मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १०:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाको महाधिवेशन सर्‍यो, जेठ २२ देखि २५ सम्म हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १०:३२:००

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गरेर जेठ २२ गतेदेखि २५ गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि राप्रपाले वैशाख २५ गतेदेखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

 सक्रिय सदस्यता वितरण र स्थानीय तहहरूको अधिवेशनका लागि समय अपुग भएको भन्दै जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तालिका परिवर्तन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद वैशाख मसान्तसम्म थप गरेको छ । त्यस्तै वडादेखि जिल्ला तहसम्मको अधिवेशन वैशाख मसान्तसम्म, प्रदेश कार्य समितिको निर्वाचन जेठ ७ गतेसम्म, महाधिवेशन प्रतिनिधि निर्वाचन जेठ १० गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।

पार्टी स्थापनाको ३० वर्षपछि राप्रपाले कमिटीबाट महाधिवेशनका प्रतिनिधि चयन गर्ने परम्परा छाडेर पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छान्ने अभ्यास गर्दै छ । वडा तहसम्म पार्टीका साथीहरू सक्रिय सदस्य बनाउने, वडा, गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्ने अभियानमा भए पनि  समय अपुग भएकाले पूर्वनिर्धारित तालिका परिवर्तन गर्नुपरेको नेता श्रेष्ठ बताउँछन् । 

‘हालसम्म मकवानपुर, रुपन्देही, सल्यान, नवलपरासी, मुगु, डोटी, उदयपुर र लमजुङ जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने अधिकांश जिल्ला केही दिनभित्रै अधिवेशन गर्ने अवस्थामा पुगिसकेका छन् । वैशाख मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गरी निर्धारित मितिमा महाधिवेशन हुनेछ,’ श्रेष्ठले भने । यसपटक राप्रपाको महाधिवेशनमा चार हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि हुनेछन् ।