मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार १०:०६:००
Read Time : > 3 मिनेट
सेयर बजार

सातामा २६.७० अंक घट्यो नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार १०:०६:००

अघिल्लो सातादेखि नै ओरालो लागेको नेप्से परिसूचक गत साता पनि ओरालो लागेको छ । बैंकहरूको ब्याजदर नघटेका कारण बजार घट्न दबाब परिरहेको छ । साथै, गत साता नेप्सेले ब्रोकरलाई प्यान सहजीकरण डेस्क स्थापना गर्न पत्र पठाएपछि लगानीकर्ताको मनोबल झन् घटेको छ । 

बजार सुधार तथा विस्तारका कार्यहरू भइरहे पनि नेप्से बढ्न सकेको थिएन । त्यसैगरी, सूचीकृत कम्पनीहरूको नाफामूलक वित्तीय विवरणले पनि लगानीकर्ताको मनोबल बढाउन सकेको थिएन । यस्तो समयमा प्यान लागू गर्नु लगानीकर्ताको मनोबल घटाउनुबाहेक अरू केही नभएको एक लगानीकर्ताले बताए । प्यान लागू गर्नु राम्रो भए पनि बजार घटेका वेला यो लागू गर्नु उचित नभएको उनको भनाइ छ । 

बजार सारांश
गत साता नेप्से परिसूचक २६ दशमलव ७० अंक घटेर १ हजार १ सय १२ दशमलव ८७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ५ दशमलव ६९ अंक घटेर २ सय ३६ दशमलव ९२ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स २ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ७९ अंक घटेको छ । सो साता १ सय ८८ कम्पनीको २५ हजार ४ सय ९१ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७४ लाख १० हजार रुपैयाँबराबरको १ अर्ब १२ लाख १८ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआईः गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई २३ दशमलव ३१ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव २२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । सो साता कारोबारमा आएका १ सय ८८ कम्पनीमध्ये ३१ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय ३५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।
 
 पिभट विश्लेषण
तेस्रो प्रतिरोध  -  ११५९.२९
दोस्रो प्रतिरोध  -  ११४९.७२
पहिलो प्रतिरोध  -  ११३१.२९
पिभट बिन्दु  -  ११२१.७२
पहिलो टेवा  -  ११०३.२९
दोस्रो टेवा -   १०९३.७२
तेस्रो टेवा   - १०७५.२९

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय २१ दशमलव ७२ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय ३ दशमलव २९ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार ९३ दशमलव ७२ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी बजार उकालो लागे १ हजार १ सय ३१ दशमलव २९ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ४९ दशमलव ७२ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

 एभरेष्टको संस्थापक सेयर सर्वाधिक कारोबार
गत साता कारोबार रकम र सेयर संख्याका आधारमा एभरेष्ट बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको गत साता ३ पटकको कारोबारमा १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार रुपैयाँबराबरको ७२ लाख ३६ हजार ३ सय ७५ कित्ता संस्थापक सेयर खरिदबिक्री भएको छ । 

कारोबार संख्याका आधारमा भने अपर तामाकोसी अगाडि रहेको छ । सो कम्पनीको गत साता ४ हजार ४ सय २५ पटकको कारोबारमा ६ करोड ७ लाख २१ हजार रुपैयाँबराबरको २ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

 १ करोड ६२ लाख कित्ता सेयर सूचीकृत
गत साता ५ कम्पनीहरूले १ करोड ६२ लाख ७६ हजार २ सय ७६ दशमलव ६६ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ७९ लाख ११ हजार २ सय ८१ कित्ता हकप्रद सेयर सूचीकृत गरेको छ । त्यसैगरी, जानकी फाइनान्सले ८ लाख ८७ हजार ४ सय ६६ कित्ता, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २० लाख कित्ता, वेस्टर्न डेभलपमेन्ट बैंकले ७ लाख ४७ हजार ५ सय ६१ दशमलव ६० कित्ता र मुक्तिनाथ विकास बैंकले ४७ हजार २९ हजार ९ सय ६८ दशमलव शून्य ६ कित्ता बोनस सेयर सूचीकृत गरेको छ । 

सर्वाधिक कमाउने चौतारी लघुवित्त
गत साता चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य २६ दशमलव २६ प्रतिशत बढेको छ । त्यसैगरी, सानिमा इक्विटी फन्डको इकाइमूल्य १२ दशमलव ५ प्रतिशत र सिटिजन्स म्युचुअल फन्डको इकाइमूल्य १२ प्रतिशत बढेको छ । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयरमूल्य गत साता सर्वाधिक १४ दशमलव ८ प्रतिशत घटेको छ । नबिल इक्विटी फन्ड, सिद्धार्थ इक्विटी फन्ड र एनएमबि हाइब्रिड फन्ड एल–१ को इकाइमूल्य गत साता क्रमशः १२ दशमलव ५ प्रतिशत र ११ दशमलव ११ प्रतिशत घटेको छ ।   

२ समूह हरियो, बाँकी रातो
गत साता कारोबारमा आएको ११ समूहमध्ये २ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ । सो साता उत्पादनमूलक समूहको परिसूचक ३५ दशमलव ९४ अंक र व्यापार समूहको शून्य दशमलव ६ अंक बढेको छ । जीवन बिमा समूहको परिसूचक गत साता सर्वाधिक २ सय ५० दशमलव ५४ अंक घटेको छ ।

त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ सय ८२ दशमलव ३१ अंक, जलविद्युत् समूहको ३७ दशमलव ४२ अंक, लघुवित्त समूहको ३६ दशमलव ७८ अंक, वाणिज्य बैंक समूहको २१ दशमलव शून्य २ अंक, विकास बैंक समूहको १९ दशमलव ९ अंक, अन्य समूहको १७ दशमलव ९३ अंक, होटल समूहको ९ दशमलव ५९ अंक र वित्त समूहको ६ दशमलव ५७ अंक घटेको छ । 

 मुक्तिनाथको नाफा ५३ प्रतिशत बढ्यो 
गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा मुक्तिनाथ विकास बैंकको खुद नाफा ५३ दशमलव १२ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले ४० करोड ४८ लाख खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष ३९ दशमलव १४ प्रतिशत बढेर ८५ करोड ४९ लाख पुगेको छ । बैंकको चुक्ता पुँजी समीक्षा अवधिमा १८. दशमलव २५ प्रतिशत बढेर २ अर्ब ५९ करोड पुगेको छ । सो अवधिसम्ममा बैंकले ३८ अर्ब १३ करोड निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको छ । 

गत आवको सोही अवधिको तुलनामा निक्षेप ७५ दशमलव ४३ प्रतिशत बढी हो भने कर्जा ७० दशमलव ५६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३ दशमलव ८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५४ दशमलव ६० प्रतिशत बढेको छ । बैंकले सो अवधिसम्ममा ८५ करोड ८७ लाख खुद ब्याज आम्दानी र ६२ करोड ५५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६ दशमलव ४२ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १ सय २७ दशमलव ८९ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३ दशमलव ३२ रहेको छ ।