मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ६ सोमबार ०९:४१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनुसन्धान फितलो हुँदा हत्यारा पत्ता लगाउन मुस्किल

झापामा पछिल्लो दुई वर्षमा भएका हत्यामध्ये ६ घटनाको प्रहरीले अहिलेसम्म सुराग पत्ता लगाउन सकेको छैन

Read Time : > 3 मिनेट
२०७८ बैशाख ६ सोमबार ०९:४१:००

 घटना १ : ५ पुस ०७७ मा बिर्तामोड– २ चैतुबाडीकी दिनो राजवंशी घरनजिकै खेतमा मृत भेटिइन् । ४ पुसमा श्रीमान्लाई कुखुरा फर्मसम्म खाना पुर्‍याउन गएकी दिनो राति अबेरसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजबिनका क्रममा उनको शव भेटियो । प्रहरीले दिनोको हत्या भएको निष्कर्ष निकालेको छ । तर, प्रहरीले न घटनामा संलग्नलाई पक्राउ गर्न सक्यो, न त पहिचान गर्न नै ।

घटना २:  १३ असार ०७७ मा बुद्धशान्तिस्थित बर्ने चियाबगानमा अन्दाजी ४५ वर्षकी एक महिलाको शव फेला पर्‍यो । उनको शव हेर्दा हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ । तर, न महिलाको पहिचान हुन सक्यो, न हत्याराको । महिलाको पहिचान र हत्यारा खोज्न टोली नै बनाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । तर, वर्ष दिन हुन लाग्दा पनि कुनै सुइँको छैन ।

घटना ३: १५ पुस ०७६ झापा अर्जुनधाराका महेश मोक्तानको शव गिरीबन्धु चियाबगानमा सडेको अवस्थामा फेला पर्‍यो । भारतस्थित मिरिक जान्छु भनेर हिँडेका मोक्तान घाँटीमा डोरी लगाई नालीमा फालिएको अवस्थामा फेला परेका थिए । मोक्तानको हत्या भएको प्रहरी अनुमान छ । घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । घटनामा जाहेरीसमेत नपरेको प्रहरीको भनाइ छ ।

घटना ४: २४ फागुन ०७५ मा भद्रपुर– ८ का वीरबहादुर राजवंशी (६०) को हत्या भयो । भद्रपुर– ४ स्थित मायालु सामुदायिक वनभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान भइरहेको बताउने गरे पनि घटनामा संलग्नलाई हालसम्म पक्राउ गर्न सकेको छैन । 

घटना ५: ११ माघ ०७५ मा भद्रपुर– ९ स्थित मनषा इन्ड्रस्टिज प्रालिका प्रमुख लेखा प्रशासक कमलसिंह दुगर (६२) मृत फेला परे । भारत घर भई लामो समयदेखि नेपालमै काम गर्दै आएका दुगर उनी सुत्ने कोठामा हत्या भएको अवस्थामा फेला परेका थिए । उनको हातखुट्टा बाँधेर सुत्ने खाटमा लडाइएको अवस्थामा शव भेटिएको थियो । जिल्ला प्रहरीले हत्या भएको ठहर गरे पनि हत्यारा पहिचान गर्न सकेको छैन । 

यी प्रतिनिधि घटनाले जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान कति प्रभावकारी छ भन्ने देखाउँछ । पछिल्लो समय झापामा हत्याजस्तो जघन्य अपराध बढिरहेको छ । पछिल्ला दुई वर्षमा भएका हत्याका ६ घटनामा प्रहरीले अनुसन्धान टुंग्याउन सकेको छैन । 

केही हत्याका घटनामा प्रहरीले हत्याराको पहिचान गरे पनि पक्राउ गर्न सकेको छैन । केही घटनामा हत्यारा पहिचान गर्नसमेत प्रहरी चुकेको छ । फेला परेको शवको पहिचान गर्नसमेत प्रहरी चुकेको छ । जसका कारण पीडितले न्यायको अनुभूति गर्न पाएको छैन । घटनामा संलग्नहरू खुलेआम हिँड्न पाएका छन् । जिल्ला प्रहरी कार्यालयले बाँकी रहेका मुद्दामा प्रहरी निरीक्षक नेतृत्वमा टोली बनाएर काम गरेको भए पनि यी हत्याका घटनाका पीडितले न्याय पाएका छैनन् । अघिल्लो आर्थिक वर्षको तुलनामा झापामा चालू आर्थिक वर्षमा हत्याका घटना बढेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाका अनुसार अघिल्लो आर्थिक वर्ष झापामा १३ जनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको दश महिनामा २१ जनाको हत्या भइसकेको छ । कतिपय घटना अनुसन्धानकै क्रममा रहेको डिएसपी थापा बताउँछन् । ‘प्रहरीले अनुसन्धान कहीँ चुकाएको छैन । हत्याका धेरै घटनामा त दोषीलाई पक्राउ गरी कारबाही गरेकै छ । केही घटना अनुसन्धान गर्दै गर्दा ढिला भएको छ ।’ 

अनुसन्धान अधिकृत परिवर्तन भइरहँदा पनि अनुसन्धानमा ढिलाइ भएको उनी बताउँछन् । ‘अनुसन्धान अधिकृत परिवर्तनपछि क्लु बुझ्ने, मुद्दाको अध्ययन गर्ने, पुराना घटनामा पहिलाको सूचना के थियो, अहिलेको के छ भनेर भेरिफाई गर्दा कन्फ्युजनका कुरा पनि हुन सक्छन्,’ उनी भन्छन्, ‘तर, ढिलाइ भए पनि अनुसन्धान सफल हुन्छ । अस्ति हामीले २० वर्षपछि हत्या अभियुक्त पनि सार्वजनिक गर्‍यौँ ।’ 

घटनाका अभियुक्त पक्राउ नभएको अवस्थामा पनि प्रहरी निरन्तर लागिरहेको प्रहरी नायब उपरीक्षक थापा बताउँछन् । कतिमा तत्काल सफलता हात लागे पनि केही घटनामा ढिला गरी सफलता आउने उनले बताए । ‘अनुसन्धान प्रक्रिया त कहिले नसकिने प्रक्रिया हो नि !’ उनी भन्छन् ।’

 आगोमा एउटै परिवारका चारजना जले, अनुसन्धान अघि बढेन
९ मंसिर ०७५ राति शिवसताक्षी– ७ लालझोडामा एक घरमा आगलागी हुँदा चारजनाको मृत्यु भयो । घटनामा लक्ष्मण खनाल, उनकी श्रीमती राधिका, चार वर्षीया छोरी चन्द्रा र पाँच महिनाको छोरा टीकारामले ज्यान गुमाए । लक्ष्मणको परिवार मूल घर शिवसताक्षी– १ बाट निकै टाढा बसाइँ सरेको थियो । 

नौलो गाउँमा पुगेकाले घटनाबारे अहिलेसम्म केही आउन नसकेको बुबा रामकृष्ण खनालको अनुमान छ । छोराको मृत्यु भवितव्य नभई योजनाबद्ध भएको आरोप उनी लगाउँछन् । तर, घटना भएको दुई वर्षसम्म सत्यतथ्य बाहिर नआउँदा उनी निराश छन् । ‘घटना घट्नेबित्तिकै हामीले सिडिओ कार्यालयमा पनि निवेदन दियौँ । पुलिसलाई पनि दिएका थियौँ,’ रामकृष्ण भन्छन्, ‘तर, अहिलेसम्म कसैले पनि पत्ता लगाउन सकेनन् ।’

 घटनापछिका २९ महिना रामकृष्णले प्रहरी कार्यालय धाएर बिताए । छोरा–बुहारी, नाति र नातिनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीले अनुसन्धान नै नगरेको उनको आरोप छ । यो परिवार अहिले पनि राज्यको जवाफको प्रतीक्षामा छ । इलाका प्रहरी कार्यालय झिझिले र जिल्ला प्रहरी कार्यालय झापामा धेरै कार्यालय प्रमुख फेरिए । तर, उनका छोराबारे केही जवाफ दिन सकेनन् ।

राज्यले न उनीहरूलाई भवितव्य हो भनेर जवाफ दिएको छ, न त हत्या नै भयो भन्न सकेको छ । प्रहरी कार्यालयमा गयो भने तपाईंको काम हुँदै छ । २० वर्षसम्म म्याद जाँदैन भन्छन्,’ खनालले भने । ७७ वर्षीय वृद्ध बुबा रामकृष्ण जीवनको अन्तिम क्षणसम्म लडेर भए पनि न्याय लिएरै छाड्न बताउँछन् । 

घटनाबारे अध्ययन गर्न डिएसपीको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको थियो । समितिको प्रतिवेदनले हत्याका आधार फेला नपारेको भवितव्य हुन सक्ने हालका डिएसपी थापाले बताए । हत्या भएको भन्ने कुनै आधार नभएकाले प्रहरीले गत असोजमा जिल्ला अदालत झापामा आगलागीबाट मृत्यु भएको भन्दै मुद्दा बुझाएको थापाले बताए । ‘अहिले आधार नदेखिएकाले आगलागीको भनेर अदालतमा मुद्दा बुझाएका छौँ । यदि हत्या भएजस्तो लाग्ने कुनै आधार भेटिए फेरि पनि अनुसन्धान हुन्छ ।’