मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ८ बुधबार १२:१८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा माओवादी केन्द्र निरन्तर सरकारविरुद्ध, अष्टलक्ष्मी भन्छिन्- कर्णालीकै स्थिति पैदा हुन सक्छ

Read Time : > 2 मिनेट
२०७८ बैशाख ८ बुधबार १२:१८:००

 तत्कालीन नेकपाभित्रका फरक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किएपछि बागमती प्रदेशमा प्रमुख प्रतिपक्ष बनेको माओवादी केन्द्र निरन्तर सरकारविरुद्ध लागिपरेको छ ।

नेकपा एक हुँदा नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष रहेको बागमतीमा माओवादी केन्द्र पूर्ववत् रूपमै फर्किएपछि कांग्रेस विपक्षी दलमै सीमित रहेको छ । कांग्रेसभन्दा एक सांसद बढी रहेका कारण माओवादी केन्द्र बागमतीमा प्रमुख प्रतिपक्ष भएको हो । सरकारबाट समर्थन फिर्ता लिँदै प्रमुख प्रतिपक्ष बनेको माओवादी केन्द्रले सरकारविरुद्ध निरन्तर मोर्चाबन्दी गरिरहेको छ ।

प्रदेश सभा बैठकमा सरकारविरुद्ध उत्रिएको माओवादी केन्द्रको एजेन्डालाई विपक्षी दलहरूले साथ दिँदा लगातार चारपटक संसद अवरुद्ध भएको थियो । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि २ वैशाखमा बोलाइएको बैठक पनि माओवादी केन्द्रले अघि बढ्न दिएन । 

विद्युतीय बस खरिद प्रक्रिया, मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय, आर्थिक वर्षको अन्त्यमा आफूखुसी सरकारले बजेट वितरण गरेको आरोप लगाउँदै प्रमुख प्रतिक्ष माओवादीले लगातार चारपटक संसद् अवरुद्ध गर्दा विपक्षी कांग्रेस, विवेकशीललगायत साना दलले समर्थन जनाएका थिए ।

बागमतीमा पछिल्लो संसद बैठकका एजेन्डामा प्रमुख प्रतिपक्ष माओवादीले विपक्षी दलहरूलाई पनि आफ्नै कित्तामा उभ्याउन सफल भएको छ । माओवादीले संसद् अवरुद्धका क्रममा उठान गरेको विषयलाई कांग्रेस, विवेकशीललगायत दलले साथ दिइरहेका छन् । सरकार संसदमा जिम्मेवार ढंगबाट प्रस्तुत नभएको माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आरोप लगाए । उनले सहमति, सहकार्य र एकता भन्ने व्यवहारमा एकलौटी रूपमा सरकार अगाडि बढिरहेको बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकार एकपक्षीय रूपमा अघि बढ्न खोजेको बताए । उनले सरकार र सत्ता पक्षकाहरू आर्थिक आर्जनमा लागेको आरोप लगाउँदै सरकारको प्राथमिकता र जनताका लागि सरकारले गर्ने कामको विषयमा स्पष्ट हुन जरुरी रहेको दाबी गरे ।

नेकपा एमाले माधव नेपाल समूहकी नेत्री अष्टलक्ष्मी शाक्यले आफूहरू सत्तापक्षभित्रको प्रतिपक्ष भएकाले सरकारको विरोध गर्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । ‘केपी ओलीको नक्कल प्रदेशमा डोरमणिले देखाएका छन्,’ उनले भनिन्, ‘हामी सहन सक्ने अवस्थामै छैनौँ ।’ नेत्री शाक्यले प्रतिपक्ष एकजुट हुँदा अब आफूहरूले पनि कर्णालीकै स्थिति पैदा गर्नु अवस्था सिर्जना हुने चेतावनी दिइन् । ‘अपमान सहेर बस्न सकिँदैन, कर्णालीको स्थिति आउन बेर छैन,’ उनले भनिन् । उनले आफूहरू सत्तापक्षभित्रको प्रतिपक्ष भएकोले केन्द्रीय राजनीतिक स्थितिले प्रदेशमा प्रभाव पार्ने बताइन् ।

सर्वदलीय बैठक बहिष्कार
 बागमती प्रदेश सरकारविरुद्ध मोर्चाबन्दी गर्दै एउटै कित्तामा उभिएका प्रतिपक्ष दलहरूले मुख्यमन्त्री डोरमणि पौडेलले आह्वान गरेको सर्वदलीय बैठकसमेत बहिष्कार गरेका छन् । प्रतिपक्षी दलहरुले सोमबार मुख्यमन्त्री पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बहिष्कार गरेका हुन् । उनीहरूले सर्वदलीय बैठक बहिष्कार गरेर आफूहरू सरकारविरुद्धको मोर्चाबन्दीमा रहेको प्रस्ट पारेका छन् ।

सोमबार ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले बहिष्कार गरेका हुन् । बैठकमा सत्तापक्षका मुख्यमन्त्री पौडेलसहित आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, मुख्य सचेतक केशवराज पाण्डे, विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझी, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईं सहभागी भएका थिए ।

आफूहरूले उठाएको विषयमा वैठकमा छलफल नै नहुने भएपछि सहभागी नभएको माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए । सरकारविरुद्ध प्रतिपक्षीहरू एक भएर लाग्नुको विकल्प नभएको उनको दाबी छ । माओवादी केन्द्र बैठकमा सहभागी नहुने भएपछि आफूहरू पनि सहभागी नभएको कांग्रेस सांसद छिरिङ दोर्जे लामाले बताए । 

विवेकशीलले आधिकारिक रूपमा मुख्यमन्त्रीबाट खबर नआएको र एजेन्डाबारे जानकारी नै नगराएका कारण बैठकमा सहभागी नभएको सांसद रमेश पौड्यालले बताए । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक केशवराज पाण्डेले बैठकमा सदनको अवरोध खुलाउने, कोभिड– १९, नियन्त्रण र रोकथाम तथा आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको जानकारी दिए । 

एमाले नेपाल समूहलाई बोलाइएन
सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले राखेको सर्वदलीय बैठकमा एमाले माधव नेपाल समूहलाई बोलाइएको थिएन । 

प्रमुख प्रतिपक्ष र विपक्षी दलहरू सबैलाई बोलाइएको बैठकमा पौडेलले आफ्नै दलका नेताहरूलाई जानकारी नै गराएका थिएनन् । बैठकमा नेकपा एमालेका माधव नेपाल समूहका नेताहरूलाई समेत बोलाइएको थिएन ।