Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७८ बैशाख १३ सोमबार ०८:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साउदी जान दैनिक सयौँ भारतीय नेपालमा, स्वास्थ्य मापदण्ड कार्यान्वयन नगर्दा जोखिम बढ्दै

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७८ बैशाख १३ सोमबार ०८:११:००

भारतमा कोरोना भाइरसको दोस्रो लहरले हरेक दिन रेकर्ड तोडिरहेको छ । तर, भारतको नयाँदिल्लीबाट नेपालमा सीधा उडानबाट दैनिक सयौँ भारतीयहरू विनारोकटोक भित्रिरहेका छन् । जसका कारण नेपालमा पनि कोरोना संक्रमणको जोखिम अत्यधिक देखिएको छ । 

नेपाल घुम्न भन्दा पनि भारतबाट साउदीतर्फ सीधा उडान रोकिएपछि भारतीयहरू नेपालको बाटो हँुदै साउदीतर्फ गइरहेका छन् । उनीहरूले नेपालमा क्वारेन्टिन र स्वास्थ्य मापदण्ड पालना नगरी लापरबाही गर्दा नेपालसमेत उच्च जोखिममा परेको हो । ठमेलका सबैजसो होटेलहरू भारतीयले भरिएका छन् ।

अहिले विश्वले नै भारतलाई हेरिरहेको उनीहरूलाई खुलमखुल्ला प्रवेश गर्न दिएपछि अन्य मुलुकले अहिले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक परेको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बताए । ‘अहिले ठमेलमा भारतीयहरू स्वास्थ्य मापदण्डविनै हिँडिरहेका छन्, जसलाई नियमन गर्ने निकाय नै छैन,’ सुवेदीले भने । 

नेपालमा एयरलाइन्ससँगै सडकमार्गबाट आउनेको समेत कुनै तथ्यांक राखिएको छैन । जसका कारण केही दिनमै काठमाडौं पनि ‘हटस्पट’ बन्न सक्ने संकेत देखिएको छ । नेपालमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले दैनिक एक–एक उडान गरिरहेका छन् । दुवै उडानमा ८० प्रतिशतभन्दा बढी भारतीयहरूले भरिने गरेको छ । अहिले भारतीय नाका सिल गरेर सरकार अगाडि बढ्नुपर्नेमा खुलमखुल्ला स्वास्थ्य मापदण्डबेगर भारतीयहरू होटेलमा बस्नु राम्रो नभएको होटेल संघ नेपाल (हान) कि अध्यक्ष सिर्जना राणाले बताइन् । ‘केही होटेल व्यवसायीले पैसा कमाए पनि नेपालीको स्वास्थ्यमा खेलबाड भयो, यो तुरुन्तै रोकिनुपर्छ,’ उनले भनिन् । 

हानले सबै होटेल व्यवसायीलाई आइतबार नै परिपत्र गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न निर्देशनसमेत दिएको राणाले जानकारी दिइन् । सबै भारतीयलाई क्वारेन्टिनमा राख्न र होटेलबाहिर निस्कन नदिन आग्रह गरेको समेत गरिएको छ । 
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेको छ । साउदीले नेपालमा भने सीधा उडानमा रोक लगाएको छैन । भारतबाट हुने सीधा उडान बन्द गर्ने विषयमा छलफल भइरहेको, तर निर्णय नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।  नेपाल र भारत सरकारबीच सम्पन्न भएको एयर बबल एग्रिमेन्टअनुसार हाल नेपाल र भारतबीच दुवैतर्फका एक–एकवटा उडान गर्न पाउने सहमति भएको छ । कुनै पनि देशले आफूले चाहँदैमा उडान संख्या थप गर्न सक्दैनन् ।

आन्तरिक उडान कटौती गर्ने तयारी
विमानस्थलमा यात्रुको भिड बढेपछि सरकारले उडान संख्या कटौती गर्ने तयारी गरेको छ । उडान बढ्दै गएर विमानस्थलमा थाम्‍नै नसकिने, जोखिम न्यूनीकरणका सामाजिक दूरी कायम गर्न कठिन हुने भन्दै सरकारले उडान संख्या कटौतीको तयारी गरेको हो ।  ‘अहिले भइरहेको उडानको ३० प्रतिशत संख्या कटौती गर्ने गरी विमानस्थलले तालिका स्वीकृत गरेको छ । अब आफैँ पनि उडान कटौती गर्दै जाने देखिन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले भने । 

एयरलाइन्सहरूले भने उडान कटौतीभन्दा पनि सुरक्षाका उपायमा कडाइ गर्नुपर्ने सुझाब दिँदै आएका छन् । सबभन्दा सुरक्षित यात्राको माध्यम हवाई भएकाले यसको संख्या कटौतीभन्दा पनि अरू उपाय अपनाउनुपर्ने उनीहरूको तर्क छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २४ आन्तरिक उडानको तालिका स्वीकृत गरिएको छ । कोरोनाको नयाँ प्रकार फैलिएसँगै दिनदिनै नेपालमा संक्रमण बढे पनि विमानस्थलबाट यात्रा गर्नेहरूको संख्यामा कुनै कमी आएको छैन ।

संक्रमण बढेपछि बसको तुलनामा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा हवाई यात्रा पर्न थालेको छ । ११ चैत ०७६ देखि भएको लकडाउनले ४ असोज ०७७ सम्म नियमित आन्तरिक हवाई उडान बन्द भएको थियो । ०७७ को असोज ५ मा खुलेको आन्तरिक उडानमा अहिलेसम्म एयरलाइन्सहरू पूर्ण क्षमतामा सञ्चालन हुँदै आएका छन् ।