१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी इजरायल
२०७८ बैशाख ९ बिहीबार १०:४२:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

मास्कविनै देखिन थाले इजरायली

Read Time : > 1 मिनेट
एजेन्सी इजरायल
२०७८ बैशाख ९ बिहीबार १०:४२:००

जनसंख्याको हिसाबले ५६ प्रतिशत इजरायलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् 

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध इजरायलले नमुना प्रस्तुत गरेको छ । कोभिड–१९ को सुरुवातदेखि नै इजरायलले यसबाट सुरक्षित रहन कडा नियम बनाउँदै आइरहेको छ । जनसंख्याको हिसाबले ५६ प्रतिशत इजरायलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । कोरोना नियन्त्रण तथा भ्याक्सिनको कार्यक्रमले सफलता पाउँदा इजरायलमा पछिल्लो दिन नागरिकहरू विनामास्क हिँडडुल गरिरहेका छन् । यसअघि सरकारले घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य गरेको थियो । अहिले सरकारले मास्क अनिवार्य नभएको बताएको छ । 

देशभरका सबै स्कुल तथा कलेज पूर्ण रूपले खुलेका छन् । सेप्टेम्बरपछि पूर्णकालीन रूपमा स्कुल तथा कलेज खुलेका हुन् । मास्क लगाउनु नपर्ने, स्कुल र कलेज सञ्चालन भए पनि कोभिड–१९ विरुद्धको केही नियम भने यथावत् छन् । भ्याक्सिन प्राप्त भएको सय दिनभित्र इजरायलमा पहिलो चरणको खोपमा ८१ प्रतिशत नागरिक सहभागी भएका थिए । दोस्रो चरणको खोपमा ५६ प्रतिशत मात्र सहभागी भएको सरकारको तथ्यांकमा उल्लेख छ । यसै तथ्यांकका आधारमा इजरायलका ५६ प्रतिशत नागरिक खोपको पहुँचमा पुगेका हुन् ।

यहाँ १६ वर्षमाथि उमेरका सबैलाई खोप अनिवार्य भनिएको छ । न्युयोर्क टाइम्ससँग कुराकानी गरेका ३५ वर्षीया एली ब्लिचले मास्कविना खुला हावा लिन पाउँदा अन्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन् । ‘यति वेला म निकै खुसी छु, महिनौँपछि विनामास्क बाहिर निस्कन पाएँ,’ ब्लिचले भने, ‘मैले मास्क नलगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा पनि पोस्ट गरेको छु ।’ 

रमाइलो पक्ष के छ भने सरकारले मास्क अनिवार्य नभएको बताए पनि कतिपय नागरिक त्यसैको बानी परेका छन् । त्यस्ता नागरिक अहिले पनि मास्कले नै कोरोनाविरुद्धको लडाइँमा जित हात पार्ने विश्वास राखेका छन् । उनीहरू अहिले पनि इजरायलमा महामारी समाप्त भइनसकेको प्रतिक्रिया दिन्छन् । उनीहरू भन्छन्, ‘हामीलाई अझै पनि इजरायल कोरोनामुक्त भइसकेको जस्तो लाग्दैन, मास्क नै सुरक्षित हुने पहिलो उपाय हो, हामीलाई मास्क लगाएर बाहिर आउने बानी नै परेको छ ।’ 

दैनिक मास्क प्रयोग गरी बाहिर नस्कँदा प्रदूषणबाट बच्न सक्ने उनीहरूले बताएका छन् । ‘मास्क लगाउँदा एलर्जीबाट जोगिन सक्छौँ,’ उनीहरूको भनाइ छ, ‘यसकारण सरकारले मास्क अनिवार्य नभएको बताए पनि हामी लगाउने पक्षमै छौँ ।’ मास्क नै सुरक्षित रहेको विश्वास राख्नेमध्ये इलाना पनि पर्छिन् । ‘मलाई अझै पूर्ण विश्वास छैन, यो महामारी समाप्त भइसकेको छ,’ ५९ वर्षीया इलानाले भनिन्, ‘विश्व अहिले पनि कोरोनाविरुद्ध नै लडिरहेको छ ।’

‘यो मास्क लगाएर बाहिर निस्कँदा एक किसिमको आनन्द आउँछ, थाहा नपाईकन हामी धेरै नराम्रा रोगविरुद्ध लडिरहेका हुन्छौँ,’ उनले भनिन् । जनवरीमा इजरायलमा दैनिक दश हजार संक्रमित भेटिएको थियो । पछिल्लो डाटाअनुसार यहाँ सयभन्दा कम संक्रमित भइरहेका छन् । विज्ञानका प्राध्यापक सिगलले इजरायलमा ८५ प्रतिशत नागरिक सुरक्षित रहेको बताए । खोप लगाएका व्यक्ति इन्डोर कार्यक्रममा सहभागी हुन पाउँछन् । यस्ता व्यक्ति रेस्टुरेन्ट तथा होटेलमा जान सक्छन् । तर, सरकारले त्यस्ता कार्यक्रममा सहभागी हुनका लागि अनिवार्य रूपमा मास्क लगाउनुपर्ने भनेको छ । अर्को पक्ष, मास्क लगाएर हिँडडुल गर्नेहरूप्रति व्यंगसमेत हुन थालेको छ । 

इजरायलका स्वास्थ्यमन्त्री युली इडेल्स्टिनले इन्डोर कार्यक्रमबाहेक अन्य क्षेत्रमा मास्क अनिवार्य भएको जानकारी दिएका छन् । ‘सरकारले मास्क अनिवार्य नभएको निर्णय गरेको साँचो हो, तर यो केवल इन्डोर कार्यक्रममा मात्र हो, यसबाहेक अन्य क्षेत्रमा अझै पनि मास्क अनिवार्य नै छ,’ उनले भने । कोरोनाको दुवै खोप पूरा गरेकाहरूलाई पहेँलो कार्ड दिइएको छ । यसै कार्डअनुसार उनीहरूले कोरोनाको नियम पालना गर्नुपर्ने हुन्छ ।