मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १०:२०:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

विज्ञान, विज्ञ र अन्धविश्वास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ७ मंगलबार १०:२०:००

भारतबाट आइरहेका समाचार कोरोना महामारीले सिर्जेका मानवीय संकट र त्रासदी देखाउन पर्याप्त छन् । अस्पतालमा भर्ना पाउन लाममा पर्खिरहेका बिरामी बोेकेका एम्बुलेन्स, एउटै बेडमा तिनजनाको उपचार गर्नुपर्ने भिड, अक्सिजन नपाएर ज्यान गुमाउनुपरेकाको चीत्कार र अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने बाध्यता । यो नेपालको इतिहासमा भेटिने हैजा या बिफरको महामारीको समय जस्तो सुनिन्छ । नेपालमा त्यस्तो अवस्था आइसकेको छैन । तर, भाइरल रोगबारेका विज्ञहरू त्यस्तो हुने हो कि भनेर चिन्तित छन् । दिनदिनै उकालो चढ्दै गएको संक्रमणको ग्राफ, बालबालिका र युवाजन्य उमेर समूहमा भइरहेको संक्रमणको दर र भाइरसका अनेक प्रकार सबैले सम्भावित त्रासदीबारे चेतावनी दिइरहेका छन् । 

जनस्वास्थ्यका न्यूनतम मापदण्ड पूरा गर्ने, व्यक्ति–व्यक्तिबीचको दूरी कायम गर्ने तथा भिडभाड नगराउन नागरिक नै सचेत हुनुपर्ने देखिन्छ । अन्यथा अन्धविश्वासको बुई चढेर हामीले कोरोनालाई जित्न सक्नेछैनौँ ।

यही समय विश्वमै सबैभन्दा बढी संक्रमण भइरहेको भारतीय सहरमा काम गर्दै गरेका नेपालीहरू रोजगारी गुमाउनुपरेकाले होस या रोगको त्रासले नेपाल आइरहेका छन् । तिनीहरू आउने पनि यतै हो । दुनियाँमा आफ्नो घरको छानोजस्तो सुरक्षित ठाउँ अर्को हुँदैन । आफ्नै देशजस्तो भरोसा गर्ने ठाउँ पनि अर्को हुँदैन । गत वर्ष आफ्नै देश पराइ महसुस गरेका नेपालीहरू यसपालि पनि गत सालजस्तै लाम लागेर आएका छन् । यसरी आउनेमा काम र मामको खोजीमा जाने मात्र छैनन् । आस्थाका कारण कुम्भ मेला पुगेर फर्कनेहरू पनि छन् । आउँदा उनीहरूमध्ये कतिपयले संक्रमण लिएर आएका हुन सक्छन् । तर, यसबारे त्यति वेला मात्र आधिकारिक ढंगले भन्न सकिन्छ, जब उनीहरूको परीक्षण हुन्छ । यता नेपालमा यो वर्ष स्वास्थ्य उपचारसम्बन्धी व्यवस्थामा केही सुधार भए पनि त्यो अझै पर्याप्त छैन । ठूलो विपत्ति सामना गर्ने क्षमता हाम्रो छँदै छैन । 

आइसोलेसन अस्पतालसम्म बनाउन सकिएला, तर गम्भीर बिरामीलाई चाहिने अक्सिजन र सघन उपचार कक्षको अभाव छ । यसलाई निषेध गर्ने भनेकै संक्रमण फैलन नदिएर हो । यस्तो ‘हुन नदिने’ जिम्मेवारी राज्य र नागरिक दुवैको हो । यतिवेला दुवै पक्ष यही जिम्मेवारीबाट पन्छिएको या भागिरहेको जस्तो देखिन्छ । हाम्रो जोखिमको यही मूल कारण बन्न सक्छ । आइतबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले केटाकेटी घरमा भन्दा विद्यालयमा सुरक्षित रहेको भन्दै संक्रामक रोगसम्बन्धी विज्ञान र विज्ञ दुवैको धारणालाई चुनौती दिइरहेका थिए । 

कतिपयले त नेपालीमा कोरोना प्रतिरोधात्मक क्षमता बढी भएको पनि भन्न भ्याएका थिए । मानिसको जिउज्यानमाथि आक्रमण गरिरहेको यो भाइरसका बारेमा पछिल्लो समय विज्ञानले जे–जति पत्ता लगाएको छ र भ्याक्सिनको विकास गरेको छ, त्यो मात्रै हाम्रो अन्तिम आश्रय हो । विश्वास र अन्धविश्वासले के फरक पार्छ भन्ने उदाहरण भारत, ब्राजिल र अमेरिका पनि हो । त्यसैले सरकारले कतिपय भिड जम्मा हुने गतिविधिमाथि तत्काल नियन्त्रण र कडाइ गर्ने, जुन निर्णय गरेको छ, त्यो अहिलेको समयमा आवश्यक कदम हो । जनस्वास्थ्यका न्यूनतम मापदण्ड पूरा गर्ने, व्यक्ति–व्यक्तिबीचको दूरी कायम गर्ने तथा भिडभाड नगराउन नागरिक नै सचेत हुनुपर्ने देखिन्छ । अन्यथा अन्धविश्वासको बुई चढेर हामीले यो कोरोनालाई जित्न सक्नेछैनौँ ।