१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
चितवन एफसीविरुद्ध गोल गरेपछि बुटवल लुम्बिनी एफसीका खेलाडीहरू । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १६ बिहीबार ०८:१४:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

निषेधाज्ञामा पनि एनएसएल निरन्तर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १६ बिहीबार ०८:१४:००

सरकारले निषेधाज्ञाको समयमा खेलकुद गतिविधि रोक्ने जनाए पनि सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षाको आवश्यक उपायसहित सीमित व्यक्तिको सहभागिता प्रतियोगिता निरन्तर रहने

आजको खेल
ललितपुर सिटी एफसीविरुद्ध धनगढी एफसी
समय : साँझ ५ः३० बजे (दशरथ रंगशाला)

बढ्दो कोरोना भाइरस (कोभिड– १९) संक्रमणबीच सरकारले बिहीबारबाट उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा पनि नेपाल सुपर लिग (एनएसएल) भने निरन्तर रहने भएको छ । नेपालमा पहिलोपटक आयोजित फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल ११ वैशाखदेखि सुरु भएको हो । 

आयोजक नेपाल स्पोट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी (सिइओ) सुदीप शर्माले खेलाडी र अफिसियलबाहेक न्यूनतम व्यक्तिको मात्रै सहभागितामा प्रतियोगिता जारी रहने जनाए । ‘प्रतियोगिता निरन्तर रहनेछ,’ सिइओ शर्माले भने, ‘त्यसका लागि खेलाडी र अफिसियलबाहेक सीमित व्यक्ति मात्रै रहेर प्रतियोगिता सञ्चालन गर्नेछौँ ।’ सरकारले निषेधाज्ञा घोषणा गर्दा खेलकुद गतिविधि पनि रोक्ने जनाएको थियो । सिइओ शर्माले प्रतियोगिता जारी राख्न सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिइसकिएको जानकारी दिए । सिंगल राउन्ड रोविन लिगमा सञ्चालन हुने प्रतियोगिताको अहिले दोस्रो चरणको खेल जारी छ । प्रतियोगिता १ जेठसम्म चल्नेछ । 

पोखराको पहिलो जित
प्रतियोगिताअन्तर्गत पोखरा थन्डर्सले बुधबार पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा विराटनगर सिटी एफसीलाई १–० गोलले पराजित गर्दै पोखराले लिगमा पहिलो जित हात पारेको हो । 

पोखरा प्रतियोगिताको आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २–० ले पराजित भएको थियो । पहिलो खेलको पराजयपछि पोखरालाई जितको लयमा फर्काउन कप्तान नवयुग श्रेष्ठले निर्णायक गोल गरे । खेलको ८३औँ मिनेटमा मौसा अब्बाको फ्रिकिकमार्फत आएको बललाई हेडिङ गोलमार्फत नवयुगले पोखरालाई १–० अघि बढाएका थिए । उनको त्यही गोल पोखरालाई प्रतियोगितामा पहिलो तीन अंक दिलाउन पर्याप्त बन्यो । अघिल्लो खेलको तुलनामा पोखराले विराटनगरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो । त्यसअघि खेलको ६१औँ मिनेटमा रवि पासवानको प्रहार क्रस बारमा लागेर फर्कदा पोखरा गोलबाट वञ्चित भएको थियो।

तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरेको विराटनगरले भने खेलमा निक्कै कम अवसर सिर्जना गर्‍यो । त्यही अवसरलाई पनि सदुपयोग गर्न नसक्दा विराटनगरले पोखरालाई रोक्न सकेन । प्रतियोगितामा विराटनगरको दोस्रो खेलमा यो पहिलो पराजय हो । आफ्नो पहिलो खेलमा धनगढी एफसीलाई ३–० को ठूलो अन्तरले पराजित गरेको विराटनगरले पोखराविरद्ध त्यो प्रदर्शन कायम राख्न सकेन । प्रतियोगितामा पोखरा र विराटनगर दुवैको दुई खेलबाट तीन–तीन अंक भएको  छ ।

सिंगल राउन्ड रोविन लिगमा सञ्चालन हुने प्रतियोगिताको अहिले दोस्रो चरणको खेल जारी छ । प्रतियोगिता १ जेठसम्म चल्नेछ । 

टोलीको जितपछि पोखराका सहायक प्रशिक्षक राजेश शाहीले खेलाडीहरूले योजनाअनुसारको प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘अघिल्लो खेलमा पराजय व्यहोरेपछि हामीलाई यो खेलमा जितका लागि दबाब थियो । त्यसअनुसार हामीले जितको योजना बनाएका थियौँ,’ पोखराका सहायक प्रशिक्षक शाहीले भने, ‘खेलाडीले योजनाअनुसार मिहिनेत गरेर खेले । आगामी खेलमा अझ राम्रो प्रदर्शन हुने अपेक्षा गरेको छु ।’

विराटनगरका विदेशी प्रशिक्षक यान लले आफ्नो खेलाडीको प्रदर्शनमा असन्तुष्टि जनाए । यद्यपि, सुधारका लागि यो पराजयले आफूलाई ठूलो मद्दत गर्ने उनले उल्लेख गरे । ‘आज पोखराले निकै राम्रो प्रदर्शन गर्‍यो । उनीहरू जितको लायक रहे,’ उनी भन्छन्, ‘पराजय ठीक होइन । तर, यो जित सही समयमा आएको छ । यसले हामीलाई सुधारका लागि अवसर दिएको छ । आगामी खेलमा हामी अझ सशक्त रूपमा फर्कन सक्छौ भन्ने आशा छ ।’

दुई गोलको अग्रता जोगाउन नसक्दा चितवनले अंक गुमायो
खेलको सुरुवातमै बनाएको दुई गोलको अग्रतालाई जोगाउन नसक्दा एफसी चितवनले एनएसएलमा पहिलो जित हात पार्ने अवसर खेर फालेको छ । दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै बुटवल लुम्बिनी एफसीले चितवनलाई २–२ गोलको बराबरीमा रोकेको हो । 

दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा चितवनले सहज अवस्थाबाट स्पष्ट जितको अवसर खेर फालेको हो । चितवनले खेलको १५औँ मिनेटमै अग्रता बनाएको थियो । गोरान जर्काेभिचले क्रस गरेको बललाई सिक्स यार्डबाट गोल गर्दै जर्ज प्रिन्स कार्कीले चितवनलाई १–० ले अघि बढाए । 

चितवनले त्यसको चार मिनेटपछि नै अग्रता दोब्बर बनायो । सिमान्त थापाले क्रस गरेको बल बुटवलका गोलरक्षक विशाल श्रेष्ठको हातबाट फुत्किएको अवस्थामा नियन्त्रणमा लिँदै टेकबहादुर बुढाथोकीले चितवनलाई २–० ले अगाडि बढाए हुन् । 

यद्यपि, त्यसपछिको खेलमा बुटवल लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ३२औँ मिनेटमा आशिश लामाले बुटवलका लागि पहिलो गोल फर्काए । उनले डी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो । उनको प्रहार रोक्न चितवनका गोलरक्षक विशाल सुनारले गरेको प्रयास सफल भएन ।

बुटवलले खेलको ६५औँ मिनेटमा गोलरक्षक विशालको गल्तीमा दोस्रो गोल व्यहोर्‍यो । हावामा रहेको बललाई नियन्त्रणमा लिन केही अघि बढेका विशाल असफल भएका थिए । उनले नियन्त्रणमा लिन नसकेको बललाई नजिकै रहेका लक्ष्मण रुचालले खाली पोस्टमा गोल गर्दै बुटवललाई २–२ को बराबरीमा फर्काएका हुन् । त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल नभएपछि बराबरीमै टुंगियो । बराबरीको नतिजासँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । 

प्रतियोगितामा चितवनले दोस्रो खेलबाट दुई अंक जोडेको छ । चितवन प्रतियोगिताको आफ्नो पहिलो खेलमा ललितपुर सिटी एफसीसँग एक–एक गोलको बराबरीमा रोकिएको थियो । पहिलो खेलमा पोखरालाई पराजित गरेको बुटवल लुम्बिनीको भने दुई खेलबाट चार अंक भएको छ ।