मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०९:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई दिनको लगातार करेक्सनपछि झिनो अंकले बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार ०९:०९:००

दुई दिनको लगातारको करेक्सनपछि नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेप्से परिसूचक २ दशमलव ६८ अंकले बढेर २ हजार ६ सय ६४ दशमलव ६२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५ अंकले बढेर ४ सय ७९ बिन्दुमा पुगेको छ । झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम भने घटेको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहँदा कारोबार रकम घटेको हो ।

यस दिन धितोपत्र र ऋणपत्र गरी २ सय १६ कम्पनीको १ करोड २३ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुनेमा नागरिक लगानी कोष रहेको छ । कोषको २१ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । बैंकको १९ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, तेस्रोमा नबिल बैंकको १५ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

४ कम्पनीमा सकारात्मक सर्किट
४ कम्पनीको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा युनाइटेड मोदी हाइड्रोपावर, महिला लघुवित्त वित्तीय संस्था रहेको छ । मंगलबार दुवै कम्पनीको १० प्रतिशतले सकारात्मक सर्किट लागेको हो । त्यस्तै, ज्योति लाइफ इस्योरेन्सको ९ दशमलव ९६ प्रतिशतले सकारात्मक सर्किट लागेको छ भने हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ९ दशमलव ८५ प्रतिशतले बढेको छ । 

यस दिन सबैभन्दा धेरै मूल्य घट्नेमा समृद्धि फाइनान्स कम्पनीको सेयर रहेको छ । यस कम्पनीको २ दशमलव ४७ प्रतिशतले घटेर २ सय ३७ रुपैयाँ कायम भएको छ । ओरिएन्टल होटेल २ दशमलव २२ प्रतिशतले घटेर ४ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक २ दशमलव ०४ प्रतिशतले घटेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक सकारात्मक रहेको छ भने ४ समूह–उपसमूहको सूचक नकारात्मक रहेको छ । सबैभन्दा धेरै बढ्ने समूहको सूचकमा डेभलपमेन्ट बैंक समूहको सूचक रहेको छ । यस समूहको सूचक १ दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रोमा जलविद्युत् समूह १ दशमलव २४ प्रतिशतले सकारात्मक रहेको छ ।