मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी काबुल
२०७८ बैशाख ८ बुधबार १०:१६:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

त्रासबीच अफगानी युवायुवती उच्च शिक्षातर्फ आकर्षित

Read Time : > 2 मिनेट
एजेन्सी काबुल
२०७८ बैशाख ८ बुधबार १०:१६:००

डेढ वर्षअघि अफगानिस्तानको काबुलस्थित नाबुद एकेडेमी ट्युसन सेन्टरमा आत्मघाती बम विस्फोट भएको थियो । बम विस्फोटनमा ट्युसन सेन्टरमा अध्ययनरत ४० विद्यार्थीको निधन भयो । यहाँ पढ्ने अधिकांश विद्यार्थी हजारा समुदायका थिए । हजारा समुदायका विद्यार्थी प्रवेश परीक्षा तयारीमा ट्युसन सेन्टरमा पढ्न आउँथे । ४० जनाको माथिल्लो तह अध्ययन गर्ने सपना आत्मघाती विस्फोटनमै विलय भयो । 

घटनामा जीवित नाजिबुल्लाह सुसेफी डेढ वर्षअघिको दिन सम्झना कहालीलाग्दो भएको बताउँछन् । विगतको सम्झना भुलाउँदै हजारा समुदायका विद्यार्थी फेरि ट्युसन सेन्टरमा आउने जानकारी दिँदा उनी दंग परेका छन् । ‘सबै त्रसित छन्, घाउ निको पार्दै हजारा समुदायका विद्यार्थी बिस्तारै ट्युसन सेन्टरमा आउन थालेका छन्,’ उनले भने, ‘उनीहरूको मनभित्र फेरि विस्फोट पर्ने होइन भन्ने डर यथावत् नै छ ।’ 

अफगानिस्तानमा तालिबान आतंककारी समूहले हजारा समुदायमाथि लक्षित गरी आक्रमण गरेको नाजिबुल्लाहको अनुभव छ । ‘डाटा हे¥यौँ भने तालिबानले हजारा समुदायमाथि अत्याचार गरेको देखिन्छ, वास्तवमा यो समुदाय तालिबानको मारमा परेको छ ।’ पछिल्लो समय यस समुदायका युवायुवती कलेज आउन थालेका छन् । 

ती युवायुवती अफगानिस्तानमै उच्च शिक्षा हासिल गर्न चाहन्छन् । ‘मनभित्रको डर हटाउँदै उनीहरू कलेजतिर आकर्षित भइरहेका छन्, आफ्नै देशमा उच्च शिक्षा हासिल गर्ने मनसायका साथ कलेजमा भर्ना भइरहेका छन्,’ उनले भने । १८ वर्षीया छात्रा मर्जिना मोहसेनीले सेनाको सुरक्षाकै कारण आफूहरू अध्ययन गर्न आएको बताइन् । 

‘यदि तालिबानले आक्रमण गरे पनि हामी डराउँदैनौँ, हाम्रो पछाडि सेनाले सुरक्षा प्रदान गरिरहेको छ,’ मर्जिनाको भनाइ छ । भविष्यमा मर्जिना वकिल बन्न चाहन्छिन् । मर्जिनाले एउटा लक्ष्य बनाएकी छन् । उनी वकिल बन्ने सपना पूरा गर्न नै कलेज आएकी हुन् । ‘अफगानिस्तानमा कमजोर समुदायको पक्षबाट वकालत गर्ने सपना छ,’ उनले भनिन्, ‘अफगानिस्तानमा सबैलाई समान अधिकार प्रदान गर्न मैले वकिल बन्ने सपना देखेकी हुँ ।’ 

अहिले हजारा परिवारका धेरैजसो युवा होस्टेलमा प्रतिमहिना १५ डलर खर्चंदै बसिरहेका छन् । यही १५ डलरमै उनीहरूले एक महिनासम्म दैनिक पास्ता र भात खाइरहेका छन् । गत वर्षको अक्टोबरमा एक आत्मघाती विस्फोटनमा मोहसेनीले एउटा खुट्टा गुमाइन् । कास्वारमा भएको घटनाका प्रत्यक्षदर्शी मोहसेनीले पुनः अध्ययन गर्न पाउँदा खुसी लागेको बताएकी छन् । भन्छिन्, ‘साथीहरू कलेजमा देखिन पाइएको छ, ऊर्जाका साथ पढ्न पाउँदा अत्यधिक खुसी छु ।’ तर, कक्षामा प्रवेश गरेको प्रत्येक मिनेटमा उनी डेढ वर्षअघिकै घटना सम्झन पुग्छिन् । जतिपटक बिर्सन खोज्दा पनि त्यो आत्मघाती विस्फोट दिमागबाट नहटेको उनको भनाइ छ । 

‘कक्षामा बिताएको प्रत्येक मिनेट आत्मघाती विस्फोटकै झझल्को आइरहन्छ, तर म त्यो घटना बिर्सने प्रयास गरिरहेकी छु,’ उनले भनिन्, ‘घटनामा जति मृत्यु भए, उनीहरूको र मेरो सपना माथिल्लो तहको अध्ययन गर्नु हो ।’ मोहसेनीका बुबा किसान र दाजु सैलुन चलाउँछन् । बुबा र दाजुको कमाइले नै ट्युसन सेन्टरमा फी तिर्ने गरेको महसेनीले बताइन् ।

‘बुबा र दाजुलाई म आफूले सक्दो खुुसी पार्नेछु,’ उनले भनिन् । लगातारजसो आतंककारीले सरकारी कर्मचारी, पत्रकार, मानवअधिकारकर्मी, न्यायाधीश, धर्मगुरु तथा विद्यार्थीलाई निसाना बनाइरहँदा डर कायम नै रहेको मोहसेनीले विश्लेषण गरेकी छन् । गत १४ मार्चमा दुई कार विस्फोटमा पाँच नागरिकको मृत्यु भएको थियो । यस घटनामा १३ जना घाइते भए । मृत्यु हुनेमा दुईजना हजारा समुदायका थिए । यो विस्फोट माउद एकेडेमीअगाडि भएको थियो । 

डयानिस एकेडेमीका शिक्षक अहमेद रहिमीले विद्यार्थीहरू डरबीच अध्ययन गर्न आइरहेको बताएका छन् । भन्छन्, ‘काबुल र यसको आसपासमा हुने विस्फोटका कारण विद्यार्थीमा एक किसिमको डर कायम नै छ, म उनीहरूको अनुहारमा डर देख्न सक्छु ।’

रहिमीसँग पाँच वर्षअघिको एक घटना आलै छ । सन् २०१७ मा एकेडेमीअगाडि नै आत्मघाती विस्फोट भएको थियो । जसमा आक्रमणकारीको मात्र निधन भयो । सबै विद्यार्थी सुरक्षित नै रहे । ‘पाँच वर्षअघि हामी सबै आत्मघाती विस्फोटका साक्षी थियौँ, त्यस दिन हामीहरूको दिन बलियो थियो, यस घटनाले पनि फर्किएका विद्यार्थीमा डर नहटेको जस्तो लाग्छ,’ रहिमीले भने, ‘उनीहरूले धेरै सपना त्यागिसकेका छन्, तर पढाइ भने निरन्तरता दिइरहेका छन् ।’

एक अध्ययनअनुसार मउद एकेडेमीमा विद्यार्थी संख्या घटेको छ । कुनै समयमा चार हजार विद्यार्थी रहेको एकेडेमीमा दुई हजार मात्र अध्ययनरत छन् । जति पनि अध्ययन गर्न आएका छन्, उनीहरूको इच्छा नै अफगानिस्तानमै एक सफल व्यक्ति बन्ने हो । विद्यार्थीको डर हटाउन विभिन्न एकेडेमीले मनोविज्ञान कक्षा पनि सञ्चालन गरिरहेको युसुफले बताए । युसुफ मउद एकेडेमीकै एक शिक्षक हुन् । ‘समय मिलाएर हामी विद्यार्थीलाई आत्मविश्वास बढाउन मनोविज्ञान कक्षा सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘जीवनमा डरको सामना गरी अगाडि बढ्नुपर्ने शिक्षा दिइरहेका छौँ ।’