मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १० शुक्रबार ०८:४०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सुपर लिगमा सुधार आवश्यक

Read Time : > 2 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०८:४०:००

युरोपियन सुपर लिगले उत्पन्न गरेको विवादलाई फुटबलमा तत्कालै परिवर्तनको खाँचो रहेको चेतावनीका रूपमा बुझ्नुपर्छ 

अप्रिल १८ मा बेलायत, स्पेन र इटलीका सबैभन्दा शक्तिशाली फुटबल क्लबले ‘युरोपेली सुपर लिग’ ल्याउन लागेको घोषणा गरे । संस्थापक सदस्यले आफूहरूको जस्तोसुकै प्रदर्शन भए पनि लिग स्थायी सिट पाउने नियम बनाउँदै थिए । तर, घोषणाले फुटबल फ्यानमाझ ठूलो हंगामा उत्पन्न गर्‍यो । १२ ठूला क्लबले पैसाका लागि खेलको मूल्यलाई नै परित्याग गरेको भन्दै विरोध हुन थाल्यो । सरकारी अधिकारी र फुटबल निकायले नयाँ लिग रोक्नका लागि आफूले सक्ने कदम चाल्ने वाचा गरेको सुनियो । 

घोषणाको दुई दिनपछि युरोपियन सुपर लिगमा फाटो आउन थाल्यो । १२ क्लबमध्ये दुई क्लब चेल्सी र म्यानचेस्टर सिटीले लिगबाट बाहिरिएको घोषण गरे । तिनको कदमलाई अन्य चार इंग्लिस लिगले पनि पछ्याए । त्यसपछि एथलेटिको म्याड्रिड र इन्टर मिलानले पनि लिग छाडे । यो परियोजना छोटो समयमै तुहियो । तर, यसपटक फुटबलको माथिल्लो निकायमा खुला कुको प्रयास भयो । दशकौँसम्म विभिन्न मानिसले यसको खतराबारे चेतावनी दिँदै आएका थिए । सुन्दर खेल भनिने फुटबलमा खेलको आदर्शभन्दा मुनाफा महत्वपूर्ण भइरहेकाले यस्तो दिन आउने विज्ञको पूर्वानुमान थियो । युरोपियन सुपर लिगले उत्पन्न विवादलाई फुटबलमा तत्कालै परिवर्तनको खाँचोको जनाउ घन्टीका रूपमा बुझ्नुपर्छ ।

विगतमा फिफा, युइएफएजस्ता फुटबल निकायले ठूला क्लबका नाजायज अभ्यासलाई समर्थन गरेकाले आजको स्थिति आयो । आज तिनलाई आफैँले दूध पिलाएको सर्पले डसेको मात्र हो 

सुपर लिगको घोषणाप्रति युइएफए, फिफा र घरेलु लिगले पनि क्रुद्ध प्रतिक्रिया दिएका थिए । तर, वर्तमान संकट आउन यिनै निकाय जिम्मेवार छन् । विगत ३० वर्षमा खेलाडीको तलबमा असामान्य वृद्धि हुँदा उनीहरू मुकदर्शक बनेर हेरिरहे । टिकट मूल्य र टिभी सप्क्रिप्सनको अंश पनि ०.००१ प्रतिशत खेलाडी, तिनका एजेन्ट र क्लबका मालिकको हातमा जान्छ । फुटबल निकायले युरोपका कैयौँ ऐतिहासिक क्लबलाई बहुराष्ट्रिय समूह र खाडी मुलुकका शेखहरूले किन्दा पनि हेरिरहे । सुपर लिग बनाउन सहमति जनाउने १२ मध्ये ८ क्लब विगत २० वर्षमा बिकेका हुन् । 

क्लबका मालिकले के गर्न पाउने, के नपाउने भन्ने कुनै उलेख्य नियन्त्रण नभएको र फुटबल फ्यानको क्लब प्रशासनमा महत्वपूर्ण भूमिका नदिइएको (यसमा जर्मनी भने अपवादका रूपमा रहेको छ) अर्बपति मालिकले क्लबलाई दुहुनो गाई बनाउने प्रयास गरे । महामारीको अवधिमा विद्यमान प्रणालीले क्लबहरूलाई कसरी शीघ्र सफलताका लागि ऋणको भारी लिन दबाब पर्छ भन्ने देखायो । नयाँ सुपर लिगका १२ मध्ये आधा क्लबमाथि ऋणको ठूलो भारी छ । कोभिड–१९ का कारण दर्शकको सहभागिताबाट आउने आय सुकेकाले ती क्लबले ऋण तिर्न कठिनाई भोगिरहेका छन् ।

इटलीमा इन्टर मिलानले फेब्रुअरीमा २० करोड डलरको आपत्कालीन रकम खोजिरहेको थियो । जुनको अत्यसम्ममा युभेन्टसले १२ करोड डलर उठाउनुपर्ने थियो । स्पेनमा बार्सिलोना र रियल म्याड्रिड दुवैको टाउकोमा एक अर्बको भार छ । इंग्ल्यान्डमा ग्लेजर परिवारले ऋणमुक्त म्यानचेस्टर क्लबलाई ऋणमा डुबाएको छ । सन् २००५ मा ग्लेजरले स्वामित्वमा लिएपछि क्लबले १.३ अर्ब डलर ब्याज मात्र तिरिसक्यो । टोटनह्यामको टाउकोमा ८४ करोड ऋण छ । उसले महामारीको प्रभाव सबैभन्दा बढी भएको समयमा बैंक अफ इंग्ल्यान्डबाट न्यून मूल्यको ऋण लिएको छ । यी क्लबका लागि सुपर लिग तिनको स्रोतअनुरूप सञ्चालन गर्ने विकल्प थियो । 

सुपर लिगविरुद्ध उठेको विरोधले फ्यानको शक्ति देखाइदियो । तर, अहिलेको विरोधले थप परिवर्तन ल्याउन सक्छ कि सक्दैन भन्ने स्पष्ट भइसकेको छैन । जर्मनीमा जस्तै क्लबलाई फ्यानको स्वामित्वमा राख्ने विचारले अहिले निकै लोकप्रियता पाइरहेको छ । खेलाडीको तलबमा सीमा तोक्ने, क्लबको आयलाई तल्ला निकायको सुविधा विस्तारमा प्रयोग गर्नुपर्ने र प्रसारणबाट आएको रकमलाई लिगभरमा समान रूपमा वितरण गर्ने (र महिला खेलमा पनि लगाउने) गरे बल्ल फुटबल खेलको विकासमा योगदान हुनेछ । 

विगतमा फिफा, युइएफएजस्ता फुटबल निकायले ठूला क्लबका नाजायज अभ्यासलाई समर्थन गरेकाले आजको स्थिति आएको हो । आज तिनले दूध पिलाएको सर्पले तिनैलाई डसेको मात्र हो । ती निकाय आफ्नो प्रभुत्व गुम्ने डरले मात्र १२ ठूला क्लबको प्रयासलाई रोक्न अघि सरे । वास्तविक परिवर्तनका लागि फ्यान नेतृत्वको क्रान्तिले फुटबलको वर्तमान व्यवस्थालाई पूरै ढाल्न आवश्यक छ । 

(रे स्वतन्त्र पत्रकार हुन्)
अलजजिराबाट