१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख १५ बुधबार ११:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चीनद्वारा दक्षिण एसियासँग  सहकार्यको प्रस्ताव  

Read Time : > 2 मिनेट
२०७८ बैशाख १५ बुधबार ११:१६:००

नेपाललाई थप नौ करोडबराबरको सहायता घोषणा

चीनले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँका लागि करिब नौ करोड २० लाख रुपैयाँ (५० लाख चिनियाँ मुद्रा)बराबरको सहायता दिने घोषणा गरेको छ । दक्षिण एसियाली पाँच मुलुक नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका परराष्ट्रमन्त्रीहरूसँग चिनियाँ विदेशमन्त्रीले मंगलबार गरेको भर्चुअल माध्यमबाट गरिएको बैठकका क्रममा यो घोषणा भएको हो । 

बैठकको अध्यक्षता गरेका चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले स्वास्थ्य उपकरण तथा सामग्रीहरू उपलब्ध गराउने घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चीनले खोप खरिद गर्ने चाहना भएमा पनि नेपाललाई सहजीकरण गरिदिने आश्वासन दिएको छ । तर, नेपालले अहिले भारतबाहेकका देशले दिएको अनुदान खोप स्वीकार गर्ने, तर भारतबाट मात्रै खरिद गर्ने भनेको छ । 

खोपको खरिद तथा आपूर्तिका लागि सहजीकरण गर्न चीनले पुनः प्रतिबद्धता जनाएको छ । चिनियाँ मन्त्री यीले नेपाललाई चीनले थप नौ करोड २० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउने वचनबद्धता दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसबारे परराष्ट्र मन्त्रालयले चीनलाई औपचारिक पत्राचार गर्नेछ । 

चिनियाँ प्रयासमा दक्षिण एसियाका पाँच मुलुक र चिनियाँ विदेशमन्त्रीहरूको भिडियो बैठक भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चिनियाँ विदेशमन्त्री यीले गत वर्ष नेपाल, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूसँग भिडियो बैठक आयोजना गरेका थिए । चिनियाँ स्टेट काउन्सिलर यीले अध्यक्षता गरेको बैठकमा मुख्य रूपमा कोभिडसँग लड्ने साझा प्रयास, महामारीपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने विषय तथा खोपमा सहकार्य तथा आपूर्तिलगायतका विषयमा छलफल भएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनले भारतलाई पनि यो बैठकमा आमन्त्रण गरेको थियो । ‘बैठकमा नयाँदिल्लीको अनुपस्थिति रहे पनि उसलाई कोभिड महामारीविरुद्ध लडाइँमा सहयोगका लागि प्रतिबद्ध बेइजिङ प्रतिबद्ध छ,’ ग्लोबल टाइम्स अनलाइनले मंगलबार साँझ लेखेको छ । सो अनलाइनअनुसार विदेशमन्त्रीहरूले चीन दक्षिण एसिया इमर्जेन्सी सप्लाइ रिजर्भ निर्माणका लागि सहमति जनाएका छन् । 

बैठकमा चिनियाँ स्टेट काउन्सिलर वाङले अन्य मुलुकहरूको आन्तरिक मामिलामा हस्तक्षेपलाई चीनले सधैँ अस्वीकार गर्ने तथा चीनले खोप राष्ट्रवादलाई पनि नमान्ने उल्लेख गरे । उनले खोपका लागि सहकार्य गर्न चीन तयार रहेको पनि बताए । 

बैठकमा कोभिडको नियन्त्रणबारे चिनियाँ अनुभव प्रस्तुत भएको थियो भने अन्य पाँचै मुलुकले कोभिड नियन्त्रण र रोकथामका लागि चालिएको कदमबारे प्रस्तुतीकरण गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारका प्रयासबारे जानकारी दिएका थिए । उनले कोभिडविरुद्धको लडाइँका लागि र अर्थतन्त्र पुनस्र्थापनाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएको परराष्ट्रले जनाएको छ । 

कोरोनाको दोस्रो लहरले पछिल्ला दिनमा भारतको जनजीवन नराम्ररी प्रभावित पारेपछि चीनले भारत वरिपरिका देशसँग सम्बन्ध विस्तार गरिरहेको छ । चीनले भारतमा फैलिँदो कोभिडको दोस्रो लहर नियन्त्रणका लागि सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ । सार्क मुलुकमध्ये भुटान र मालदिभ्स भारतसँग अत्यन्तै नजिक छन् भने सीमा विवाद तथा वेलावेलामा सीमामा हुने सैनिकहरूबीचको तनावका कारण चीनसँग भारतको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ । 

बैठकमा चिनियाँ स्टेट काउन्सिलर यी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रीलंकाका परराष्ट्रमन्त्री दिने गुणवर्देना, बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मेमोन, पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मोहम्मद हनिफ अतमार सहभागी थिए । बैठकको सुरुमा चिनियाँ स्टेट काउन्सिलर यीले बोलेका थिए भने त्यसपछि सबैले पालैपालो बोलेका थिए । 

मन्त्रीहरूको बैठकमा चिनियाँ स्टेट काउन्सिलर यीले महामारीविरुद्ध साझा प्रयासमा चीन साथमै हुने भन्दै तीनवटा संयन्त्रको प्रस्ताव गरेका थिए । यसबारे पाकिस्तानी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।