मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १६ बिहीबार १३:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद लुकाउन केन्द्रीय सरकारको शक्ति प्रयोग भयो : पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १६ बिहीबार १३:५७:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरूले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका छन् ।  

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे । गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्तावमा मतदान हुने वेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विचअफ गरी गायब भएका थिए ।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चाजस्तो पार्टीको आदर्शमाथि प्रहार गरेको आरोप लगाए । खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताए ।

उनले भने,  ‘किर्ते नक्कली बहाना बनाएर, अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पजिटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु– विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको व्यवस्थामा यस्ता खेल, किर्ते जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्छ ।’

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए । स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले बताए । उनले भने, ‘यहाँ त सिडियो पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद् नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौं आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेलले सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका वेला राष्ट्रिय जनमोर्चाका सांसद  शाही अस्पतालको आइसियूमा भर्ना भएका थिए। मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजनको हुनुअघि अस्पतालको आइसियूमा भेटिनु शंकास्पद देखिन्छ । राष्ट्रिय जनमोर्चाका तीनजना सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दै शाही चरक अस्पतालमा भेटिएका थिए ।