मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमिता सिंह
२०७८ बैशाख ९ बिहीबार ०९:०६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रणहुंकार हैन ‘जय श्री राम’

Read Time : > 4 मिनेट
अमिता सिंह
२०७८ बैशाख ९ बिहीबार ०९:०६:००

रामायणको यथार्थ भावना र चरित्रलाई राजनीतिक उद्योगले धेरै नराम्रोसँग क्षतविक्षत पारिदिएको छ, यसले पुरुष वर्चस्व, सैन्यकृत अनुयायीलाई बढावा दिन्छ

हिजोआज ‘जय श्री राम’को जोसिलो अभिवादन उत्तेजक युद्धनादको रूपमा सुनिन थालिएको छ । यस्तो किन भइरहेको छ ? के यसले ‘रामायण’ र ‘भगवान् राम’ को मूलभावलाई सम्मान गर्छ ? एउटा अपार्थिव आत्मा, जसलाई सन् १९४७ देखि नै एक बन्द बोतलभित्र थुनिएर राखिएको थियो, हिजोआज त्यसलाई उन्मुक्ति दिन खोजिएको जस्तो छ । हालसालै घटेको एउटा चिन्ताजनक घटना, जसले दिल्ली महानगर क्षेत्रको बासिन्दालाई हायलकायल बनाइछाड्यो । घटनाले सार्वजनिक स्थलमा हुर्किंदै गरेको शक्तिस्वरूप प्रकट गर्छ । 

६ अप्रिल २०२१ तारिखका दिन गुरुग्रामको नाथुपुर बजारमा साधुको भेष धारण गरेका अन्दाजी ३० वर्षका तीन युवा कानै फुट्ने गरी ‘जय श्री राम’को नारा रणहुंकार गर्दै पसल–पसलमा पैसा मागिरहेका थिए । त्यसैक्रममा एउटा पसलेले ‘जय सिया राम’ भनेर अभिवादन फर्काउँदा, आश्चर्यपूर्ण ढंगले साधुहरू धेरै क्रोधित भई ‘जय श्री राम’ भनी जोडले कराए अनि ‘जय सिया राम’ भन्नु गलत हो भनी झपारे पनि । त्यसपछि त्यहाँ हल्का घम्साघम्सीको अवस्था सिर्जना भयो र अन्त्यमा पसलेहरूको सामूहिक प्रतिकारपछि ती उपद्रवी ज्यादा, साधु कम देखिने मनुवाहरू भागे । यो सामुदायिक हाट एउटा अन्तःस्थापित मानक आदान–प्रदान गर्ने सांस्कृतिक स्थल हो, जसले अत्यन्तै मौलिक राष्ट्रिय प्रवृत्ति प्रदर्शित गर्छ । 

‘जय श्री राम’को नारा अहिले अधिकांश भारतीयका लागि एउटा रहस्य भएको छ । किनकि, यसको अन्तरवस्तु र भावना एक–अर्कासँग फिटिक्कै मेल खा“दैन । अब प्रश्न उठ्छ, यस्तो विभाजनको बिउ कसले र किन रोप्न खोजेको हो ? स्तम्भकारहरू अक्सर गरेर निषेधित (सबै कुरा लेख्न सकिँदैन) र परित्यक्त (प्रत्येक कुरालाई नजरअन्दाज गर्न सकिँदैन) बीच सन्तुलन स्थापित गर्न अत्यन्तै कठिन कार्यको सामना गर्छन् । साथै, आफ्नो विषयवस्तुप्रति उनीहरूको लघु निकटताको संसार ध्यान, विचार साथै यहाँसम्म कि पुनरुत्थानको पर्खाइमा बसेका न्याय चाहनेस“ग समागम भएको छ । वास्तवमा ‘श्री राम’ भगवान्को एक अवतार हुनुहुन्छ र वहाँलाई एक श्रद्धेय दिव्य देवताको रूपमा पूजा गरिन्छ । 

विडम्बना ! अहिले भारतीय राजनीतिको मौजुदा वितरण प्रणालीले ‘श्री राम’लाई एक प्रतिष्ठित सार्वजनिक वितरणका लागि आवश्यक छिद्रयुक्त थैलीमा परिवर्तन गरिदिएको प्रतीत हुन्छ । अयोध्यादेखि चित्रकुट, चित्रकुटदेखि रामेश्वरमको तटसम्मको पवित्र भूमिमा बसिरहेको सभ्य समाजले पाँचौँ शताब्दी इसापूर्वमा रचित महाकाव्य, रामायणमा उल्लेखित ‘देव उपदेश’ सहिष्णुता, सहनशीलता र नम्रताको खोजीमा ‘जय सिया राम’ को नारालाई नित्य रूपले गुञ्जयमान गरिरहेको हुन्छ ।
अयोध्याको भूमिपूजन समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘जय श्री राम’को सट्टा ‘जय सिया राम’कै नारा शंखनाद गरेका थिए । माता जानकी अथवा ‘सिया’ ‘भूमि’को प्रतिनिधित्व गर्नुहुन्थ्यो र रामायणमा उहा“को केन्द्रीय भूमिका थियो भन्ने तथ्यलाई स्वीकार गर्दै प्रधानमन्त्री स्वयंले ‘जय सिया राम’को नारालाई गुञ्जायमान गराएका थिए । त्यस समारोहलाई सम्बोधन गर्ने क्रममा दिएको उनको भाषणले रामको जीवन सम्मानित बनाउनका लागि माता जानकी अथवा ‘सिया’ले खेल्नुभएको भूमिका उदारतापूर्वक स्विकारिएको छ । माता ‘सिया’को भक्ति, समर्पण र विश्वासलाई नैतिक शक्तिको उदाहरणको रूपमा चित्रण गर्दै वास्तवमा उहा“ले रामायणका अरू पात्रहरू भरतदेखि अहिल्या, केवट, सब्री, सुग्रिव, विभीषण र अन्तमा रावणलाई युद्धमा मार्नुभन्दा अगाडिको उनको चरित्रसमेतलाई एकमुष्ट उजागर गर्नुभएको थियो ।

 

प्रेम सबमा निहित हुन्छ र यो नै रामायणको मूल सन्देश हो, जुन ‘जय सिया राम’को न्यानो सामुदायिक अभिवादनमा अन्तर्निहित छ । मोदीजीको त्यो भाषण सुन्नेहरूले सामाजिक सम्बन्धहरूमा निहित प्रेम र सद्भावका लागि मंगलाचरणको अनुभव गरे, जुन सन् १९८४ देखि अस्वाभाविक रूपले तनावपूर्ण एवं विकृत भएको थियो । यद्यपि, यो कुरामा जो–कोही पनि सहमत हुन सक्छ कि विनाकुनै ‘आदर्श’ कुनै पनि सामग्री वा त्यसको अर्थपूर्ण प्रयोग हुन सक्दैन, विशेषगरी ‘जय श्री राम’ वा ‘जय सिया राम’ जस्तो सौम्य सामाजिक अभिवादनलाई भड्काउ नाराको रूपमा प्रयोग गर्दा त्यसभित्रको अन्तर्निहित आदर्शलाई बुझ्न जरुरी हुन्छ । 

‘जय सिया राम’को नारा गुञ्जयमान गराएर माता जानकीको भूमिका स्वीकार गर्दा मोदीजी आफ्नो ठाउँमा सही हुनुहुन्थ्यो । तर, वहाँकै अनुयायीहरूले ‘जय श्री राम’को रणहुंकार गर्दा किन माताको मूर्त रूपलाई ओझेल पार्ने काम गर्छन् ? ‘जय श्री राम’ नाराको एउटा छुट्टै अतीत छ । यस नाराको प्रयोग प्रायः त्यस्तो भड्काउ विचार र उत्तजेक कार्य–प्राप्तिको उद्देश्यले गरिन्थ्यो, जुन कानुनी रूपले अमान्य, समाजिक रूपले वैमनस्यता उत्पन्न गर्ने र प्रशासनले अनुमति प्रदान नगर्ने खालको हुन्थ्यो । यो नाराले सैन्य अजेयताको भाव झल्काउँछ । यो ‘अल्लाह हु अकबर’को नक्कल गर्ने खालको धम्कीपूर्ण, समाजमा विभाजन उत्पन्न गराउने कर्कश, पापी, अपराधी र कट्टरपन्थीहरूको उपद्रो–उत्पात मच्चाउने षड्यन्त्रलाई टेवा पुर्‍याउने खालको छ । 

विगतमा यस नाराको प्रयोग समाजलाई पवित्र गर्ने नाममा सामजिक कुप्रथा र रूढिवादी परम्पराको महिमामण्डन गर्न प्रयोग गरिन्थ्यो, उदाहरणका लागि ‘सती’ प्रथाजस्तो भयानक कुप्रथा । सन् १८७१ मा दायर एउटा मुद्दाले यस नाराको मूल सम्बन्धलाई स्पष्ट तरिकाले बुझ्न मद्दत गर्छ । रानीविरुद्ध मोहित पाण्डेसहित अन्य (१८७१) मा दायर भएको मुद्दाअनुसार रानीलाई उनको मृत श्रीमान्को परिवारजनको चाहनाअनुसार ‘सती’ जान तयार पारिएको थियो । जब रानी चितातर्फ बढिन्, सौतेलो छोराहरूले उनलाई पछ्याउँदै पछाडिबाट वातावरण कोलाहलपूर्ण बनाउन ‘जय श्री राम’को नारा लगाउन थाले । उनीहरूका लागि एउटा महिलाको जीवनभन्दा त्यो शक्तिशाली धार्मिक विषाद ठूलो थियो र सायद उनीहरूलाई लाग्यो होला, रानीले चितानजिक पुगेपछि आफ्नो मन बदल्न सक्छिन् । 

जब घमण्डी अनि आत्मउत्तेजकजस्ता षड्यन्त्रकारीहरू कुनै पवित्र भनाउँदो अपराधी संगठनको मोहरा बन्छन्, अनि यस्ता नाराले उनीहरूको मस्तिष्कलाई दूषित बनाइदिन्छ । एउटा महिलालाई उसको मृत पतिसँग चितामा जलाउने जघन्य आपराधिक कार्यबाट प्राप्त प्रमाणहरूले के देखाउँछ भने सामूहिक अभिव्यक्ति र सक्रिय उत्तेजनात्मक सहयोगले आत्मदाहका लागि तयार भएका महिलालाई यो कदम उचित नै हो भनी सोच्न मद्दत गर्छ । त्यसकारण यस कार्यले के प्रमाणित गर्छ भने त्यस बखतमा उत्तेजनात्मक नारा लगाउनु भनेको ‘सती’ जान प्रेरित गर्ने षड्यन्त्र हो र कानुनी अपराध पनि । 

उक्त मुद्दामा गाजीपुरका जिल्ला न्यायाधीश, एसएन मार्टिनले आरोपित अभियुक्तले रानीलाई आत्मदाह गर्न दुस्प्रेरित गरेको भनी ठहर गर्दै भारतीय दण्डसंहिताको धारा ३०६ अनुसार पाँच वर्ष कठोर कारावासको फैसला गरेको थियो ।

समग्रमा हेर्ने हो भने यसले रामायणको यथार्थ भावना र चरित्रलाई राजनीतिक उद्योगले धेरै नराम्रोसँग क्षतविक्षत पारिदिएको छ । यसले पुरुष वर्चस्व, सैन्यकृत अनुयायीहरू र उत्तेजक संवादलाई बढावा दिन्छ । वास्तवमा काशी (हाल वाराणसी) प्रवासको अन्तिम वर्षहरूमा आचार्य तुलसीदासले के उल्लेख गर्नुभएको छ भने बेइमान पण्डित र बदमासहरूले भगवान् ‘राम’को मानवीय स्वरूपको कल्पनामाथि दुर्भावना, घृणा, र साम्प्रदायिक भावना फैलाएका थिए । रामचरित्रमानसमा उहाँले त्यस्तो उपद्रवीका बारेमा यस्तो श्लोक लेख्नुभएको छ– 
ह्ँसी हही क्रूर कूटिल कवि कारी । 
जे पर दुसना भुसना धारी ।। 

पछि ती ढोंगी पण्डितले तुलसीदासको खुट्टा ढोगेर माफी मागे र विश्वनाथ मन्दिरमा गएर प्रायश्चित गरे । तर, यस्ता बाहुबली जोगीहरूलाई के भन्ने, जसले आक्रामकता, हिंसा, घृणा र आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न ‘जय श्री राम’को नारालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र अन्ततः भगवान् रामको नामलाई बदनाम गरिरहेका छन् । के रामको न्यायसभाले उनीहरूलाई पश्चाताप गर्न कहिल्यै अवसर दिन्छ ? अथवा, सुप्रसिद्ध उर्दू कवि जौकले भने जस्तै– 
चरख पर बैठ रहा जान बचा कर इसा,
हो सका जब ना मुदाबा मेरे बिमार का 

(हजरत इसालाई परमेश्वरको सन्देशवाहकको रूपमा धार्मिक मार्गबाट भड्केका मानिसलाई सुधार्न पृथ्वीमा पठाइएको थियो, तर उहाँ छिटै निराश भए र फेरि स्वर्गमा शरण लिन पुग्नुभयो)

(जवाहरलाल नेहरू विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक सिंहको लेख उनकै विद्यार्थी डा. राजेश सिंहले अनुवाद गरेका हुन्)