१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल
२०७५ फाल्गुण ५ आइतबार ०९:४३:००
Read Time : > 3 मिनेट
फिचर

छत–छतमा स्विमिङ पुल

Read Time : > 3 मिनेट
नवीन अर्याल
२०७५ फाल्गुण ५ आइतबार ०९:४३:००

छतमा स्विमिङ पुल ! विदेशतिरका होटेलमा ‘रुफटप पुल’ सामान्य भइसक्यो । नेपालमा भने नयाँ प्रयोग हो । अहिले विभिन्न सहरमा खुलेका होटेलको आकर्षण यस्तै स्विमिङ पुल हुन् ।
चौधरी समूहले ललितपुरको झम्सिखेलमा ‘लक्जरी बिजनेस’ होटेल भिभान्ता काठमाडौंको १०औँ तलामा स्विमिङ पुल छ । होटेलको व्यवस्थापन भारतीय बहुचर्चित ब्रान्ड ताज ग्रुपले सम्हालेको छ । ११० कोठा छन् । सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरी होटेल पुग्ने मान्छेले आफूलाई दुबई र सिंगापुर पुगेजस्तो अनुभव गर्ने बताउँछन् । रुफटप पुल मात्र होइन, रुफटप बार पनि छ । यो चौधरी ग्रुपको काठमाडौंमा सञ्चालित तेस्रो होटेल हो ।

झम्सिखेलमा हालै मात्र सञ्चालनमा आएको भिभान्ता काठमाडौंको छतमा पनि स्विमिङ पुल छ । होटेल साम्बला, होटेल मलवरीमा पनि स्विमिङ पुल बनाइएको छ । केही निर्माणाधीन होटेलले समेत छतमा स्विमिङ पुल बनाइरहेका छन् । होटेलमा आउने पाहुना सहरको दृश्यावलोकन गर्दै स्विमिङ गर्छन् । पछिल्लो समय होटेलका छतमा धमाधम स्विमिङ पुल बनिरहेका छन् ।

ठमेलमा सञ्चालनमा आएको व्यावसायिक कम्प्लेक्स छाया सेन्टरमा पाँचतारे होटेल सञ्चालनमा आउँदै छ । यो होटेलको १५औँ तलामा स्विमिङ पुल बन्दै छ । यो काठमाडौंमा सबैभन्दा अग्लो भवनमा रहेको स्विमिङ पुल हुनेछ । यसमा तीनवटा मल्टिप्लेक्स थिएटर, विभिन्न सामग्रीका पसल, एयरलाइन्स एजेन्सी, ब्याङ्क्वेट हल, डिस्को थेक, सेमिनार हल, क्यासिनो, रिसेप्सन हल, रेस्टुरेन्ट क्लब र बैंकका शाखाहरू रहनेछन् । भवनको पाँचदेखि पन्ध्रौँ तलासम्म अलफ्ट होटेल हुनेछ । होटेलसहित कम्प्लेक्समा कुल ५ अर्ब लगानी पुगेको मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाँडे बताउँछन् ।

गर्मीयाम सुरु हुनै लागेको छ । अब बाँसबारीस्थित होटेल साम्बलामा स्विमिङ गर्नेहरूको लर्को लाग्छ । विदेश बसेर आउने नेपालीले यस्तो सुविधा खोज्छन् । त्यहाँ नेपाल मात्र नभएर विदेशी पनि पौडी खेलिरहेका भेटिन्छन् । ठमेलको होटेल मलवरीको छतमा स्विमिङ पुल बनेपछि ग्राहकको चाप पनि बढेको छ ।
छतमा पौडी खेल्दै सहरको दृश्यावलोकनले ग्राहक तानिने होटेलवालाहरूको अनुभव छ । विराटनगरमा निर्माणाधीन दी सेञ्चुरियन होटेलले पनि छतमा स्विमिङ पुल बनाइरहेको छ । ग्राहकले विदेशको सुविधा नेपालमा खोज्न थालेपछि आफूले पनि नयाँ प्रयोग गरेको सञ्चालक मोती दुगडले बताए । सपिङ मलसहितको १२ तले भवनमा एक सय २० कोठाको होटेल हुनेछ । आठौँ तलामा स्विमिङ पुल हुनेछ । अर्को स्विमिङ पुल ग्राउन्डमा पनि बन्दै छ । भवनको पाँचदेखि १२औँ तलासम्म होटेल हुने मोती दुगडले बताए । होटेल एक वर्षभित्र सञ्चालनमा आइसक्नेछ ।
व्यवसायी दुगडले एक सय ७० करोड लगानीमा सपिङ मलसहितको होटेल सञ्चालन गर्न लागेका हुन् । २७ कठ्ठा क्षेत्रफलमा फैलिएको भवनमा पसल, मल्टिप्लेक्स, एमपी थिएटर, फुड कोर्ट, ब्याङ्क्वेट, रेस्टुरेन्टलगायत सुविधा रहनेछन् । ‘हामी तीन हजारजना अटाउने ब्याङ्क्वेट हल बनाउँदै छौँ,’ उनले सुनाए, ‘ब्याङ्क्वेट हलका लागि छुट्टै आउटडोर स्विमिङ पुल हुनेछ ।’
काठमाडौंको बाँसबारीमा सञ्चालित होटेल साम्बलाको छतमा ३.५ फिट गहिरो स्विमिङ पुल छ । पुलछेउमा बार पनि छ । यो होटेल पाँच वर्षअघिदेखि सञ्चालनमा छ । होटेलमा ६५ कोठा छन् । होटेलको पुलबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ । 
होटेलका ग्राहकले स्विमिङ पुल निःशुल्क प्रयोग गर्न सक्छन् । स्विमिङ पुल मात्र पनि प्रयोग गर्न सकिन्छ । आइतबारदेखि शुक्रबारसम्म वयस्कले १५ सय र बालबालिकाले सात सय ५० रुपैयाँ तिर्नुपर्छ । शनिबार भने वयस्कले दुई हजार र बालबालिकाले हजार रुपैयाँ तिर्नुपर्ने होटेलको साइटमा उल्लेख छ ।

व्यावसायिक कम्प्लेक्स छाया सेन्टरमा पाँचतारे होटेल सञ्चालनमा आउँदै छ । यो होटेलको १५औँ तलामा स्विमिङ पुल बन्दै छ । यो काठमाडौंमा सबैभन्दा अग्लो भवनमा रहेको स्विमिङ पुल हुनेछ ।

नेपालमा सञ्चालित पाँचतारे होटेलमध्ये लाजिम्पाटस्थित ¥याडिसनको छतमा मात्र स्विमिङ पुल छ । यो होटेल पब्लिक कम्पनीमा परिणत भइसकेको छ । केही वर्षअघिसम्म घाटा व्यहोरिरहेको होटेलले पछिल्लो समय सेयरधनीलाई लाभांश दिइरहेको छ । होटेलमा दुई सय ६० कोठा छन् । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा खुलेको होटेल मलवरीको छतमा रहेको स्विमिङ पुलबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ । यो पुल १५ सय स्क्वायर फिटको छ । मलवरी ठमेलको पहिलो ‘रुफटप स्विमिङ पुल’ होटेल हो । यहाँ ६७ कोठा छन् । ४२ डिलक्स, १४ एक्जुकेटिभ, नौ जुनियर स्विट, एक बिजनेस स्विट र एक प्रेसिडेन्सियल स्विट रुम छन् । 

त्रिपुरेश्वरमा रहेको बिजनेस कम्प्लेक्स ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’को छतमा पनि स्विमिङ पुल छ । जम्सिन फिटनेस एन्ड स्पा कम्पनीले सञ्चालन गरिरहेको पुलमा भिड लाग्ने गरेको छ । यो पुल सन् २००८ तिर सञ्चालनमा आएको हो । कम्पनीले रुफटप स्विमिङ पुलसँगै जिम, मसाज सेन्टर, स्पा, ब्युटिपार्लर, एरोबिक, साउना, म्यान सैलुन, क्याफे पनि सञ्चालन गर्छ ।  चितवनको भरतपुरमा नौ कठ्ठा जग्गामा व्यावसायिक कम्प्लेक्स सिजी ल्यान्डमार्क निर्माण भइरहेको छ । झन्डै २ अर्ब लगानी हुने कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो तलामा रिटेल कारोबार हुनेछ । चौथो र पाँचौँ तलामा मल्टिप्लेक्स, फुडकोर्ट, ब्याङ्क्वेट हुनेछ । भवनको ६ देखि ९ तलासम्म बिजनेस होटेल हुनेछ । मलको छतमा दुईवटा गार्डेन र स्विमिङ पुल बनाइँदै छ । यो चितवनकै सबैभन्दा अत्याधुनिक व्यावसायिक कम्प्लेक्स र छतमा स्विमिङ पुल हुने पहिलो होटेल हुनेछ ।

चौधरी ग्रुपले ललितपुरको पुल्चोकमा हाई एन्ड सर्भिस अपार्टमेन्ट निर्माण गर्ने घोषणा गरिसकेको छ । ७८ वटा सर्भिस अपार्टमेन्ट रहने कम्प्लेक्स सन् २०२० जनवरीसम्म सञ्चालनमा आइसक्ने बताइएको छ । अत्याधुनिक सुविधासम्पन्न हुने भनिएको अपार्टमेन्टमा रुफटप स्विमिङ पुल, हेल्थ क्लब, हाई एन्ड रेस्टुरेन्टलगायत सुविधा रहनेछ ।