मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७८ बैशाख १२ आइतबार ०६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भूकम्पमा भत्किएका ६ हजार  दुई सय ४६ विद्यालयको पुनर्निर्माण सम्पन्न, एक हजार तीन सय सात निर्माणाधीन

Read Time : > 1 मिनेट
२०७८ बैशाख १२ आइतबार ०६:३५:००

यस वर्ष विनियोजितभन्दा साढे ६ अर्ब बढी खर्च, भुक्तानीमा ढिलाइ

भूकम्प ०७२ ले भत्किएका विद्यालयमध्ये ६ हजार दुई सय ४६ को पुनर्निर्माण सकिएको छ । नौ हजार ७२ विद्यालय पुनर्निर्माण गर्नुपर्ने भए पनि सात हजार पाँच सय ५३ प्राथमिकतामा थिए । प्राथमिकतामा परेका एक हजार तीन सय सात विद्यालय निर्माणाधीन छन् ।

विद्यालय व्यवस्थापन समितिमार्फत चार हजार नौ सय ३३, निर्माण व्यवसायीमार्फत पाँच सय ५४ र गैरसरकारी संस्थामार्फत सात सय ५९ विद्यालय पुनर्निर्माण भएका छन् । त्यसैगरी, समितिमार्फत एक हजार एक सय २१, व्यवसायीमार्फत एक सय ६६ र गैरसरकारी संस्थामार्फत २० विद्यालय निर्माणाधीन छन् । 

विद्यालय पुनर्निर्माणका लागि चालू आर्थिक वर्ष ०७७/७८ मा १८ अर्ब ६० करोड पाँच लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, भुक्तानीका लागि साढे ६ अर्ब रुपैयाँ अपुग भएको छ । कोभिड र अन्य कारणले निर्माण कठिन हुने अनुमानमा कम बजेट विनियोजन गरिएको, तर काम धेरै हुँदा थप बजेट आवश्यक परेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का आयोजना निर्देशक रामशरण सापकोटाको भनाइ छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का आयोजना उपनिर्देशक युवराज पौडेलले अपुग रकम चाँडै निकासा हुने बताए । उनले भुक्तानी गर्नुपर्ने रकममध्ये केही आइसकेको र अरू आगामी असारभित्रै अर्थ मन्त्रालयबाट निकासा भइसक्ने प्रतिबद्धता आएको जानकारी दिए । ‘रकमान्तर गरेर भए पनि बजेट निकासा गर्ने प्रतिबद्धता आएको छ, हामीले असारभित्रै निकासा गरिसक्छौँ,’ उनले भने । 

सबै विद्यालय यसै वर्ष सक्ने लक्ष्य भए पनि निर्माण कम्पनीमार्फत निर्माण भएका विद्यालय अर्को वर्षको मध्यसम्ममा सम्पन्न हुने उनले जानकारी दिए । यस वर्षमा ९३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न हुने सापकोटाको भनाइ छ । 

विद्यालय पुनर्निर्माणका लागि कुल एक खर्ब १० अर्ब ७९ करोड ३९ लाख ८३ लागत अनुमान थियो । सरकारी, गैरसरकारी संस्था तथा दातृ निकायको लगानीमा आर्थिक वर्ष ०७६/७७ सम्म केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत ५३ अर्ब १९ करोड ३९ लाख ८३ हजार खर्च भएको छ । 

चीन र भारतले आधा पनि बनाएनन् विद्यालय
चीन र भारतको अनुदानमा हुने भनिएको पुनर्निर्माण सुस्त छ । भारतले ७० विद्यालय र एउटा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय अनुदानमा पुनर्निर्माण गर्ने जिम्मा लिएको छ । तीमध्ये अहिलेसम्म आठवटा विद्यालयको मात्रै पुनर्निर्माणको काम सकेर हस्तान्तरण गरिएको छ । 

त्यसैगरी, चीनले विभिन्न जिल्लामा आठ विद्यालय पुनर्निर्माणको जिम्मा लिएको छ । तीमध्ये दरबार हाइस्कुल पुुनर्निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरेको छ । शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार चीनले अन्य तीन विद्यालय निर्माण गरिरहेको छ । बाँकी निर्माणको प्रक्रियामा छन् । 

उता भारतको एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण हुने त्रिविका ३८ आंगिक क्याम्पस र जिरी शिक्षालय पुनर्निर्माण बल्ल सुरु भएको छ । केही दिनअघि भारतीय राजदूतावासबाट स्वीकृति आएपछि पुनर्निर्माणको प्रक्रिया अघि बढेको हो । छिटै एउटा प्याकेजको टेन्डर गर्ने तयारी भइरहेको छ । एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माणको प्रक्रिया पूरा गर्न लामो समय लागेकाले ढिलाइ भएको हो ।