मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ९ बिहीबार १३:५१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आफन्तलाई जागिर खुवाउने सेटिङ नमिलेपछि परीक्षा स्थगित

Read Time : > 1 मिनेट
२०७८ बैशाख ९ बिहीबार १३:५१:००

दैलेखको डुगेश्वर गाउँपालिकामा संघ सरकारबाट प्राप्त कृषि प्राविधिक कोटामा आफन्तहरूलाई जागिरको पक्का नभएपछि एक्कासि परीक्षा स्थगित गरिएको छ । दुईजना कृषि प्राविधिकका लागि २२ जनाको दरखास्त परेको थियो ।  

पालिकाले आफन्तलाई रोजगारी दिने अभियानअन्तर्गत निर्वाचित जनप्रतिनिधिका आफन्तलाई कारारमा धमाधम भागबन्डा गर्दै कर्मचारी राखिएपछि विवाद अख्तियारसम्म पुगेको थियो । अख्तियारले पुनः विधिवत् रूपमा परीक्षा लिनु भनेबमोजिम पालिकाका विभिन्न पदहरूमा अहिले परीक्षा सञ्चालन भइरहेको छ । 

कर्मचारी आह्वान गरेर बिहीबार १२ बजे कृषि प्राविधिकका लागि परीक्षा गर्ने भनिए पनि निर्वाचित जनप्रतिनिधिहरूको दबाबका कारण जनप्रतिनिधिका आफन्तरू निष्पक्ष परीक्षा लिँदा फेल हुने पक्का भएपछि एक्कासि परीक्षा स्थगित गरिएको परीक्षार्थीहरूले आरोप लगाए । 

नाम नबताउने सर्तमा एक परीक्षार्थीले भने, ‘बिहीबार परीक्षाका लागि भन्दै खबर आयो । हामी नेपालगन्ज सुर्खेतदेखि परीक्षा दिन आयौँ, १२ बजे परीक्षा लिने भनिएको थियो । तर, १२ः४५ मा सूचना टाँसेर परीक्षा स्थगित गरिएपछि हामीलाई परीक्षा निष्पक्ष नहुनेमा आशंका  बढेको छ । हाम्रो चाहना परीक्षा निष्पक्ष हुनुपर्‍याे, जसले बढी नम्बर पाउँछ उही व्यक्तिले जागिर खान पाउनुपर्‍यो भन्ने हो । ’

वडा नं. २ का निर्वाचित वडाध्यक्षका भाइलाई यसअघि उक्त जागिर करारमा दिइएको थियो, अहिले परीक्षा निष्पक्ष हुँदा आफ्नो मान्छे फुत्कने डरले जनप्रतिनिधिले नै बखेडा झिकेको परीक्षार्थीको आरोप छ । वडाध्यक्षले पालिकामा धम्कीसमेत दिएको परीक्षार्थीको आरोप छ । 

परीक्षाका लागि विज्ञका रूपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका प्रमुख राजु भुजलाई चुनिएको थियो । राजु भुजले भने, ‘हामीले बदमासी गर्ने उद्देश्यले परीक्षा स्थगित गरेका हाेइनौँ । तीनवटा विज्ञमार्फत प्रश्न प्रकाशन गरेर सबै प्रश्नलाई एकै ठाउँमा जम्मा गरेर गोलाप्रथामार्फत निस्किएका प्रश्नलाई आधिकारिकता दिएर परीक्षा सञ्चालन गर्ने तयारी थियो । तीनवटा विज्ञबाट आउनुपर्ने प्रश्नहरू आउन सकेनन्, त्यसैले स्थगित गरिएको हो । अब हुने परीक्षा झनै निष्पक्ष र पारदर्शी हुन्छ ।’ 

डुगेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख गगन हमालले परीक्षा निष्पक्ष हुने बताए । प्राविधिक रूपमा प्रश्नपत्र निष्कासन गर्ने विज्ञहरूमध्ये दुईजना विज्ञले प्रश्न पत्र निकाल्न नसकेपछि स्थगित भएको हो ।