मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ९ बिहीबार १०:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीमा कोरोना देखिएपछि धनकुटाका विद्यालय नौ दिनका लागि बन्द 

Read Time : < 1 मिनेट
२०७८ बैशाख ९ बिहीबार १०:१३:००

विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था नौ दिनका लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले बिहीबारबाट १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

धनकुटा नगरपालिका– ६ स्थित धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।

उनमा ज्वरोसहित निमोनिया पनि देखिएको छ । उनी अध्ययनरत कलेजमा एक दर्जनभन्दा बढी विद्यार्थीलाई ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएका छन् । यसरी विद्यार्थीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेजले सूचना जारी गरी बुधबार नै अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरेपछि लक्षण देखिएका सम्पूर्ण विद्यार्थीको पिसिआर परीक्षण सुरु गरिएको छ ।

धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिका सिसिएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न आह्वान गरेका छन् । भर्चुअल वा वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुँदै आएका परीक्षा भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सञ्चालन गर्न भनिएको छ ।