मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुदीप सिवाकोटी
२०७५ फाल्गुण ५ आइतबार ११:२९:००
Read Time : > 1 मिनेट
प्रदेश

मकवानपुर सडक मानवमुक्त जिल्ला घोषणा

Read Time : > 1 मिनेट
सुदीप सिवाकोटी
२०७५ फाल्गुण ५ आइतबार ११:२९:००

मकवानपुुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । ६ वर्षअघि सुरु गरिएको अभियानलाई पूर्णता दिँदै मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो । मानव सेवा आश्रमले सुरु गरेको अभियानलाई अनुसरण गर्दै जिल्लामा सञ्चालनरत १६ वटा सामाजिक संघसंस्थामा आश्रय लिइरहेका र मकवानपुरको कुनै पनि स्थानमा विनाआश्रय सडकमा जीवन बिताउनुपर्ने अवस्था समाप्त भएको घोषणा गरिएको छ ।

घरपरिवार र आफन्त हुँदा पनि पेसेवर मगन्तेका रूपमा रहेका सहयोगापेक्षी मानव मकवानपुरमा नरहेको तथा केही भए वा भेटिए तत्काल व्यवस्थापन गर्न सकिने अवस्था रहेको, कोही सडकमा आइहाले उनीहरूको व्यवस्थापन गर्न सकिने अवस्था भइसकेको आधारमा सडक मानवमुक्त जिल्ला घोषणा गरिएको दाबी गरिएको छ ।

उद्धारका लागि गाडी हस्तान्तरण
प्रदेश ३ सरकारले सडकमा कष्टकर जीवन बिताउन बाध्य नागरिकको उद्धारका लागि एउटा गाडी हस्तान्तरण गरेको छ । सडकबाट उद्धार गर्न, उपचारका लागि अस्पतालसम्म लैजान दिइएको गाडीको साँचो मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई हस्तान्तरण गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उपमहानगरपालिकाले गर्ने केही सिफारिसबाट १० रुपैयाँका दरले संकलन गरेर मानव सेवा आश्रमलाई हस्तान्तरण गरिने उद्घोष गरे ।

चार वर्षमा प्रदेशलाई नै सडक मानवमुक्त बनाउने दाबी

जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा प्रदेश ३ सरकारले अबको चार वर्षभित्र प्रदेशलाई नै सडक मानवमुक्त बनाउने तयारीसाथ अघि बढेको दाबी गरेको छ । कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलालले चार वर्षमा प्रदेश ३ का १३ वटै जिल्ला सडक मानवमुक्त बनाउने प्रतिबद्धता जनाए । 

मुख्यमन्त्री पौडेलले सडकमा कष्टकर जीवन बिताउन बाध्य भएका नागरिकको उद्धार गरेर पालनपोषण गर्न प्रदेश सरकार तयार रहेको बताए । 

मानव सेवा आश्रमलाई चालू आर्थिक वर्षमा प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । उनले भने, ‘सडक मानवमुक्त भनेर घोषणा मात्र गर्ने होइन, कार्यान्यन गरेर देखाउने अभियानअनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रमै समावेश गरेका छौँ । सबै नागरिकले गाँस, बास र कपास पाउनुपर्छ भन्ने मान्यतासाथ यो काम गरिएको छ।’ 

कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडाले विभिन्न अपराधमा संलग्नहरूलाई जेलमा राखेर नाना, खाना, पानी, बिजुली सबै सेवा दिन सक्ने सरकारले विनाअपराध, बेसहारा बनेर सडकमा कष्टकर जीवन बिताइरहेकाको पनि व्यवस्थापन गर्नुपर्ने बताए । प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मानवताको काममा सबैलाई एक भएर लाग्न आग्रह गरे ।