मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक भट्ट
२०७५ फाल्गुण ५ आइतबार ११:२२:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्पले जीर्ण विद्यालयको  छानो पनि हावाहुरीले उडायो

Read Time : < 1 मिनेट
दीपक भट्ट
२०७५ फाल्गुण ५ आइतबार ११:२२:००

रामेछाप नगरपालिका–४ हिमगंगास्थित महारुद्र माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । अकस्मात आएको हावाहुरीले छानो उडाएपछि करिब ३ सय ११ बालबालिकालाई चरौरमा पठाउनुपरेको छ । सो विद्यालयमा अध्यनरत अधिकांश बालबालिका जनजाति समुदायका छन् ।

०७२ को भूकम्पले विद्यालय भवन जीर्ण बनाएको थियो । अर्को भवन नहुँदा सोही जीर्ण भवनमा पठनपाठन हुँदै आएको थियो । अस्थायी टहरामा पठनपाठन हुँदै आएकामा छानो उडाएपछि झनै समस्या भएको प्रधानाध्यापक पदमबहादुर मगरले जानकारी दिए । उनले भने, ‘छानो उडाएपछि नयाँ भवनका ६ वटा कोठामा विद्यार्थी सारेका छौंँ । बाँकी अन्य केही कक्षा छानो उडाएकै ठाउँमा र केहीलाई अस्थायी सिकाइ केन्द्रमा राखेर नियमित विद्यालय सञ्चालन गरिरहेका छौँ ।’

६ कोठे भवन बन्यो, तर हस्तान्तरण भएन
विद्यालय व्यवस्थापन समितिले नयाँ भवन माग गरेपछि शिक्षा विकास समन्वय एकाइमार्फत ८६ लाखको लागतमा ६ कोठे नयाँ भवन निर्माणको काम अघि बढेको छ । निर्माणाधीन उक्त भवन उपभोक्ता समितिले हस्तान्तरण नगरे पनि सोही ठाउँमा पठनपाठन सुरु गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ रामेछापका प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए । उनले भने, ‘विद्यालयमा विद्यार्थी संख्याका आधारमा कक्षाकोठा अपुग भएकै हो । भएको भवन पनि भूकम्पले क्षति पुर्‍याएकाले ६ कोठे भवन गत आर्थिक वर्षमा निर्माण भइसकेको छ । अब विद्यालयलाई हस्तान्तरण हुन्छ ।’ अर्को १२ कोठे नयाँ भवन पनि निर्माण हुन लागेको बुढाथोकीले बताए । सर्भे डिजाइनको काम सकिएको उनले जनाए ।