मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १४ मंगलबार ०९:१२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : ललितपुर र चितवनलाई पहिलो अंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १४ मंगलबार ०९:१२:००

ललितपुर सिटी एफसी र एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो अंक जोडेका छन् । प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा १–१ गोलको बराबरी खेल्दै ललितपुर र चितवनले अंक बाँडेका हुन् । 

ललितपुरले दोस्रो खेलबाट पहिलो अंक जोडेको हो भने चितवनले पहिलो खेलबाट । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग ललितपुर १–० गोलले पराजित भएको थियो । 

तुलनात्मक रूपमा चितवनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको ललितपुरले केही राम्रा अवसर गुमाउँदा स्पष्ट तीन अंक हात पार्नबाट भने चुक्यो । ललितपुरले खेलको २१औँ मिनेटमै पेनाल्टी अवसर पाएको थियो । चितवनका विदेशी खेलाडी जर्काेभिच गोरानले आफ्नो डी बक्सभित्र ललितपुरका निरज बस्नेतलाई लडाएका थिए । त्यसमै रेफ्री प्रकाशनाथ श्रेष्ठले ललितपुरलाई पेनाल्टी अवसर दिएका थिए । 

यद्यपि, उक्त अवसरमा ललितपुरका कप्तान अञ्जन विष्ट गोल गर्न चुके । उनको प्रहारलाई चितवनका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे । त्यही रिबाउन्ड बलमा ललितपुरका बिमल रानाको प्रहारलाई पनि गोलरक्षक विशालले खुट्टाले बाहिर पठाइदिए । 

त्यसका बाबजुद खेलको ४९औँ मिनेटमा ललितपुरले खेलमा अग्रता बनाएको थियो । कमल श्रेष्ठको लामो प्रहार चितवनका गोलरक्षक विशाललाई पनि नाघेर गोलमा परिणत हुन पुगेको थियो । यद्यपि, खेलको अन्तिम इन्जुरी समयमा पेनाल्टीमार्फत गोल व्यहोर्न पुगेपछि ललितपुरले एक अंकमै चित्त बुझाएको हो । 

खेल सकिनैलाग्दा ललितपुरका मिडफिल्डर एरिक विष्टले आफ्नो डी बक्सभित्र हातले बल छुन पुगे । त्यसमै प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै अमित तामाङले चितवनलाई पराजयबाट जोगाए । त्यसअघि ललितपुरका विदेशी खेलाडी नुर्लन नोभ्रुजोभ जइदले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएको थियो ।