१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
विजयराज खनाल काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १o:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अनलाइन कारोबारी बढेका कारण सेयर बजार बन्द नगरिने

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३८:oo

कोभिडको दोस्रो लहरका कारण लगानीकर्ता आतंकित हुँदा दुई दिनमै उनीहरूको सम्पत्तिको मूल्यसमेत १ खर्ब ९६ अर्ब रुपैयाँ घटेको छ । तर, यसपटक गत वर्षजस्तो बजार बन्द गर्न नहुने पक्षमा लगानीकर्ता रहेका छन् । ‘गत वर्ष हामीले सुरुमा बजार बन्द गर्ने माग राख्दा अनलाइन कारोबारले अहिलेजस्तो व्यापकता पाएको थिएन,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘कारोबार गर्नै नसक्ने अवस्था आएपछि बजार बन्द गर्न भनेका थियौँ, यसपटक भने त्यस्तो अवस्था छैन, त्यसैले बजार बन्द गर्न हुँदैन ।’

गत वर्ष चैतमा कोभिडको पहिलो लहर सुरु हुँदा त्यसको प्रभावस्वरूप लगानीकर्ताको सम्पत्ति ६४ अर्बले क्षयीकरण भएको थियो । सम्पत्ति क्षयीकरण भएको भन्दै बजार बन्द गर्न सातै लगानीकर्ता संघले अपिल गरेका थिए । १० चैतदेखि बन्द भएको बजार ३० र ३१ वैशाखमा उच्च दरमा घट्दा १६ खर्बको बजार पुँजीकरण घटेर १५ खर्ब ३६ अर्ब भएको थियो । 

अहिले मुलुकमा कोभिडको दोस्रो लहर द्रुत गतिले फैलिएको छ । यसको प्रभावमा लगानीकर्ता हतोत्साही हुँदा दुई दिनमा प्यानिक सेल बढेको छ । परिसूचक दुई दिनमै १ सय ४१ अंकले घटेको छ । 

के फरक छ अहिले ? 
गत वर्ष कोभिडको प्रभावले बजार बन्द हुँदा १६ लाख ५९ हजार डिम्याट खाता खोलिएको थियो भने अनलाइन कारोबार सेवा लिने २२ हजारभन्दा केही बढी मात्रै थिए । तर, अहिले ३४ लाख डिम्याट खाता खेलिएका छन् । बजारमा ४ लाख ९९ हजारले अनलाइन सेवा लिएका छन् । बजारमा सक्रिय सेयर लगानीकर्ताको संख्यासमेत ६ लाख २७ हजार हाराहारी छ । ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत नै हुन्छ ।  

‘अहिले घरघरैबाट सेयर कारोबार गर्न सकिरहेका छौँ,’ नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले भनिन्, ‘नेप्सेले कारोबार प्रणाली र ब्रोकरले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) खोल्न सक्ने अवस्था रहँदासम्म बजार बन्द गर्नुपर्ने कारण नै छैन ।’

अनलाइन नहुने र ब्रोकरसँग परिचित भइसकेका कतिपयले ब्रोकरकहाँ टेलिफोनबाट समेत खरिद–बिक्री आदेश दिने गर्छन् । त्यसैले, यसपटक बजारमा सक्रिय लगानीकर्ताको पहुँचमा खासै समस्या हुने देखिँदैन ।  

‘अहिले १० देखि १५ प्रतिशत लगानीकर्ताले अनलाइनबाहेकका माध्यमबाट कारोबार गर्छन्,’ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले भने, ‘अनलाइन नलिएका र मेरो सेयरसमेत नहुनेले सेयर बिक्री गरिसकेपछि डिपी (निक्षेप संग्रहकर्ता) मा गएर सेयर राफसाफका लागि पठाउनुपर्छ, तिनलाई केही समस्या हुन सक्छ ।’

यस्ता लगानीकर्ताले समेत सम्बन्धित डिपीमार्फत मेरो सेयर खाता खोलेर फोनमार्फत कारोबारको आदेश दिन सक्ने र रकम भुक्तानीका लागि भने इसेवा, खल्ती तथा  बैंकका इन्टरनेट वा वालेट सेवालगायतबाट भुक्तानी गर्न सक्छन् । त्यसैले धितोपत्र बोर्डले पनि बजार बन्द नहुने उल्लेख गरेको छ । नेप्सेले समेत ब्रोकरहरूलाई परिपत्र जारी गर्दै सुरक्षात्मक विधि अपनाएर कारोबार गराउन भनेको छ । 

यसपटक बजार २७ सय ५५ को उच्च बिन्दु छोएर ओर्लिएको छ । बजार लगातार घटे पनि यसलाई माग र आपूर्तिका आधारमा हेर्नुपर्ने सरोकारवाला सबैको भनाइ छ । हाल निक्षेपको ब्याजदर खासै नबढ्ने देखिएको, सेयर धितो कर्जाको ब्याजदर कम (८ प्रतिशत हाराहारी) रहेको, बजारमा कम्पनीहरूको अवस्था अध्ययन र विश्लेषण गरेर लगानी गर्ने हो भने १० देखि १५ प्रतिशत प्रतिफल कम्पनीहरूले दिन सक्ने अवस्था रहेकाले पनि डराउन नहुने लगानीकर्ता बताउँछन् । यद्यपि, बजारका सबै पक्ष र कम्पनी विशेषको अवस्थाको अध्ययन गरेर निर्णय लिन उनीहरूको सुझाब छ । 

ad
ad