मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. रेवतबहादुर कार्की
२०७८ बैशाख ९ बिहीबार १०:१५:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सामाजिक संस्कारमा सुधार अपरिहार्य

अग्रलेख

Read Time : > 5 मिनेट
डा. रेवतबहादुर कार्की
२०७८ बैशाख ९ बिहीबार १०:१५:००

सामाजिक संस्कारलाई जगेर्ना गर्न समयानुकूल परिमार्जन गर्दै जानु आवश्यक छ भने संस्कारलाई मितव्ययी पनि बनाइनुपर्छ 

एकजना दरबारिया पुरोहितको केहीअघि मृत्यु भएपछि मृतकका अमेरिकावासी दुई छोरा काठमाडौं आई दाहसंस्कार त गरे, तर व्यस्तताले गर्दा १३ दिन लामो मुत्यु संस्कारमा सहभागी हुन नसक्ने भए । तीन दिन मात्र किरिया बसेर भाडाको बाहुनलाई १३ दिने कर्मको जिम्मा लगाई अमेरिका फर्किए । तनहुँको गाउँमा बाबुको मृत्यु भएपछि किरियामा बसिरहेका मधुमेह र उच्च रक्तचापका छोरा भात, चिनी र घिउ खान बाध्य हुँदा चौथो दिनमै मुत्यु भएको खबर सञ्चारमाध्यममा आएको थियो । प्रसिद्ध चिकित्सक डा. उपेन्द्र देवकोटाको मृत्युपछि पत्नी र तीन छोरीले दाहसंस्कारसहित सातदिने किरिया गरे । गौतम, पोखरेल, कार्की आदि समाज–परिवारले पाँचदिने मुत्यु संस्कार अपनाउन थालेको सुनिन्छ ।

मैले नै ८६ वर्षकी आमाको स्वर्गवासमा ओखलढुंगा मुडुला कार्की समाज र ८७ वर्षका बुबासमेतको स्वीकृतिमा पाँच दिनमा काजकिरिया सम्पन्न गरेँ, जसलाई आफ्नै ज्वाइँले बहिष्कार गरेको ताजै छ । एक मित्रले छोराको अपर्झट बिहा गर्नुपर्दा परम्परागत बिहा नहुने कात्तिकमा ब्रतबन्धकै मण्डपमै ब्रतबन्धसँगै बिहासमेत गरिदिएको पनि देखिएको हो । हालै एक ८० वर्षीय ज्येष्ठ नागरिकका छोरा र नाति–नातिनाले ‘वर्थडे क्याप’ लगाई केक काटेर मैनबत्ती निभाई जन्मोत्सव मनाएको फेसबुकमा हालै देखियो । यस्तै बच्चाबच्ची जन्मिँदा ११ दिने सुतक नमानी यसलाई उत्सव/शुभको रूपमा लिई शुभकार्य गरेको देखिन–सुनिन थालेको छ । 

हाम्रो सामाजिक संस्कारमा यस्ता परिवर्तन र केही विकृतिका यी प्रतिनिधि उदाहरण हुन् । विश्वमा मानवप्राणीले आ–आफ्नो समाज, जाति र धर्मअनुसार जन्मदेखि मरणसम्म विभिन्न संस्कार गर्दै आएका छन् । नेपालमा सनातन धर्मावलम्बीका अनुसार जन्मदेखि मृत्यसम्म अपनाउने १६ संस्कारमा केही परिमार्जन नभई लोप भए, केही समयअनुसार परिमार्जन हुँदै गएका छन् । यीमध्ये मृत्यु संस्कार सबभन्दा महत्वपूर्ण रहँदै आएको छ । वैदिक युगमा शरीर विसर्जन गरेर स्नानादि गरी हवनकार्य गरेपछि त्यसै दिन अन्त्येष्टि पूरा हुने तथ्य प्राचीन वाङ्मयको आधारमा वेदका परमज्ञाता दयानन्द सरस्वतीले एक दिनमा सिध्याउने नियम बसाएका थिए भनिन्छ । 

त्यसपश्चात् सामन्तको निर्देशनअनुरूप मृत्यु संस्कारलाई लम्ब्याउने परम्पराको थालनी भएको मानिन्छ । १३ दिने कर्मकाण्ड धेरै पुरानो होइन । १९९३ सालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले १९१४ मा सुरु भएको ४५ दिने मृत्युसंस्कारलाई तोडेर सामाजिक कानुन बनाई १३ दिने आशौच बार्ने प्रचलन बसाएका हुन् । वैदिक सनातन कर्मकाण्ड महासंघका वरिष्ठ उपाध्यक्ष श्री रामचन्द्र भण्डारीका अनुसार यो संस्कार १३ वर्ष, १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा चलिरहेको भनिएको छ । 

बितेको ८४ वर्षदेखि चलिआएको यो १३ दिने संस्कार अहिलेको समय, परिस्थिति, जीवनशैली र विकासक्रमअनुसार लामो, बोझिलो, खर्चिलो, स्वास्थ्य प्रतिकूल, अव्याहारिक र असामयिक देखिएकाले ०७० सालको दशकको सुरुदेखि नै यसलाई सरल, छोटो र किफायती हुने गरी छोट्याई संस्कार बचाउन बहस सुरु भएको छ । अर्कोतर्फ यसलाई ३, ५ र ७ दिनमा छोट्याई सुधार गर्दै लगेको पाइन्छ । यसै क्रममा ०७२ सालमा स्थापित संस्कार सुधार समाजबाट प्रकाशित ‘पाँचदिने अन्त्य पद्धति, २०७३’ पुस्तकमा दिइएको विवरणअनुसार काठमाडौं, बर्दिया, गोरखा, खोटाङ, चितवन, पाल्पा, ओखलढुंगा, उदयपुर, मोरङ, तेह्रथुम, सिन्धुपाल्चोक, ताप्लेजुङसहित १२ भन्दा बढी जिल्लामा राजनीतिज्ञ वामदेव गौतम, साहित्यकार मोदनाथ प्रश्रितसहित देवकोटा, पोखरेल, थापा, कार्की, पन्त, विष्ट, ढकाल, बुढा क्षेत्री, परियार, गुरागाईं, खड्का, दाहाल, नेपाल आदि ३० भन्दा बढी साहसिक समाज–परिवारले १३ दिने संस्कारलाई पाँचदेखि सात दिनमा छोट्याएर अनुकरणीय कार्य गरिसकेका छन् । त्यस्तै प्रसिद्ध हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको पनि पाँचदिने मृत्युसंस्कार सम्पन्न गरिएको थियो ।     

जन्म र मृत्यु प्रकृतिका नियम हुन्, संस्कार–परम्परा भनेको मानवनिर्मित हो । यस्तो संस्कार पालन गर्न कठिन–कष्टकर भई यसमा समयानुसार सुधार नभए लोप भएर जाने मात्र होइन, कठोर संस्कारको हिन्दूधर्म त्यागी अन्य सजिलो धर्मतिर जान पनि बेर लाग्दैन । तसर्थ आफ्नो रीतिथिति र संस्कार बचाउनलाई पनि सरकार तथा समाजका अगुवाले विशेष पहल गर्नु अत्यावश्यक भइसकेको छ । तर, केही कर्मकाण्डीय पुरोहितले यो संस्कारलाई छोट्याएर गर्ने कार्य गैरशास्त्रीय, विधर्मी र आमाबाबुप्रतिको अनादर हो भनी आलोचनासमेत गरिरहेका छन्, जुन विवेकशील र समयानुकूल छैन । यो स्वार्थपूर्ण छ । यस सम्बन्धमा राष्ट्रकवि माधव घिमिरे भन्नुहुन्थ्यो, ‘हाम्रो धर्मशास्त्रको आड लिएर समयसापेक्ष संस्कार छोट्याउनु, विधि घटाउनु, मितव्ययी बनाउनु भनेको विधर्मी हुनु होइन, पाखण्डी हुनु पनि होइन, संस्कार बचाउने अभियान हो ।’ 

कल्पना र विश्वासका आधारमा निर्मित संस्कारलाई चेतनशील मानवले समयानुसार विवेकपूर्ण ढंगले सुधार र परिवर्तन गर्दै लैजानुपर्छ । हाम्रो समाजमा बाबुआमा बाँचुन्जेल सेवा गर्नमा उति वास्ता नगर्ने, तर मरेपछि आडम्बरयुक्त लामो र खर्चिलो संस्कार गरी श्रद्धा देखाउने खराब प्रवृत्ति बढेको छ ।
 

आफ्ना पितृ तर्ने–नतर्ने, मोक्ष हुने–नहुने भन्ने कुरा कसैले देखेको छैन र देख्न पनि सकिँदैन । यो परम्परागत विश्वासलाई कल्पना पनि भन्न सकिन्छ । यस्तो कल्पना र विश्वासको आधारमा निर्मित संस्कारलाई चेतनशील मानवले समयानुसार विवेकपूर्ण ढंगले सुधार–परिवर्तन गर्दै लैजानुपर्छ । हाम्रो समाजमा बाबुआमा बाचुन्जेल श्रद्धा–सेवा गर्नमा उति वास्ता नगर्ने, तर मरेपछि आडम्बरयुक्त लामो र खर्चिलो संस्कार गरी श्रद्धा देखाउने खराब प्रवृत्ति बढेको छ । यसमा राष्ट्रकविज्यूको भनाइ छ, ‘आमाबाबुप्रतिको श्रद्धा र आदरभाव मरेपछि देखाउनुभन्दा जीवित अवस्थामै अनुभूति गराउनुपर्छ । धेरै दिन लगाएर गरिने किरियाकर्ममा स्याबासी र निष्ठापूर्वक छोट्याएर गर्दा घृणा गर्नु बेठिक हो ।’ 

वास्तवमा वैदिक विधिअनुसार तीन दिनमा शुद्धि हुने वेदअनुकूल प्रावधान छ । १९५५ सालमा स्थापित पण्डित माधवराज जोशी, शहिद शुक्रराज शास्त्रीसहितको आर्यसमाजले वैदिक विधिअनुसार तीन दिनमा शुद्धि गर्ने अभियानसमेत चलाएका थिए । केहीअघि नेपाल प्रज्ञा प्रतिष्ठानको संस्कृत समितिले वैदिक विधिका आधारमा तीनदिने मृत्युसंस्कार अपनाउन उपयुक्त हुने सुझाब दिएको स्मरणीय छ । पण्डित रुद्रप्रसाद आचार्य र पारशमणि पोखरेलले तयार गरेको प्रस्तुत पाँचदिने अन्त्य पद्धतिले १३ दिने संस्कारलाई पाँच दिनमा विधि नछोट्याई सरलीकृत गरिएको छ । यसले पास्कर गृहसूत्रको आधारमा पहिलो तीन दिनमा १० पिण्डदानसहित ढिकुरो फुटाउने र चौथो दिनमा ११ औँ दिनको र पाँचौँ दिनमा १२औँ र १३औँ दिनको काम गरी पाँच दिनमा सिद्धिने प्रावधान राखेको छ । 

कर्मकाण्डीय पुरोहितलेसमेत पास्कर गृहसूत्रको आधारमा ८–९ दिनबाट पछिल्लो पाँच दिनमा यही विधिबाट संस्कार समापन गरिरहेका छन् । पछिल्लोलाई अघिल्लोमा सार्नु खासै ठूलो समस्या नै होइन, यस्ता केही पुरोहितले मात्र समस्या देखाएका हुन् । पाँच दिनमा सरलीकरण गर्दा समयसापेक्ष मात्र होइन, धर्मशास्त्रसम्मत पनि छ भनी विद्वान्ले भनिरहेका छन् । नेपाल आर्य समाजका अध्यक्ष कमलाकान्त आत्रेय ‘प्रस्तुत पाँचदिने संस्कारमा विधि नघटाई दिन मात्र घटाइएको, तर अहिलेको समयमा विधि नै घटाएर वैदिक विधिअनुसार तीन दिनमा शुद्धि हुने वेदअनुकूल प्रावधान राख्दा उपयुक्त हुने’ धारणा राख्नुहुन्छ । जुन अझ सामयिक र व्यावहारिक छ । 

त्यस्तै गरेर पहिरनको सम्बन्धमा पनि पत्नी र किरियापुत्रीले मृत्युसंस्कारपछि बरखीसम्म लाउने परम्परागत सेतो पहिरनलाई स्वेच्छिक गर्ने र आहारविहारका बारेमा किरिया बस्दा र बरखी बार्दा आफ्नो स्वास्थ्य तथा रोगलाई दृष्टिगत गरी खान्कीको व्यवस्था गर्नु आवश्यक देखिन्छ । दानदक्षिणालाई जिन्सीको सट्टा दाता र प्राप्तकर्तालाई पनि सहज हुने गरी परम्परागत व्यवस्थामा सुधार्नुपर्छ । यसमा सरकारले पनि तीन वा पाँच दिनमा यस्तो मृत्युसंस्कार स्वेच्छिक अपनाउन सक्नेसमेत व्यवस्था गर्नु पनि आवश्यक भइसकेको छ । मुख्यतः मृत्यु संस्कारलाई यसरी प्रतिबद्ध रूपमा सुधार गर्न सके समय र साधनको सदुपयोग हुने, सहजता आउने र धार्मिक जडतासमेत स्वतः हटी व्यक्ति, समाज र देशको सामाजिक सुधारमा समेत सहयोग पुग्ने देखिन्छ । 

यस्तै संस्कार परिवर्तन र सुधार गर्ने क्रममै दुई दिनको सट्टा एकदिने विवाह तथा सामूहिक वा मन्दिरमा ब्रतबन्ध गर्ने चलन बढ्दै गएको छ । बच्चाबच्ची जन्मिँदा ११ दिने सुतकलाई दाजुभाइले नमानी उत्सवको रूपमा लिने र सम्बन्धित घरले मात्र स्वेच्छिक रूपमा सुतक बार्ने बढ्दै गएको छ । अनौपचारिक रूपमा स्थापित यो चलनलाई पनि औपचारिकता दिनु जरुरी छ । खासगरी जन्मोत्सवमा पूजाआजा गर्ने हाम्रो परम्परालाई हामीले नै बिर्सेर पश्चिमी सभ्यताको नक्कल गरी केक काट्ने र मैनबत्ती निभाएर (बत्ती निभाउनु हाम्रो चलनअनुसार शुभ होइन) मनाउने प्रचलन स्थापित हुने र हाम्रो जन्मोत्सव संस्कार लोपोन्मुख हुनु चिन्ताजनक छ । 

अर्कोतर्फ यस्ता विवाह, ब्रतबन्ध, वैवाहिक वर्षगाँठ, पास्नीलाई भव्य भोजसहित मनाउने चलन हाम्रो जस्तो न्यून आय भएको मुलुकका लागि भड्किलो खर्च हो, उपयुक्त छैन । तसर्थ एकातर्फ विदेशी संस्कारको प्रभावमा नपरी आफ्नो सामाजिक संस्कारलाई जगेर्ना गर्न समयानकूल सुधार र परिमार्जन गर्दै जानु आवश्यक छ भने अर्कोतर्फ यस्ता संस्कारलाई मितव्ययी बनाई सामाजिक सेवा, लगानी र विकासलाई समेत ख्याल गर्नुपर्छ । यसको सुधारमा हाल निष्क्रिय रहेको सामाजिक व्यवहार सुधार ऐन ०३३ लाई सरकारले समसामयिक बनाई कडाइसाथ लागू गर्नु आवश्यक छ । यसो गर्न सकेमा सामाजिक संस्कारमा आएको विकृति नियन्त्रण हुने र भ्रष्टाचार गर्ने प्रवृत्तिसमेत कम भई मुलुकको विकासमा समेत सहयोग हुनेछ ।

(अर्थविद् डा. कार्की संस्कार सुधार समाजका सदस्य हुन्)