१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १५ बुधबार ०८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सीमानाकामा सतर्कता अपनाउन सरकारलाई संसदीय समितिको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १५ बुधबार ०८:१६:००

सीमानाकाबाट मानिसको अव्यवस्थित आवतजावत भएको भन्दै संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले सीमामा हेल्थ डेस्क र सूचना डेस्क राख्न सरकारलाई निर्देशन दिएको छ । भैरहवा, वीरगन्ज, नेपालगन्जलगायत भारतसँग सीमा जोडिएका सहरहरूमा दक्ष जनशक्ति पठाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

‘नेपालगन्ज, वीरगन्ज, भैरहवालगायत भारतसँग सीमाना जोडिएका सहरहरू र कोभिड बढी प्रभावित ठाउँहरूमा दक्ष स्वास्थ्यकर्मीहरू यथाशक्य चाँडो पठाउनू । सिमानालगायत बढी संक्रमण भएका ठाउँहरूमा हेल्थ डेस्क र सूचना डेस्क राखी सोको प्रभावकारी नियमन गर्नू’, समितिको मंगलबार बसेको बैठकको निर्देशनमा भनिएको छ ।

समिति बैठकमा सांसदहरूले सिमानामा बढेको जोखिमबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका थिए । बैठकमा पूर्वपर्यटनमन्त्रीसमेत रहेका एमाले सांसद योगेश भट्टराईले सीमाबाट खतराको घन्टी बजेको बताए । ‘दक्षिणतिर खुला सिमाना छ, सबैभन्दा खतराको घन्टी यही हो । हामी डरलाग्दो स्थितिमा जाँदै छौँ । किनभने प्रत्येक नाकाबाट आएका मानिसमा एकदमै कम जाँच भएको छ,’ उनले भने ।

भट्टराईले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीले ‘कमान्ड’ लिनुपर्नेमा पनि जोड दिए । ‘सिसिएमसी कतिको प्रभावकारी छ ? छैन भने त्यसको प्रभावकारिता बढाउनुपर्‍यो । होइन भने, प्रधानमन्त्रीले पूर्णरूपमा कमान्ड गर्नुपर्छ । प्रधानमन्त्रीको कमान्डविना हुँदैन । किनभने एउटा मन्त्रालयको कुरा, अर्काे मन्त्रालयले मान्छ भन्ने मलाई लाग्दैन । त्यहाँ टकराव, द्वन्द्व, इगोहरू छन्,’ उनले थपे ।

एमालेकै सांसद भैरवबहादुर सिंहले पनि सीमानाकामा भयावह स्थिति उत्पन्न भएको बताउँदै हेल्थ डेस्क र क्वारेन्टिनको व्यवस्था गर्न सुझाए । ‘सीमानाकाहरूमा भयावह स्थिति आएको छ । भेन्टिलेटर पनि छैन, पिसिआर मेसिन पनि चालू छैन । म्यानपावरको पनि कमी भइरहेको छ,’ उनले भने, ‘गौरीफन्टा, गड्डाचौकी, दार्चुलाको नाकामा हेल्थ डेस्क राख्नुपर्‍यो । त्यताका धेरै मान्छे भारतमा छन्, अहिले फर्किरहेका छन् । तीनै तहको सरकार मिलेर व्यवस्थित क्वारेन्टिन राख्यो भने मात्रै यो नियन्त्रणमा आउन सक्छ । भारतबाट आउनेहरूले कोरोना लिएर आएका छन् । त्यसकारण गाउँ–गाउँ, बस्ती–बस्ती, घर–घरमा कोरोना फैलिएको छ । नाकाबाट आउने मान्छेहरूलाई एकदमै निगरानी गर्न जरुरी छ ।’

कांग्रेस सांसद मानबहादुर विश्वकर्माले भारतको असर नेपालमा परिरहेको बताए । ‘अहिले भारत तहसनहस भएको छ । दैनिक साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् । सिमाना खुला हुँदा त्यसको असर नेपालमा पर्छ । तर, दिगो, सशक्त रूपमा समाधानका लागि मन्त्रालय तयार नभएको देखिन्छ,’ उनले भने ।
अक्सिजन पर्याप्त नभएकोमा पनि विश्वकर्माले प्रश्न उठाए । उनले थपे, ‘अक्सिजन बनाउने कम्पनीहरूसँग एक वर्षसम्म मन्त्रालयले एक दिन पनि कुराकानी गरेको छैन । अक्सिजन एजेन्टहरूसँग कुरा नगरी एक वर्षसम्म मन्त्रालय सुतेर बसेको छ, लापरवाह तरिकाले । ठूला अस्पतालहरूमा एक वर्षदेखि अक्सिजन प्लान्टहरू बिग्रेर बसेका छन् । किन यस्तो भइरहेको छ ? अक्सिजनका लागि सिलिन्डरको अभाव भएको कुरा छ । अक्सिजनको व्यवस्था गर्न सशक्त रूपमा मन्त्रालय अघि बढ्नुपर्छ । मन्त्रालयको तयारीबाट हामी सन्तुष्ट छैनौँ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले नेपालमा संक्रमणको दर उच्च रहेको बताए । काठमाडौंमै ‘कन्ट्याक ट्रेसिङ’का लागि अप्ठ्यारो स्थिति रहेकोसमेत उनको भनाइ थियो । ‘काठमाडौंमा कन्ट्याक ट्रेसिङका लागि गाह्रो भएको छ । पजिटिभ आउने दर हाम्रो कुल परीक्षणको ३० प्रतिशत नाघिसक्यो । संक्रमण वृद्धिको दर हेर्ने हो भने एउटा संक्रमित व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने दर अहिले सबैभन्दा उच्च अवस्थामा पुगेका छौँ । एउटा संक्रमित व्यक्तिबाट हाम्रोमा दुईजनाभन्दा बढीलाई सरिरहेको छ । किनकि हाम्रो सबै क्षेत्र खुला छ,’ उनले भने ।