मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:१२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गृहमन्त्री थापाको स्थानमा उपनिर्वाचनको तयारी थाल्दै आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:१२:००

 गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै निर्वाचन आयोगले उपचुनावको तयारी थालेको छ । आयोगका पदाधिकारीले आइतबार यसबारे छलफल गरेका छन् । 

पदावधि ६ महिनाभन्दा बढी रहँदै राष्ट्रिय सभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्र चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ,’ राष्ट्रिय सभा निर्वाचन ऐन, २०७५ को दफा ६१ मा भनिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनी व्यवस्थाअनुसार उपनिर्वाचन गर्नेबारे छलफल भएको बताए । ‘कानुनी व्यवस्थाअनुसार चुनाव गराउने भन्ने विषयमा सामान्य छलफल गरेका छौँ,’ आयुक्त थपलियाले भने, ‘सरकारले निर्णय गर्नेबित्तिकै आयोग चुनावका लागि तयार छ ।’ 

माओवादी केन्द्रका तर्फबाट ०७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित थापा पार्टी छोडेर एमाले प्रवेश गरेका थिए । उनको पद खारेज गर्न माओवादीले संघीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोहीअनुसार आइतबार संसद् सचिवालयले थापाको पद रिक्त भएको सूचना जारी गरेको थियो ।