मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डिमिटर बेचेभ
२०७८ बैशाख १२ आइतबार ०९:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन–टर्की सहकार्यका आफ्नै सीमा छन् 

Read Time : > 2 मिनेट
डिमिटर बेचेभ
२०७८ बैशाख १२ आइतबार ०९:४१:००

टर्कीले अमेरिकासँगको सम्बन्ध सुधारका लागि युक्रेनसँगको सम्बन्धलाई महत्व दिइरहेको छ ।

अप्रिल १० मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्किस–युक्रेनियन उच्च तहको रणनीतिक सहकार्य परिषद्को नवौँ बैठकमा सहभागी हुन इस्तानबुल पुगे । जेलेन्स्कीको टर्की भ्रमणको मुख्य उद्देश्य भने टर्किस राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई रुसविरुद्ध आफ्नो पक्षमा लिनु थियो । पछिल्लो समय युक्रेन–रुसी सीमामा तनाव बढेको छ । मस्कोले सीमाक्षेत्रमा फौज जम्मा गर्न थालेपछि युक्रेनको मनमा चिसो पसेको छ । अहिले दोनबासभन्दा केही पर रहेको त्यस क्षेत्रमा ४० हजार रुसी फौज रहेका छन् । सन् २०१४ मा त्यति नै संख्याको रुसी फौजले क्रिमिया कब्जा गरेको थियो । 

तनावमाझ सुरुमा जेलेन्स्कीले अमेरिकालाई सम्पर्क गरेका थिए र टर्कीसँग सहयोगको हात बढाएका छन् । अंकराले अहिलेसम्म क्रिमियाको अतिक्रमणलाई समर्थन दिन अस्वीकार गरेको छ । त्यसकारण पनि युक्रेनले टर्कीको साथ खोजेको हुन सक्छ । बैठकपछि जारी संयुक्त घोषणामा एर्दोगान र जेलेन्स्कीले ‘क्रिमिया र सेभास्टोपोल सहर तथा दोनेस्क र लुहान्स्क क्षेत्रलाई अतिक्रमणबाट मुक्त गर्ने समन्वयात्मक कदम उठाउने’ वाचा गरेका छन् । पछिल्लो घोषणाको भाषा सन् २०२० अक्टोबरमा दुई नेताले जारी गरेको वक्तव्यको भाषासँग मिल्छ । 

टर्कीले अहिले युक्रेनको विषयमा रुससँग सीधै जोरी खोज्ने जोखिम उठाउन सक्दैन । टर्कीले विगतमा नगोर्नो–कराबाख अथवा लिबियामा जस्तो रुसविरुद्ध सेना पठाउने सम्भावना कम छ

एर्दोगानले कियभले ल्याएको र बाइडेनको पनि समर्थन गरेको क्रिमियन प्ल्याटफर्ममा पुनः समर्थन जनाए । प्ल्याटफर्ममार्फत रुसमाथि दबाब राख्ने योजना छ । टर्कीले क्रिमिया क्षेत्रमा बसोवास गर्ने टर्किस मूलका तातारलाई आर्थिक सहायता पुर्‍याउने लक्ष्य बोकेको छ । युक्रेन–टर्कीको सम्बन्ध गफमा मात्र सीमित छैन । सन् २०१९ मा कियभले टर्कीको अत्याधुनिक हतियार ‘१२ बेरक्टार टिबी २ युएभी’ किन्यो । यस हतियार प्रणालीमार्फत टर्कीका मित्रशक्ति सिरिया, लिबिया र अजरबैजानले युद्धमैदानमा उल्लेख्य सफलता हासिल गरेका छन् । युक्रेनी फौजका कमान्डर इन चिफले थप पाँच बेरक्टार टिबी २ युएभी लिने घोषणा गरेका छन्। 

अमेरिकासँगको सम्बन्ध सुधारका लागि टर्कीले युक्रेनसँगको सम्बन्धलाई महत्व दिइरहेको छ । पश्चिमसँग सम्बन्ध सुधार गर्ने एर्दोगानको प्रयासले युरोपमा सफलता पाए पनि बाइडेनले अंकाराको प्रयासलाई बेवास्ता गरिरहेका छन् । विगतमा पुटिनसँग सम्बन्ध सहजीकरण गर्ने प्रयास गरेकाले अमेरिकीहरूले टर्कीलाई विश्वास गरिरहेका छैनन् । अहिले युक्रेन र रुसबीच बढेको तनावलाई टर्कीले अमेरिकासँग सम्बन्ध सुधारको अवसरको रूपमा हेरेको छ । एर्दोगान–जेलेन्स्की सम्मेलनअघि टर्कीले दुई अमेरिकी डिस्ट्रोयटर ब्ल्याक सीतर्फ अघि बढेको घोषणा गर्‍यो । पेन्टागनले भने यसलाई नेटोको नियमित प्रक्रिया बतायो । पछि अमेरिकाले जहाज(डिस्ट्रोयर) नै पठाएन । टर्कीले अहिले युक्रेनको विषयमा रुससँग सीधै जोरी खोज्ने जोखिम उठाउन सक्दैन । टर्कीले विगतमा नगोर्नो–कराबाख अथवा लिबियामा जस्तो रुसविरुद्ध सेना पठाउने सम्भावना कम छ । न त टर्कीको समर्थन पाएर किइभले रुससँग सन्तुलनको स्थिति हासिल गर्न सक्छ । 

पछिल्ला घटनाबीच अप्रिल १२ मा रुसी सरकारले जुन १ सम्म टर्की जाने नियमित तथा चार्टर उडान रोक्ने घाषणा गरेको छ । यस कदममार्फत टर्कीले रुसमाथि दबाब सिर्जना गर्न खोजेको स्पष्ट हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा युक्रेन आफैँ त्यति सबल स्थितिमा छैन । रुसको फौज सीमापारि रहेको थाहा पाएर पनि जेलेन्स्कीले सिमानाको आफ्नो भागमा सेना पठाइरहेका छैनन् । उनले सेना पठाए भने पनि मस्कोले किइभले जोरी खोजेको भन्दै आक्रमणको निहुँ पाउन सक्छ । त्यसैले युक्रेनका राष्ट्रपतिको ध्यान कूटनीति समर्थन विकास गर्नेमा गएको छ । 

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले अघिल्लो साता ब्रसेल्समा नेटो सदस्यसँग गरेको सरसल्लाहमा युक्रेनको विषय पनि उठेको छ । त्यहाँ उनले किइभका विदेशमन्त्री दिमित्री कुलेबालाई पनि भेटे । नेटोले आफूहरूबीच एकता प्रदर्शन गरे पनि रुसको कदमप्रति कुनै प्रतिक्रिया जनाउनेछैन । युक्रेनको विषयमा टर्कीको व्यवहारमा आएको उतारचढावले मुख्यतः उसको रुससँगको रणनीतिबारे बताउँछ । बाहिर जे देखाए पनि अंकारा मस्कोसँगको प्रतिस्पर्धा नियन्त्रणबाहिर जान दिन चाहँदैन । एर्दोगान विगतका टर्किस नेताभन्दा बढी आक्रामक होलान्, तर उनलाई रुससँगको खराब सम्बन्धमा फाइदाभन्दा घाटा बढिरहेको थाहा छ । 

अहिलेको स्थितिमा टर्कीको सबैभन्दा उत्कृष्ट विकल्प ‘सन्तुलन’ कायम गर्नुमा हुनेछ । रुससँग सहकार्य गर्ने, नेटोको सुरक्षा छाताभित्रै बस्ने र अजरबैजान, जर्जिया अथवा युक्रेनसँग सुरक्षा गठबन्धन विकास गर्दा टर्कीलाई फाइदा हुन्छ । सन् २०१२ जस्तै अंकाराले आफ्नो प्रतिष्ठा गुम्न नदिन युद्धलाई पन्छाउने रणनीति अपनाउनुपर्छ ।  

(बेचेभ भियनास्थित इन्स्टिच्युट अफ ह्युमन साइन्सका फेलो हुन्)
अलजजिराबाट