मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ८ बुधबार ०८:०७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कुशलको कीर्तिमानी प्रदर्शनका बाबजुद नेपाल पराजित

Read Time : > 3 मिनेट
२०७८ बैशाख ८ बुधबार ०८:०७:००

कुशल अन्तर्राष्ट्रिय टी–२० तर्फ डेब्यु प्रतियोगितामै लगातार तीन अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्

नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेपछि ब्याट उठाउँदै कुशल भुर्तेल । साथमा दीपेन्द्र सिंह ऐरी । तस्बिरः ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

कुशल भुर्तेलको कीर्तिमानी प्रदर्शनका बाबजुद नेपाल त्रिदेशीय शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तीन विकेटले पराजित भएको हो ।

यो पराजयपछि नेपालले फाइनलमा स्थान सुरक्षित गर्न प्रतियोगिताको बाँकी खेलको नतिजा कुर्नुपर्ने भएको छ । बुधबार नेदरल्यान्ड्स र मलेसिया खेल्दै छन् । यो खेलमा मलेसिया पराजित भएको अवस्थामा नेदरल्यान्ड्ससँगै नेपाल प्रतियोगिताको फाइनलमा पुग्नेछ । 

नेदरल्यान्ड्स पराजित भएको अवस्थामा भने फाइनल यात्रा निश्चित गर्न नेपाललाई बिहीबार हुने मलेसियासँगको खेल जित्नुपर्नेछ । दोहोरो राउन्ड रोविन लिग प्रणालीमा जारी प्रतियोगिताको शीर्ष दुई स्थानको टोलीले शनिबार उपाधि भिडन्त गर्नेछन् ।

यो पराजयले प्रारम्भिक ब्याट्सम्यान कुशलको कीर्तिमानी प्रदर्शन ओझेलमा परेको छ । नेरल्यान्ड्सविरुद्ध मंगलबार पनि ६२ रन जोडेका कुशल अन्तर्राष्ट्रिय टी–२० तर्फ डेब्यु प्रतियोगितामै लगातार तीन अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । कुशलले यसअघि गत शनिबार नेदरल्यान्ड्सविरुद्ध नै भएको प्रतियोगिताको उद्घाटन खेलमा पनि ६२ रन जोडेका थिए । त्यसपछि सोमबार मलेसियाविरुद्धको खेलमा अविजित ६१ रन जोडेका थिए । कुशल न्युजिल्यान्ड र वेस्ट इन्डिजका दुई दिग्गज क्रिकेटर ब्रेन्डन म्याककुलम र क्रिस गेलको नाममा संयुक्त रूपमा रहेको एउटा अर्काे कीर्तिमानको पनि नजिक पुगेका छन् । यी दुई खेलाडीका नाममा लगातार चार इनिङ्समा अर्धशतक प्रहार गरेको कीर्तिमान छ । बिहीबार मलेसियाविरुद्धको खेलमा पनि अर्धशतक प्रहार गर्न सके कुशलले ब्रेन्डन र क्रिससँगै यो कीर्तिमानमा आफ्नो नाम पनि लेखाउनेछन् ।

मिड विकेटतर्फ सट् खेल्ने प्रयास गर्दा क्याच आउट हुन पुगेका उनले ४६ बलमा एक छक्का र आठ चौका प्रहार गरेका थिए । उनले ४१ बलमा आफ्नो कीर्तिमानी अर्धशतक पूरा गरेका थिए ।

दीपेन्द्रको पहिलो अर्धशतक
कुशलपछि दीपेन्द्रले पनि अर्धशतकीय योगदान गर्दा त्रिवि मैदानमा टस हारी पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६ रनको योगफल तय गरेको थियो । 

यो खेलमा कुशल र आसिफ सेखको प्रारम्भिक जोडी सुरुवातमै टुट्यो । चार बलको सामना गर्दा आसिफ आउट हुन पुगे । त्यसपछि ब्याटिङका लागि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन जोडे । 

त्यसपछि आएका उपकप्तान दीपेन्द्रले कुशललाई दरिलो साथ दिए । यी दुई खेलाडीको प्रदर्शनमा नेपालको इनिङ्स अघि बढेको थियो । यस क्रममा दीपेन्द्रले ३० बलमा ६० रन प्रहार गरे । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । २८ बलमै अर्धशतक पूरा गरेका दीपेन्द्रले समग्रमा पाँच छक्का र तीन चौका प्रहार गरे । कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि ३८ बलमा ५० रनकै साझेदारी गरे । त्यसबाहेक सोमपाल कामी १३ बलमा २१ रन जोड्दै अविजित रहँदा कुशल मल्लले १८ रन जोडे ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा यो नेपालले बनाएको अहिलेसम्मकै दोस्रो ठूलो योगफल हो । अर्थात् नेपालले कुनै पनि प्रतिद्वन्द्वीविरुद्ध बनाएको दुई सयभन्दा माथिको मात्रै दोस्रो योगफल हो । यद्यपि, नेपालले यही योगफलको रक्षा गर्न सकेन । नेदरल्यान्ड्सले अन्तिम तीन बल बाँकी छँदा सात विकेट खर्चिएर जित निश्चित गर्‍यो ।

नेपालका लागि नेदरल्यान्ड्सका बास डी लिडको इनिङ्स घातक बन्न पुग्यो । उनले ४२ बलमा अविजित ८१ रन जोडे । उनले पाँच छक्का र सात चौका प्रहार गरे । त्यसअघि बेन कुपरले ५५ रन जोडे । क्रिजमा बेन र बासबीच दरिलो साझेदारी चलिरहेको समय नेपालले सहजै खेल गुमाउने अवस्थामा देखिएको थियो । 

सन्दीप लामिछानेले १३औँ ओभरको अन्तिम बलमा बेनलाई स्क्वायर लेगमा दीपेन्द्रद्वारा क्याचआउट गराएपछि नेपालले खेलमा फर्कने संकेत गरेको थियो । त्यसपछि १४.३ ओभरमा कुशल (मल्ल)को बलमा आर्यन दत्तलाई दीपेन्द्रले नै डिप मिडविकेटमा अर्काे आकर्षक क्याच लिए । झन्डै ३० मिटरको दूरीबाट दौडिएका दीपेन्द्रको त्यो क्याच साँच्चिकै दर्शनीय रह्यो । त्यसका बाबजुद नेपालले खेलको अन्त्यतिर केही गल्ती गर्न पुग्यो । त्यसको फाइदा उठाउँदै नेदरल्यान्ड्सले जित पक्का गर्‍यो । 

सन्दीप एक्लैले लिए चार विकेट
सन्दीप एक्लैले नेदरल्यान्ड्सको चार विकेट लिए । यद्यपि, उनको यो योगदान पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । यद्यपि, यससँगै उनी अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । समग्रमा उनको नाममा अहिलेसम्म ४२ विकेट पुगेको छ । उनीपछि करण केसीको ४१ र सोमपाल कामीको २८ विकेट छ । 

पराजयपछि नेपाली टोलीका कप्तान ज्ञानेन्द्रले नेपालले अझै केही रन पछि रहँदा पराजित हुनुपरेको प्रतिक्रिया दिए । ‘हामीले अझै केही रन थप्न सक्थ्यौँ । आठ–दश रन कम भएको महसुस भयो । त्यो सम्भव पनि थियो । कुशल मल्ल र करण केसी छिटै आउट हुँदा पनि हामीले आवश्यक रन जोड्न सकेनौँ,’ कप्तान ज्ञानेन्द्रले भने, ‘पहिलोपटक घरेलु मैदानमा दर्शकविना खेल्दा फरक अनुभव भयो ।’

कोरोना भाइरस (कोभिड– १९) संक्रमण बढ्दो अवस्थामा देखिएका कारण सरकारको निर्णयपछि मंगलबारदेखि दर्शकलाई प्रवेश दिइएको छैन । नेदरल्याड्सका खेलाडीले पनि नेपालमा दर्शकविना खेल्नुपर्दा फरक अनुभव भएको प्रतिक्रिया दिए । ‘हामी दर्शकको बाक्लो उपस्थितिको कल्पना गरेर यहाँ खेल्न आएका थियौँ । यद्यपि, आज खाली मैदानमा खेल्नुपर्दा फरक महसुस भएको छ,’ म्यान अफ दी म्याच चुनिएका नेदरल्यान्ड्सका बास डी लिडले भने, ‘यद्यपि, हामीले सरकारको निर्णयलाई बुझ्नुपर्छ ।