मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २४ शुक्रबार
  • Friday, 07 May, 2021
निर्देशक क्लोई झाओ
नवीन प्यासी काठमाडाैं
२०७८ बैशाख १४ मंगलबार ०९:१६:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

जब राज्य नै सर्जकलाई सिध्याउनतिर लाग्छ

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७८ बैशाख १४ मंगलबार ०९:१६:००

चिनियाँ क्लोई झाओको चलचित्र ‘नोम्याडल्यान्ड’ले यस वर्ष सर्वोत्कृष्ट चलचित्र, निर्देशक र सर्वोत्कृष्ट अभिनेत्री (फ्रान्सेस म्याकडोर्म्यान्ड)को अवार्ड जित्यो, तर झाओकै मुलुक चीनमा भने अवार्ड वितरण कार्यक्रम टेलिभिजनबाट प्रसारण गर्नसमेत प्रतिबन्ध 

‘म जिउनका लागि जेलाई प्रेम गर्छु, त्यसका लागि सक्षम छु । यसकारण म भाग्यमानी पनि छु । र यदि धेरै मानिस आफ्नो सपनामा बाँचिरहेका छन् भने त्यसका लागि कृतज्ञ पनि छु,’ निर्देशक क्लोई झाओले सर्वोत्कृष्ट निर्देशकको अस्कर अवार्ड जितेपछि मिडियालाई दिएको प्रतिक्रिया हो यो । झाओको यो प्रतिक्रिया अवार्ड जितेको खुसियाली मात्रै होइन, एउटा सर्जकलाई सिध्याउन राज्य नै लागिपर्दा उसले महसुस गरेको पीडा पनि हो ।

झाओ निर्देशित ‘नोम्याडल्यान्ड’ले सर्वोत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीको अवार्ड जित्यो । फ्रान्सेस म्याकडोर्म्यान्डले यसै चलचित्रका लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन् । झाओले त इतिहासको नयाँ पाना नै थपेकी छिन् । उनी पहिलो एसियाली महिला हुन्, जसले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितिन् । अस्करको झन्डै शताब्दी लामो इतिहासमा दोस्रो महिला निर्देशक हुन् । यसअघि सन् २०१० मा क्याथरिन बिगलोले ‘हर्ट लकर’मार्फत यो अवार्ड जितेकी थिइन् । 

तर, बिगलोको जस्तो खुसी मात्रै बनेन झाओको अस्कर यात्रा । र नै उनले गहिरो पीडा मिश्रित वाक्य बोलिन्, ‘म जिउनका लागि जे कुरालाई प्रेम गर्छु, त्यसका लागि सक्षम छु ।’ हातमा अस्कर अवार्ड र बोलीमा यस्तो अभिव्यक्ति, पक्कै केही त जरुर छ, जसले उनलाई बिझाइरहन्छ । 

उता झाओ अस्कर अवार्ड थापिरहेकी थिइन्, यता उनकै मुलुक चीनमा भने टेलिभिजनहरू सुनसान थिए । न झाओको सफलतामा खुसी मनाइरहेका थिए, न त अस्कर अवार्ड वितरण कार्यक्रम प्रसारण नै गरिरहेका थिए । हङकङको टेलिभिजन टिबिबी न्युजले सन् १९६९ बाट हरेक वर्ष अस्कर अवार्ड घोषणा कार्यक्रम प्रसारण गथ्र्यो । यस वर्ष भने गरेन । बरु उसले ‘व्यावसायिक कारण’ले प्रसारण गर्न नसकेको जनायो । 

‘व्यावसायिक कारण’ भनेर टेलिभिजनको प्रतिक्रिया आउनुका पछाडिको कारण हो, चीन सरकार र चिनियाँ राष्ट्रवादीहरू । सन् २०१३ मा झाओले फिल्ममेकर म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म किशोरी हुँदा चीनमा थिएँ । त्यो यस्तो ठाउँ हो, त्यहाँ जतासुकै झुटको खेती हुन्छ ।’ झाओको यस अभिव्यक्तिले चीनमा उनको चर्को आलोचना भयो । राष्ट्रवादीहरू उनीविरुद्ध खनिए । अहिले त्यही अन्तर्वार्ताको अर्काइभबाट स्क्रिनसट भाइरल भइरहेको छ । गत वर्षको डिसेम्बरमा अस्ट्रेलियन वेबसाइट न्युजडटकमएयुसँगको अन्तर्वार्ता सार्वजनिक भयो । जहाँ भनेकी थिइन्, ‘अहिले मेरो राष्ट्र अमेरिका हो ।’ यद्यपि, पछि वेबसाइटले अन्तर्वार्ता सम्पादन गर्दै आफूहरूले गल्ती गरेको र झाओले ‘अमेरिका मेरो राष्ट्र होइन’ भनेको बताए । तर, वेबसाइटको सानो गल्तीले झाओको करिअरमै धक्का लगाइदियो । 

झाओको अन्तर्वार्ताले चिनियाँ राष्ट्रवादीलाई मात्रै उत्तेजित पारेन, सरकारले पनि कठोर निर्णय लिइदियो । सर्जकले आफूले महसुस गरेको विषयमाथि अभिव्यक्ति राख्न पाउँछ, तर चीनमा पाउँदैन भन्ने पछिल्लो उदाहरण बनिन् झाओ । यसैको सजाय झाओले भोगिन् । अस्कर अवार्डजस्तो संसारभरका फिल्ममेकरको सपना प्राप्त गर्दा पनि उनको मुलुकमा टेलिभिजनमा समेत देखाइएन । आउँदा दिन झनै कति गाह्रो होला झाओलाई, सहजै अनुमान गर्न सकिन्छ । 

गत २० डिसेम्बरमा कोभिडको उद्गमस्थल मानिएको चीनका हलहरूमा निर्देशक हान यानको चिनियाँ चलचित्र ‘अ लिटल रेड फ्लावर’ प्रदर्शन भयो । एक सय २२ मिनेटको यस चलचित्रले दुई सय १६ मिलियन डलर कमाइ ग¥यो । १२ फेब्रुअरी, २०२१ मा प्रदर्शन भएको जिया लिङ निर्देशित चिनियाँ चलचित्र ‘हाई मम’ले सात सय ९८ मिलियन डलर कमाइ गर्‍यो । यस हिसाबले हेर्दा संसारभरका चलचित्रका लागि चीनको बजारले ठूलो अर्थ राख्छ । हलिउडदेखि बलिउडसम्मका फिल्ममेकर चीनमा चलचित्र प्रदर्शन गर्न लालयित हुन्छन् । तर, झाओका लागि भने आफूले जे महसुस गरेको हो, त्यही बोलेकै भरमा चीनको ढोका बन्द भइदिएको छ । 

झाओको मार्भल सिनेम्याटिक युनिभर्ससँगको सहकार्यमा पोस्ट प्रोडक्सनको क्रममा रहेको सुपरहिरो चलचित्र ‘इटर्नल्स’ चीनमा प्रदर्शनको सम्भावना लगभग न्यून छ । न्यूनभन्दा पनि शून्य नै छ, उनले अहिले भोगिरहेको अवस्थालाई केन्द्रमा राख्ने हो भने । झाओलाई चीनमा अघोषित रूपमा जसरी प्रतिबन्धमा पारिँदै छ, त्यसले ‘इटर्नल्स’लाई मात्रै होइन, उनको आउँदा चलचित्रलाई पनि ठूलो असर पर्नेछ । उनको करिअरलाई नै धरापमा पार्न पनि सक्छ ।

हलिउडजस्तो ठूलो उद्योगमा सुपरहिरोजस्तो महँगो बजेटको चलचित्रमा लगानी गरेर झाओलाई निर्देशनको अभिभारा सुम्पनु पक्कै पनि हलिउडका स्टुडियोहरूका लागि महँगो पर्न जाने नै छ । यसकारण झाओबारे उनीहरूले एकपटक सोच्ने नै छन् । तर, झाओलाई महँगो बजेटको चलचित्र बनाएर बक्स अफिस नै थर्काउनै पर्छ भन्नेचाहिँ छैन । एउटा चलचित्रका लागि मिलियनका मिलियन लगानी गर्ने त्यही हलिउडमा जम्मा पाँच मिलियन डलरमा उनले ‘नोम्याडल्यान्ड’ बनाइन् । अस्करको इतिहासमा नयाँ पाना थपिन् । चीनमा हुर्किइन्, अमेरिकाको कथा भनिदिइन् । नेपथ्यमा रहेको अमेरिकाको अँध्यारो पाटो उप्काइदिइन् । 

‘नोम्याडल्यान्ड’ त्यस्तो ठूलो र भव्य कथा होइन । अमेरिका भन्नासाथ खासै ख्याल नहुने सानो कथा हो, जो आफैँमा भव्य र भयावह दुवै छन् । कुरुपता र सुन्दरता दुवै छन् । हाँसो र आँसु दुवै छन् । आशा र निराशा दुवै छन् । चलचित्रमा ६० पार गरिसकेकी एक वृद्धा छिन्, फर्न (फ्रान्सेस म्याकडोम्र्यान्ड), जसले जागिर गरिरहेको कम्पनी युएसजी कर्पोरेसन सन् २०११ म बन्द भयो । फर्न र उसका श्रीमान्को जागिर गयो । यसपछि श्रीमान् पनि बिते । श्रीमान्को निधनसँगै फर्नको एउटा दुनियाँ र खुसी समाप्त भयो । यसपछि फर्न आफूसँग भएको केही सामान बेच्छिन् र भ्यान खरिद गरेर अर्को दुनियाँको यात्रामा निस्कन्छिन् । त्यो त्यही दुनियाँ हो, जहाँ फर्नको पुरानो दुनियाँबाहेक सबथोक छ । ऊसँग जम्मा एउटा भ्यान छ, जो उसको घर हो अनि बाँकी जीवनको यात्रा हो । त्यही भ्यानसँगको यात्रामा आइपर्ने आरोह–अवरोहको कथा हो ‘नोम्याडल्यान्ड’ । दुःखलाई पर्गेलेर र झेलेर अगाडि जान सक्ने ऊर्जाको फेहरिस्त हो । ‘अमेरिकन ड्रिम’को जर्जर कथा हो । 

नेपालीहरू ७० लाख खर्चेर दक्षिण अमेरिकाको बाटो हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने प्रयास गर्छन् । संसारभरका मानिसलाई लालयित गर्छ अमेरिकाले । हेर्दा र सुन्दा भव्य पनि लाग्छ अमेरिका । तर, त्यहाँ भोग्नेहरूले के के भोग्छन् ? तागत हुँदासम्म कुनै अमूक कम्पनीमा पसिना बगाउँछन्, मालिकलाई धनी बनाउँछन् । जब बुढेसकाल लाग्छ, काम गर्न नसक्ने अवस्थामा पुग्छन्, त्यसवेला वृद्ध शरीरबाहेक ऊसँग केही हुँदैन । सबथोक गुमाइसकेका हुन्छन् । फर्न यही कथाको प्रतिनिधि पात्र हुन्, जोसँग अब वृद्धावस्थाबाहेक अरूथोक छैन । उनले यात्रामा पनि त्यस्तै मानिस भेट्छिन्, जसको कथा फर्नकोभन्दा फरक छैन ।

‘नोम्याडल्यान्ड’ फर्नजस्ता हजारौँ मानिसको कथा हो, जहाँ एक्लोपन छ, निराशा पनि छ । फर्नहरूको हाँसो र जीवनप्रतिको अगाध प्रेमले थिचेको दुःखको अँध्यारो कुना छ । जहाँ पुँजीवादको कुरुप चित्र र चरित्रको कथा छ । जहाँ तमाम दुःख र पीडालाई झेल्न सक्ने तागत पनि छ । 

झाओ चीनमा हुर्किइन् । उनलाई १५ वर्षसम्म त अंग्रेजी भाषा पनि आउँदैन थियो । पछि लन्डन गएर पढिन् । त्यसपछि अमेरिका गइन् । चलचित्र बनाउनतिर लागिन् । सन् २०१५ मा ‘सङ्स माई ब्रदर टट मी’ बनाइन्, सन् २०१७ मा ‘द राइडर’ बनाइन् । र अहिले सन् २०१७ मै प्रकाशित पत्रकार तथा लेखक जेसिका ब्रडरको ‘नोम्याडल्यान्ड : सर्भाइभिङ अमेरिका इन द ट्वान्टी फस्ट सेन्चुरी’ पुस्तकमा आधारित ‘नोम्यान्डल्यान्ड’ बनाइन् । जसले अस्करमा ६ वटा विधामा नोमिनेसनमा मात्रै पारेन, तीनवटा विधा (चलचित्र, निर्देशक, अभिनेत्री)मा त अवार्ड नै जितिन् । 

चीनमा हुर्केकी झाओले बताएको अमेरिकी कथा
चीनमा हुर्केकी झाओले अमेरिकाको कथा भनिदिनु आफैँमा अ र्थपूर्ण छँदै छ । हुन त हलिउड समृद्ध भएको पनि हलिउडबाहिरबाट गएका निर्देशकहरूका कारण नै त हो । अल्फ्रेड हिचककजस्ता मेकरले हलिउडलाई निकै परसम्म पु¥याएका हुन् । हलिउडको महान् युग मानिने समय सन् १९३२ देखि सन् १९४५ बीच धेरै राम्रा चलचित्र हलिउडबाहिरबाट गएका मेकरले बनाइदिएका हुन् । र आजको भव्य हलिउडको जग उनीहरूले नै खडा गरिदिएका हुन् । त्यही जगमा इँटा थप्ने योगदानमा अहिले झाओ थपिएकी छिन् । 

यस हिसाबले पनि झाओमाथि गर्व गर्नुपर्ने आफ्नै देश भने अवार्ड जितेको कार्यक्रममा समेत प्रतिबन्ध लगाइदिन्छ । जब कि गत वर्ष दक्षिण कोरियाका निर्देशक बोङ जुन होले ‘प्यारासाइट’मार्फत अस्कर अवार्ड जित्दा ‘ह्यासट्याग प्यारासाइट’ र ‘ह्यासट्यास बोङ जुन हो’ दक्षिण कोरियन ट्विटरमा ट्रेन्डिङमा आएको थियो । इन्टरनेटमा पनि उस्तै सर्च भएको थियो । तर, झाओले आफ्नो मुलुकबाट त्यस्तो प्रतिक्रिया पाइनन्, बरु प्रतिबन्ध झेलिन् । अझै कति प्रतिबन्ध झेल्नुपर्ने हो, उनी स्वयं अनुमान गर्न सक्दिनन् सायद । र नै उनले भनिन्, ‘म जिउनका लागि जे कुरालाई प्रेम गर्छु, त्यसका लागि सक्षम छु ।’ यो पीडाको गहिरो निःश्वास हो उनको, तर राज्यले सर्जकलाई कहिलेसम्म प्रतिबन्ध लगाइरहन सक्छ ? यसका लागि जिउँदा इतिहास हामीसँग प्रशस्तै छन्, राज्य एक दिन सर्जकसँग पराजित भएरै छाड्छ ।

कुन विधामा क–कसले जिते अवार्ड ?

चलचित्र : नोम्याडल्यान्ड
- निर्देशक : क्योल चाउ, नोम्याडल्यान्ड
- अभिनेता : एन्थोनी हप्किन्स, द फादर
- अभिनेत्री : फ्रान्सिस म्याकडोरम्यान्ड, नोम्याडल्यान्ड
- सहअभिनेत्री : यु जोङ उन, मिनारी
- सहअभिनेता : डेनियल कालुइया, जुडास एन्ड ब्ल्याक मसाइहा
- एडप्टेड पटकथा : द फादर
- मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
- कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
- ओरजिनल स्कोर : सोल
- एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्स आई लभ यू
- डकुमेन्ट्री फिचर : माई अक्टोपस टिचर
- अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड, डेनमार्क
- ध्वनि : साउन्ड अफ मेटल
- प्रोडक्सन डिजाइन  : म्यांक
- सम्पादन : साउन्ड अफ मेटल
- छायांकन : म्यांक
- भिजुअल इफेक्ट : टेनेट
- एनिमेटेड फिचर फिल्म : सोल
- मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
- ओरजिनल सङ : फाइट फर यु, जुडास एन्ड द ब्ल्याक मसाइह