दा धेरै नाफा कमाएका हुन् । तीनवटै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सर्किट लागेको छ । यस दिन सबैभन्दा धेरै गुमाउनेमा म्युचुअल फन्ड रहेको छन् । 

रुरु जलविद्युत् परियोजना नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने 
रुरु जलविद्युत् परियोजना लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो कारोबारमा आउने भएको हो । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७ हजार ७ सय ६ कित्ता, आयोजना प्रभाविकत बासिन्दाका लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता र कम्पनी संस्थापकहरूका लागि ३२ लाख ६१ हजार ६ सय ४४ कित्ता सेयर गरी जम्मा ४० लाख ७७ हजार ५५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।