मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १३ सोमबार १८:५५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कांग्रेसका नेताको पिसिआर परीक्षणका लागि नमुना संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १३ सोमबार १८:५५:००

कोरोना संक्रमण बढ्न थालेपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक नै स्थगित गरी नेता र कर्मचारीको पिसिआर परीक्षण गराएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यहरूसमेत गरी एक सय चारजना र अन्य कर्मचारीसहित एक सय ५१ जनाको नमुना संकलन गरिएको छ । 

सोमबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयबाटै नमुना संकलनको व्यवस्था गरिएको थियो । नेताहरूले लाइन लागेर पिसिआर परीक्षणका लागि नमुना दिएका छन् । 

मंगलबारसम्म सबैको रिपोर्ट आएपछि नेगेटिभ रिपोर्ट भएकाहरू मात्रै बैठकमा सहभागी हुन पाउन व्यवस्था गरिएको छ । बैठकको सिलसिलामा पार्टी कार्यालयमा भिड जम्मा हुँदा संक्रमणको जोखिम हुने भएकाले सम्भावित जोखिम कम गर्न पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र नेताका सचिवालयमा कार्यरत नेताहरूको एकैपटक पिसिआर परीक्षण गराइएको कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । 

कांग्रेसले १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न सोमबार २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर, संक्रमणको जोखिम बढेपछि परीक्षण गरेर मात्रै बैठक बस्ने गरी आगामी बुधबारसम्मका लागि स्थगित गरिएको हो । 

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंंमा १४औँ महाधिवेशन गर्ने मिति तोकेको छ । जसका लागि तल्लो तह अर्थात् वडा तहको अधिवेशन ५ असारबाट सुरु हुन्छ । तर, तल्ला तहका मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको विवरण अहिलेसम्म पनि टुंगो लागेको छैन ।