१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १४ मंगलबार ०८:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोनाको चपेटामा नेप्से : लगानीकर्ता आत्तिँदा दोस्रो दिन पनि पहिरो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १४ मंगलबार ०८:५९:००

नेप्सेमा दोस्रो दिन पनि पहिरो गएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेसँगै सेयर बजारमा यसको नकारात्मक प्रभाव पर्न थालेको हो । लकडाउनको हल्लाका कारण नयाँ लगानीकर्ता आत्तिन पुगेपछि सोमबारको नेप्से परिसूचकमा उच्च गिरावट आएको विश्लेषकहरू बताउँछन् । सेयर कारोबार नै बन्द हुन्छ कि भन्ने भयले पनि यस्तो देखिएको र कारोबार बन्द हुने अवस्था यसपटक नरहेको नेपाल इभेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘अहिले सबै कारोबार अनलाइन प्रणालीबाटै हुँदै आएको छ, त्यसका कारण गत वर्षको झैँ बन्द हुने अवस्था छैन ।’ 

सोमबार नेप्से परिसूचक ६५ दशमलव ५८ अंकले घटेर २ हजार ५ सय ६ दशमलव ६२ बिन्दुमा आएको  छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ११ दशमलव २५ अंकले घटेर ४ सय ५२ दशमलव ७९ बिन्दुमा पुगेको छ । सबै समूहका सूचक नकारात्मक रहेका छन् । सबैभन्दा धेरै घट्नेमा हाइड्रोपावर समूह, निर्जीवन बिमा समूह, ट्रेडिङ समूह रहेका छन् । यी समूहको सूचक ४ दशमलव ४ प्रतिशतदेखि २ प्रतिशतसम्मले घटेका छन् ।

सबै समूहको सूचक घट्दा कारोबार रकम पनि आइतबारको तुलनामा घट्न पुगेको छ । धितोपत्र र ऋणपत्र गरी करोबारमा आएका २ सय २० कम्पनीको १ करोड २९ लाख कित्ता सेयर–इकाइ किनबेच हुँदा ६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ७ अर्ब २८ करोडको कारोबार भएको थियो । 

यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी छ । कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । बैंकको २५ करोड २९ लाख रुपैयाँको किनबेच भएको छ । विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

यी दुवैको सोमबार करिब १० प्रतिशतले सर्किट लागेर मूल्य बढेको हो । विशाल बजार कम्पनीको प्रतिसेयर मूल्य ३ हजार ८ सय ८२ रुपैयाँ र महिला लघुवित्त वित्तीय संस्थाको २ हजार ३ सय ४९ रुपैयाँ पुगेको छ ।

यस दिन रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । रिलायन्स फाइनान्स कम्पनीको ८ दशमलव ६ प्रतिशतले मूल्य घटेको छ भने छ्याङ्दी र सिन्धु विकासको ७ प्रतिशतले घटेको छ ।