१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७५ पौष ५ बिहीबार ०६:१६:००
Read Time : > 1 मिनेट
खेलकुद

बल टेम्परिङ विवादपछि अस्ट्रेलियाको पहिलो जित

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष ५ बिहीबार ०६:१६:००

अस्ट्रेलियाले गत मार्चमा दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको टेस्ट सिरिजपछि पहिलोपटक जित आत्मसात् गरेको छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ विवादमा फसेयताको अस्ट्रेलियाको यो पहिलो जित हो । पर्थमा भएको दोस्रो टेस्टमा घरेलु टोलीले भारतलाई १ सय ४६ रनको फराकिलो अन्तरले पराजित गर्दै ४ खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ ।

मार्चमा भएको केपटाउन टेस्टपछि अस्टे«लियाले योसहित कुल पाँच खेल खेलेको छ, जसमा तीन खेलमा हार बेहोर्दा एक खेल बराबरी भएको छ । बल टेम्परिङपछि तत्कालीन कप्तान स्टिभ स्मिथ र स्टार डेभिड वार्नर एक वर्षको प्रतिबन्ध झेलिरहेका छन् भने क्यामरुन बेनक्राफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाइएको थियो ।

कोहलीको शतकमा भारत निरन्तर जितविहीन
अस्ट्रेलियामा भारतीय कप्तान विराट कोहलीले दोस्रो टेस्टमा शतक प्रहार गरे । तर, उनको शतक फेरि पनि टिमको जितका लागि भने अपर्याप्त रह्यो । विराटले अस्ट्रेलियामा पाँच शतक प्रहार गरेका छन्, तर उनले शतक हानेको कुनै पनि खेल भारतले जित्न सकेको छैन । दोस्रो टेस्ट जित्नका लागि भारतलाई २ सय ८७ रनको लक्ष्य थियो । तर, भारतीय टिम १ सय ४० रनमै समेटियो । कप्तान विराट कोहलीले पहिलो इनिङमा १ सय २३ रन बनाएका थिए ।

विराटले अस्ट्रेलियामा पाँच खेलमा शतक हान्दा तीन खेलमा भारत पराजित भएको छ भने दुई खेल बराबरी भएको छ । उनले २०१४ मा सर्वाधिक तीन शतक प्रहार गरेका थिए । अस्ट्रेलियन भूमिमा कोहलीले पहिलोपटक २०१२ मा पर्थमै शतक प्रहार गरे । तर, उक्त खेल भारतले २ सय ९८ रनले हारेको थियो । २०१४ मा तीन शतक प्रहार गरे पनि भारतले १ खेलमा पराजय व्यहोर्दा अन्य दुईमा बराबरीमा चित्त बुझायो ।  

पेनको कप्तानीमा पहिलो जित
अस्ट्रेलियाले पहिलोपटक टिम पेनको कप्तानीमा टेस्ट खेलमा जित निकालेको छ । उसले पछिल्लो जित दक्षिण अफ्रिकाविरुद्ध डरबनमा निकालेको थियो । भारतविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले एडिलेडमा ३१ रनले खेल गुमाएको थियो । 

बल टेम्परिङ विवादपछि अस्ट्रेलिया दक्षिण अफ्रिकाविरुद्ध जोहनसबर्ग टेस्टमा पराजित भएको थियो । त्यसपछि अस्ट्रेलियाले पाकिस्तानविरुद्ध दुबईमा टेस्ट सिरिज खेलेको थियो, जहाँ पहिलो टेस्ट बराबरी भएको थियो । 

यो वर्ष अस्ट्रेलियाले अहिलेसम्म ९ टेस्ट खेल खेलेको छ, जसमा उसले तीनमा जित पाँचमा हार र  एकमा बराबरी नतिजा निकालेको छ । यो अवधिमा उसको सक्सेस रेट ३७.५ प्रतिशत छ । टेम्परिङ विवादपछि उसको सक्सेस रेट २५ प्रतिशत मात्र छ ।

के हो टेम्परिङ विवाद ?
केपटाउनमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल घोट्दा लामो समय लगाएपछि अम्पायरलाई शंका भएको थियो । जसका कारण अम्पायरले क्यामरुन बेनक्राफ्टसँग सोधपुछ गरेका थिए । अम्पायरले टिभी क्यामराको सहारामा थप नियाल्दा बेनक्राफ्टले अन्डरवेयरमा पहेँलो रङको टेप लुकाएर मैदानमा लगेका थिए र त्यसैले बल घोटेका थिए ।

विवादपछि स्मिथ र बेनक्राफ्टले प्रेस कन्फ्रेन्स गरेका थिए । जसमा दुवैले टेम्परिङलाई स्वीकार गरेका थिए । क्रिकेट अस्ट्रेलियाले यो घटनाको छुट्टै अनुसन्धान गर्दै बेनक्राफ्ट र स्मिथसँगै वार्नरलाई पनि दोषी मान्दै सजाय सुनाएको थियो । उक्त घटनापछि प्रशिक्षक डेरन लाहमेनले पनि राजीनामा दिएका थिए ।