मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २६ आइतबार
  • Sunday, 09 May, 2021
लोइस अचिएङ ओम्बाजो
२०७८ बैशाख १६ बिहीबार ०६:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीभित्रको महामारी

Read Time : > 2 मिनेट
लोइस अचिएङ ओम्बाजो
२०७८ बैशाख १६ बिहीबार ०६:४५:००

कोभिड–१९ महामारी सुरु भएसँगै विश्वभरका अस्पतालमा एन्टिबायोटिकको प्रयोग ह्वात्तै बढेको छ । यसले विश्व्यापी एन्टिबायोटिक प्रतिरोधको संकट थप वृद्धि गर्ने जोखिम छ । 

कोभिड–१९ महामारी सुरु भएदेखि नै अस्पतालमा एन्टिबायोटिकको प्रेस्क्रिप्सन बढेको छ । साथै, प्रेस्क्रिप्सनविना एन्टिबायोटिकको प्रयोगमा वृद्धि देखिन्छ । अध्ययनले कोभिड–१९ लागेर अस्पताल भर्ना भएका ८ प्रतिशतलाई मात्र एन्टिबायोटिकको आवश्यकता देखाए पनि ७० प्रतिशत बिरामीले एन्टिबायोटिक लिइरहेका छन् । धेरै मानिसले कोभिडको बढ्दो लहरसँगै चिकित्सकलाई नसोधी एन्टिबायोटिक किन्छन् । यसले एन्टिबायोटिक प्रतिरोधको विश्वव्यापी संकटलाई थप तीव्र बनाइरहेको छ । हामीले अन्तराष्ट्रिय नीति, राष्ट्रिय कानुन र स्थानीय कदमको सहयोगमा यो चुनौतीको सामना गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोधलाई भविष्यमा मानवतामाथि आइपर्ने दश प्रमुख स्वास्थ्य संकटमध्ये एक मानेको छ ।

एन्टिबायोटिक औषधिले ब्याक्टेरियाले गराउने संक्रमणको उपचार गर्छ, कोभिड–१९ गराउने भाइरसलाई यसले खासै छुँदैन । तिनको अत्यधिक प्रयोगले ब्याक्टेरियामा एन्टिबायोटिकविरुद्ध प्रतिरोध शक्ति विकास हुन्छ । त्यसपछि सामान्य रोगको उपचार गर्न पनि कठिन हुन्छ र निमोनिया र पिसाबनलीको संक्रमणजस्ता सामान्य संक्रमण पनि प्राणघातक हुन सक्छ । आजको दिनमा यी रोग सामान्य एन्टिबायोटिकबाट छिटै निको हुन्छ । 

कमजोर स्वास्थ्य प्रणाली भएका र एन्टिबायोटिकको बिक्रीमा कुनै नियन्त्रण नभएको अफ्रिकी, दक्षिण अमेरिकी र एसियाली मुलुकमा यसले विकराल रूप लिन सक्छ । भारतमा एन्टिबायोटिकको बिक्री पछिल्ला वर्ष अत्यधिक दरले बढेको छ । चिकित्सकको सिफारिसविनै औषधि पसलबाट एन्टिबायोटिकको बिक्री झनै बढेको छ । त्यस्तै, केन्यामा सबै प्रकारका एन्टिबायोटिक औषधि डाक्टरको सिफारिसविनै किन्न सकिन्छ । 

एन्टिबायोटिकविरुद्ध प्रतिरोधी क्षमता विकास गरेका ब्याक्टेरियाबाट हुने रोगको उपचार निकै गाह्रो हुन्छ । तिनले गैर–प्रतिरोधी ब्याक्टेरियाले गराउने संक्रमणभन्दा तीन गुणा बढी मानिसको ज्यान लिन्छ । चीन र इजिप्टलगायत कैयौँ देशका अस्पतालका सिसियूमा हुने ५० प्रतिशत ब्याक्टेरियासम्बन्धी संक्रमणविरुद्ध धेरै एन्टिबायोटिकले काम गर्दैन । अमेरिकामा हरेक वर्ष झन्डै ३० लाख मानिसलाई एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संक्रमण हुने गर्छ । औषधिप्रतिरोधी ब्याक्टेरिया एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ । त्यसैले यसले समय–समयमा अस्पतालहरूमा प्रकोपको रूप लिन्छ । कोभिड–१९ को उपचारका लागि प्रयोग हुने धेरै वार्ड अहिले यही समस्यासँग जुधिरहेका छन् । म कोभिड–१९ को उपचारमा अग्रमोर्चामा रहेर काम गरिरहेको एक संक्रमण रोग विशेषज्ञ हुँ र म केन्याको औषधिप्रतिरोधी संक्रमणको अनुसन्धानमा शीर्ष स्थानमा छु । 

मैले विषम खालको ब्याक्टेरियाबाट संक्रमित बिरामीको उपचारमा निकै कठिनाइ भोगेको छु, तिनको संक्रमण उपलब्ध सबै एन्टिबायोटिकले पनि ठीक हुँदैन । ब्याक्टेरिया प्रतिरोधको उपचारमा प्रयोग हुन सक्ने पछिल्लो समय विकसित औषधि अत्यन्त महँगो हुन्छ र ती थोरै देशमा मात्र उपलब्ध छ । केन्यामा यस्तै एउटा एन्टिबायोटिक औषधि दश दिन प्रगोग गर्न १० हजार डलर खर्च हुन्छ । यति महँगो औषधि अधिकांश बिरामीको पहुँचबाहिर हुने गर्छ । कोभिड–१९ को उपचारका लागि अस्पताल ल्याइएका धेरै बिरामीले रोगका लक्षणअनुसार घरमै एक वा बढी एन्टिबायोटिक प्रयोग गरिसकेका हुन्छन् । यस्ता औषधिको प्रयोगले उनीहरूमा ठीक हुँदै छु भन्ने भावना विकास गराउने भएकाले उनीहरू अस्पताल पनि ढिलो जाने गर्छन् । केही मानिस एन्टिबायोटिकको बेरोकतोक प्रयोगले डाक्टरसँग उपचार गराउन नसक्ने विपन्न समूहलाई सजिलो हुने तर्क गर्छन् । तर, त्यसबाट उत्पन्न हुने एन्टिबायोटिक प्रतिरोध उपचार गर्न निकै महँगो पर्छ र ज्यानै पनि जान सक्छ । 

एन्टिबायोटिक प्रतिरोधको भावी महामारीलाई रोक्न के गर्नुपर्छ ? सुरुमा विश्व स्वास्थ्य संगठन तथा अन्य विश्वव्यापी एजेन्सीले कोभिड–१९ को सन्दर्भमा एन्टिबायोटिक प्रयोग गर्न नपर्ने कुरा स्पष्ट रूपमा बताउनुपर्छ । राष्ट्रिय सरकारले औषधि पसलबाट सीधै एन्टिबायोटिक खरिद गर्न नमिल्ने व्यवस्था गर्नुपर्छ । यस्तो बिक्री नियन्त्रण गर्ने कानुन ल्याएर लामो समय लागू गर्न सके तिनले प्रभावकारी काम गर्ने विभिन्न स्थानका प्रयोगले देखाएको छ । डाक्टरको प्रेस्क्रिप्सनविना एन्टिबायोटिकको बिक्री गैरकानुनी हो भने औषधि पसलमा सूचना राखेर पनि एन्टिबायोटिकको निर्बाध बिक्री घटाउन सकिन्छ । 

अस्पतालले पनि एन्टिबायोटिकको अनावश्यक प्रेस्क्रिप्सन घटाउने रणनीति अँगाल्नुपर्छ । यी कदमले एन्टिबायोटिकको प्रयोग मात्र होइन, तिनको मूल्य पनि घटाउन सहयोग गर्छ । लामो अवधिमा त्यसले अस्पतालमा एन्टिबायोटिक प्रतिरोधी संक्रमणको जोखिम न्यून गराउँछ । प्रभावकारी रणनीतिअन्तर्गत सामान्य संक्रमणको उपचारमा के गर्न सकिन्छ भन्ने निर्देशिका विकास गर्ने, भाइरसले गराउने संक्रमणमा एन्टिबायोटिकको प्रयोग रोक गर्ने, आर्थिक रूपमा कमजोर मुलुकमा प्रयोगशालाको क्षमता वृद्धि गर्ने कुराहरू पर्छन् । 

प्रयोगशालाले कुन ब्याक्टेरियाका लागि कुन उपचार सही हुन्छ भन्ने पहिचान गर्ने भएकाले सटिक एन्टिबायोटिक सिफारिस गर्न सम्भव बनाउँछ । चिकित्सकलाई पनि एन्टिबायोटिकको प्रयोग सम्बन्धमा नियमित शिक्षा दिनुपर्छ । अहिले कोभिड–१९ को डर व्याप्त छ । तर, यो डरका कारण अनावश्यक एन्टिबायोटिकको प्रयोग गरेर स्वास्थ्यलाई थप जोखिममा पार्न हुँदैन । यदि हामीले एन्टिबायोटिकको प्रयोग घटाउन अहिलेबाटै काम गरेनौँ भने नयाँ महामारीलाई निम्तो दिनेछौँ । र, कोडिभ–१९ मा जस्तो यस महामारीबाट कुनै खोपले पनि हामीलाई बचाउन सक्दैन । 

लेखक युनिभर्सिटी अफ नैरोबीका संक्रमण रोग विशेषज्ञ हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य