मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ६ सोमबार ०९:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संकटको वेला कांग्रेस नेतृत्व दोबाटोमा उभिनुहुन्न : डा. संग्रौला

Read Time : > 1 मिनेट
२०७८ बैशाख ६ सोमबार ०९:३७:००

नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले वर्तमान संकटको वेला कांग्रेस नेतृत्व दोबाटोमा उभिन नहुने बताएकी छिन् । सोमबार नेपाल प्रेस युनियनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

आमनिर्वाचनको वेला आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जितेमा हाँस्न–रुन नै नपाइने बताउँदा खिसिट्युरी गरिएको स्मरण गर्दै उनले अहिले देशको अवस्था त्यस्तै रहेको टिप्पणी गरिन् । ‘हिजो हाम्रो सभापतिले हाँस्न–रुन पाइन्न भन्दा त्यसलाई उडाउने काम भयो । आज अवस्था त्यस्तै छ । सभापति देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्थे । अब ५० वर्ष कांग्रेस खोजेर भेटिन्न भन्थे । अहिले सबैले कांग्रेसको भूमिका खोजेका छन् । यस्तो वेला हाम्रो नेतृत्व दोबाटोमा बस्न हुँदैन,’ उनले भनिन् । 

सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र र संसदीय मूल्य–मान्यतालाई भत्काउने कार्य गरेको उनले आरोप लगाइन् । ‘प्रधानमन्त्री केपी ओलीले आफैँले भंग गरेको संसद् पुनर्स्थापित भएपछि थोरै पनि नैतिकता भएको भए राजीनामा दिनुपर्ने थियो’ भन्दै उनले अब उनलाई नैतिकताको पाठ सिकाउने वेला आएको बताइन् ।

प्रधानमन्त्री ओलीले समृद्धि र राष्ट्रवादको खोक्रो नारा दिएर जनतालाई भ्रमित पारेको भए पनि बिस्तारै त्यो उदांगिँदै गएको उनको टिप्पणी छ । ‘समृद्धि र राष्ट्रवादका ठुल्ठूला गफ दिने प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतीय गुप्तचर प्रमुखले मध्यरातमा भेटेर के–के गरेको कुराले उदांगो भएको छ । उनको राष्ट्रवादलाई अब नेपाली नागरिकले चिनिसकेका छन्,’ उनले भनिन् ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आउने भएपछि मध्यरातमा चालू रहेको संसद् अधिवेशन अन्त्य गरिएको भन्दै यसले एमाले कति लोकतान्त्रिक छ भन्ने प्रस्ट्याएको बताइन् । कर्णाली प्रदेशबाट विपक्षी दलहरूको सहकार्यको यात्रा अगाडि बढेको टिप्पणी गरेकी उनले अब गण्डकी प्रदेशलगायत अन्य प्रदेशमा पनि सहकार्यले निरन्तरता पाउने धारणा राखिन् । ‘कर्णाली प्रदेशबाट दलहरूका बीचमा सहकार्यको थालनी भएको छ । अब गण्डकी प्रदेश हुँदै केन्द्र र अन्य प्रदेशमा पनि यो सहकार्यले निरन्तरता पाउँछ,’ उनले बताइन् ।

नेतृ संग्रौलाले वर्तमान सरकारले हत्या–हिंसा रोक्न नसकेको, महिला हिंसालाई नियन्त्रण गर्न नसकेको र पीडितले न्याय नपाउने अनि पीडकहरू खुला रूपले हिँड्दा त्रास बढाउने काम गरेको उनको भनाइ थियो ।