Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार ०६:०६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले विवाद यथावत् : ओली–नेपाल  वार्तामा उही प्रस्ताव, उही अडान

Read Time : > 3 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार ०६:०६:००

एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच बिहीबार भएको दोस्रो वार्ता पनि निष्कर्षविहीन बनेको छ । होटेल मेरियटमा भएको छलफलमा दुवैले पुरानै प्रस्ताव र अडान कायम राखेपछि अघिल्लो दिन सकारात्मक रहेको भनिएको वार्तामा कुनै प्रगति हुन सकेन ।

बुधबारको वार्तामा जस्तै बिहीबार पनि नेता नेपालले पार्टी संरचनालाई माओवादीसँगको एकतापूर्वको अवस्था अर्थात् २ जेठ ०७५ मा फर्काउनुपर्ने प्रस्ताव राखे भने ओलीले उनको प्रस्तावलाई अस्वीकार गरे । वार्तापछि नेता नेपालले ‘कुनै प्रगति नभएको’ जवाफ दिए । समस्या समाधानका लागि ओलीले कुनै नयाँ प्रस्ताव नल्याएको र आफ्ना गतिविधिबाट पछि पनि हट्न नचाहेको उनले बताए । 

‘समस्या समाधानका लागि ओलीजीले कुनै प्रस्ताव पनि ल्याउनुभएन र उहाँले गरिरहेका गतिविधिबाट पछि हट्न पनि चाहनुभएन । उहाँले एकलौटी हेरफेर गर्नुभएका पार्टीका साथीहरूको जिम्मेवारी सच्याउन पनि तयार नहुने र अरूले निःसर्त त्यसलाई स्वीकार गर्ने कुरा दोहो¥याउनुभयो,’ नेता नेपालले भने, ‘बैठक भयो, कुनै प्रगति भएन ।’

वार्तामा नेता नेपालले पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काएर २८ फागुन ०७७ पछिका निर्णयलाई खारेज गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, ओलीले आफूलाई ‘संकटमा साथ दिएका’ साथीहरूलाई दिएको जिम्मेवारी हेरफेर गर्न नसकिने जवाफ दिए । एमाले विवादमा नेपाल पक्षको मुख्य सर्त सर्वोच्चले गरेको माओवादी केन्द्रसँगको एकता भंगको फैसलापछि २८ फागुनमा ओली पक्षले एकलौटी हिसाबले गरेका जिम्मेवारी हेरफेरका निर्णयहरूको खारेज हो । ओलीले २८ फागुनमा माओवादीबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीको जिम्मेवारी दिएका थिए भने त्यसपछि पार्टी पदाधिकारीको जिम्मेवारीबाट सबैलाई हटाएर अध्यक्ष र महासचिवलाई मात्रै कायम राखेका थिए । नेपाल पक्षले यही निर्णयलाई सच्याउनुपर्ने माग राख्दै समानान्तर गतिविधि गर्दै आएको छ ।

बुधबारको छलफल बिहीबारको भन्दा केही सकारात्मक रहेको थियो । स्रोतका अनुसार बुधबारको छलफलमा नेता नेपालले राखेका ‘२८ फागुनयताका सबै निर्णय खारेज गर्नुपर्ने’ प्रस्तावमा ओली सकारात्मक देखिएका थिए । ‘ती विषयमा छलफल गर्न सकिन्छ । तर, मलाई संकटमा साथ दिएका माओवादी नेताहरूको जिम्मेवारी र सरकारको विषय के हुन्छ ?’ ओलीले नेपाललाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले नयाँ पत्रिकालाई बतायो ।

नेपालले ‘माओवादीबाट आएका नेताहरूको जिम्मेवारीका विषयमा मिलाएर जान सकिने र सरकारका विषयमा आफूले प्रचण्डसँग छलफल गर्ने’ आश्वासन दिएका थिए । त्यसपछि ओली आफैँले छलफलको अन्तिममा ‘भोलि पुनः बसौँ’ भनेर नेपाललाई प्रस्ताव गरेका थिए । तर, बिहीबार जब ओलीले पार्टी मुख्यालयको शिलान्यास गर्ने क्रममा नेपाल पक्षका नेताहरूमाथि कटाक्ष गरे त्यसपछि बनिसकेको वातावरण पनि बिग्रिएको नेपाल पक्षका नेताहरूको दाबी छ ।

यसअघि नै घोषणा भएअनुसार ओलीले बिहीबार पार्टीको कार्यालय रहेको पुरानै ठाउँ बल्खुको मदननगरमा नयाँ कार्यालय भवन निर्माणको शिलान्यास कार्यक्रम थियो । साथै, थापाथलीमा सारिएको अस्थायी कार्यालय सञ्चालनको कार्यसूची पनि थियो । बल्खुको कार्यक्रममा ओलीले नेपाल पक्षका नेताहरूलाई लिएर यस्तो ‘उग्र’ भाषण दिएका थिए । 

कार्यक्रममा ओलीले पार्टीभित्र उपद्रो गर्दै हिँडेका केही नेता–कार्यकर्तालाई आफूले फकाइरहेको बताए । ‘उनीहरूले सडकबाट हामीलाई विभिन्न कारबाही गरेको र हटाएको भनेर तमासा गरे । हाम्राविरुद्ध नगरा पिटाए । तर, यति उपद्रो गर्दा र देशभरि अर्काे पार्टी खोलेर हिँड्दा पनि अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइ–बुझाइ गर्ने प्रयास गरिरहेका छौँ । अहिले पनि हाम्रो प्रयास सम्झाइ–बुझाइ गर्ने भन्नेमा नै छ,’ ओलीले कार्यक्रममा भने, ‘अहिले पनि हाम्रो प्रयास पार्टीभित्र क्षति नहोस् भन्नेमा छ । तर, पार्टी जे पनि गर्न पाइने, अराजकता पनि हुने, अनुशासनहीनता पनि चल्ने खालको ठाउँचाहिँ होइन । पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौँ । अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौँ । हामी अनुशासनहीनता, अराजकता, पार्टीविरोधी गतिविधि, गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन सक्दैनौँ ।’

उनले सोही क्रममा व्यक्तिगत तवरमा सबैसँग कुराकानी हुन सक्ने, तर गुटगत हिसाबले कसैसँग पनि छलफल नहुने पुरानै भनाइलाई दोहोर्‍याए । ‘व्यक्तिगत तवरमा कुरा गर्ने, व्यक्तिगत तवरमा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुन सक्छ । समूहगत रूपमा पार्टीभित्र गुट बनाउने अनि मेरो गुटको यति भाग भन्ने, यस्ता भागबन्डा अबउप्रान्त पार्टीमा चल्दैन,’ ओलीले भने, ‘हरेकलाई हामीले अराजकता छाड र अनुशासित भएर पार्टीमा काम गर भनेर अवसर दिन चाहिरहेका छौँ, अहिले पनि कुरा गरिरहेका छौँ ।’ उनले यसलाई कमजोरी ठाने र पार्टीलाई फेरि बिथोल्न सकिन्छ भन्ने मनसायले गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोजे त्यो सम्भव नभएको बताएका थिए ।

ओलीले आफूलाई इंगित गर्दै दिइरहेको यस्तो अभिव्यक्तिलाई नेता नेपाल भने आफू पक्षका स्थायी कमिटी सदस्यसँग बानेश्वरमा बसेर प्रत्यक्ष सुनिरहेका थिए । स्रोतका अनुसार नेपाल पक्षका स्थायी कमिटीका नेताहरूले त्यसपछि ओली इमानदार नभएको निष्कर्ष निकालेर नेपाललाई सोहीअनुसार वार्तामा प्रस्तुत हुन सुझाब दिएका थिए । ‘ओलीले हामीलाई व्यक्तिगत र समूहगत भनेर जुन लाञ्छना लगाइरहेका छन् त्यसले हामीलाई कसरी सकाउन सकिन्छ भन्ने मनसाय मात्रै देखिन्छ । पार्टी एकता कायम राख्ने विषयमा कुनै गम्भीरता देखिएन । त्यसैले सबैले सर्वोच्चको २३ फागुनको फैसलाअनुसार २ जेठ ०७५ मा पार्टीलाई फर्काउने र २८ फागुनको निर्णयलाई खारेज गर्नुपर्ने सर्तबाट पछि नहट्न भनेर सुझाब दियौँ,’ नेपाल पक्षका एकजना स्थायी कमिटी सदस्यले भने ।

स्थायी कमिटीका नेताहरूसँग छलफलपछि नेता नेपालले आफू पक्षका सांसदहरूसँग समेत छलफल गरेका थिए । छलफलमा नेपालले सांसदहरूलाई ओलीसँग भएको वार्ता र उनको मनस्थिति के छ भन्ने विषयमा ब्रिफिङ गरेका थिए । ‘हाम्रा सांसदहरूले फ्लोर क्रस गर्छन् र सत्ता ढाल्छन् भन्ने सबैभन्दा ठूलो चिन्ता ओलीमा देखिन्छ । पार्टी एकतामा माओवादीबाट आएका नेतालाई कसरी व्यवस्थापन गर्ने भनेर भनेका छन्,’ नेता नेपालले सांसदहरूसँग गरेको ब्रिफिङ उद्धृत गर्दै स्रोतले भन्यो । साथै, बिहान ओलीले आफूहरूलाई लक्षित गरेर दिएको भाषणको विषयमा समेत कुरा गरेका थिए ।