मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १८ शनिबार
  • Saturday, 01 May, 2021
हरि राज
२०७८ बैशाख ५ आइतबार ०९:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फिफा : सुन्दर खेलको कुरूप पक्ष

Read Time : > 2 मिनेट
हरि राज
२०७८ बैशाख ५ आइतबार ०९:३२:००

फेब्रुअरीमा बाहिरिएका रिपोर्टहरूका अनुसार सन् २०११ देखियता कतारमा काम गर्ने क्रममा ६ हजार पाँच सय आप्रवासीले ज्यान गुमाएका छन् 

प्रत्येक चार वर्षमा फुटबलका फ्यानहरूका लागि विश्वकपरूपी चाड आउने गर्छ । विश्वकपको अवसरमा प्रशंसकहरू आफ्नो निद्रा, सम्बन्ध र कामसमेत त्याग्न तयार हुन्छन् । तर, अर्को वर्ष कतारमा सम्पन्न हुने विश्वकपमा भने ठूलो मानवीय मूल्य पनि तिरिएको छ । फेब्रुअरीमा बाहिरिएका रिपोर्टहरूका अनुसार कतारले विश्वकप आयोजना गर्ने अवसर पाएको वर्ष अर्थात् सन् २०११ देखि यता भारत, बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंकाका ६ हजार ५०० आप्रवासीले ज्यान गुमाए । गार्जियनका अनुसार उल्लिखित मृतकमध्ये धेरैले विश्वकपसँग जोडिएको पूर्वाधार निर्माणका क्रममा ज्यान गुमाएका थिए । 

मृतकको संख्या निश्चित रूपमा उच्च हो, तर यसमा फिलिपिन्सजस्ता देशका मृतक श्रमिकको संख्या जोडिएको छैन । अधिकांश श्रमिकको मृत्युको मुख्य कारण अत्यधिक ताप, कामबाट उत्पन्न हुने अत्यधिक थकान, आत्महत्या रहेको पाइएको छ । यी खबरले एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ । मजदुरको जीवनको मूल्यमा बनेका रंगशालामा हुने प्रतियोगितामा हामी कसरी रम्न सकौँला ? यो प्रतियोगितालाई बहिष्कार पो गर्नुपर्छ कि ? विश्वकपको तयारीमा विवाद उत्पन्न भएको कतार पहिलो उदाहरण भने होइन । इटालीमा सम्पन्न सन् १९९० को विश्वकपका लागि रंगशालाको निर्माण र पुनर्निर्माणका लागि लिइएको ऋण उसले दशकौँ पछि तिरिरहेको थियो । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप भ्रष्टाचार तथा १४ अर्ब डलरको फजुल खर्चका कारण विवादमा आएको थियो । पृथ्वीकै सबैभन्दा फुटबलप्रेमी ब्राजिलियन जनतासमेत प्रतियोगिताविरुद्ध सडकमा उत्रिएका थिए । 

सबैभन्दा पछिल्लो संस्करणको विश्वकप २०१८ पनि विवादमुक्त रहेन । प्रतियोगिता हुनु चार वर्षअघि मस्कोले क्रिमिया कब्जा गरेको विरोधमा प्रतियोगिता सार्ने आह्वानसमेत भयो । पूर्वी युक्रेनमा रुसी मिसाइलबाट मलेसिया एयरलाइन्सको फ्लाइट १७ खसालिएपछि माग झनै बढेको थियो । पछि रुसी फुटबलमा व्याप्त नश्लवादले चर्चा पायो । तथापि खेल रुसमै सम्पन्न भयो ।

विश्व फुटबलको प्रशासनिक संस्था फिफाभित्रको भ्रष्टाचारबारे धेरै समाचार लेखिएका छन् । फिफाले आयोजना गर्ने फुटबल विश्वकपको धेरै संस्करण समस्यामुक्त छैनन् । तर, विगतका उल्लिखित कुनै पनि गल्तीले कतारमा भएको प्रणालीगत मानव अधिकार शोषणलाई छोप्न सक्दैन ।

विश्व फुटबलको प्रशासनिक संस्था फिफाभित्रको भ्रष्टाचारबारे धेरै समाचार लेखिएका छन् । सन् १९३४ को विश्वकप बेनितो मुसोलिनीका लागि फासीवादी प्रचारका लागि प्रयोग गर्ने स्थल बन्यो । फुटबल विश्वकपको धेरै संस्करण समस्यामुक्त भेटिँदैन । तर, विगतका उल्लिखित कुनै पनि गल्तीले कतारमा भएको प्रणालीगत मानवअधिकार शोषणलाई छोप्न सक्दैन । के त्यसो भए प्रतियोगिता सार्न सकिन्छ ? विगतमा एकपटक विश्वकप सारिएको इतिहास छ । तर, त्यसका लागि धेरै पहिले सूचना दिइएको थियो । कोलम्बिया सन् १९८२ मा विश्वकप–१९८६ प्रतियोगिता आयोजना गर्ने वाचाबाट पछि हट्यो । कोलम्बियाका तत्कालीन राष्ट्रपति बेलिसारियो बेटान्कुरले आर्थिक क्षमताको अभाव र मुख्यतः ‘फिफा र उसका सदस्यलाई सुहाउने खालको भव्यता हासिल गर्ने समयको अभाव’ भएकाले प्रतियोगिता गरेको बताएका थिए । 

कतार विश्वकपका लागि अब थोरै समय मात्र बाँकी रहेकाले प्रतियोगिता योजनाअनुरूप नै हुनेछ । विश्वकप छनोटअन्तर्गतका पछिल्ला केही खेलमा जर्मन, डच र नर्वेजियन राष्ट्रिय टिमले मानवअधिकारका नारा लेखिएका टिसर्ट लगाएर विरोध व्यक्त गरे । विगतमा यस्ता राजनीतिक अभिव्यक्तिमाथि कडा रूपमा प्रस्तुत हुने फिफाले कारबाहीको मागलाई अस्वीकार गर्‍यो । यो त संस्थागत विरोध भयो, हामीजस्ता दर्शकले कसरी विरोध दर्ज गराउन सक्छौँ ? हामीले कतारलाई विश्वकपबाट आउने आयलाई तिनको देशमा मरेका श्रमिकका परिवारलाई सघाउन माग गर्दै अभियान चलाउन सक्छौँ । दोहाले भारत वा श्रीलंकामा मृतकको नाममा रंगशाला निर्माण गरिदिन सक्छ । यसले सो क्षेत्रको फुटबल क्षेत्रमा सहयोग पनि पुग्नेछ । 

कतारले श्रमिकको मृत्युबारे औपचारिक रूपमा टिप्पणी गर्दै ‘प्रत्येक जीवनको क्षति खेदजनक भए पनि हरेक समुदायमाझ देखिएको मृत्युदर तिनको विशाल संख्याअनुसार अपेक्षित नै भएको’ बताएको छ । उसले कतारमा स्वदेशी र विदेशी दुवैले ‘निःशुल्क पहिलो दर्जाको स्वास्थ्य सेवा’माथि पहुँच रहेको औँल्याउने गरेको छ । साथै मृत्युदर निरन्तर घटिरहेको कतारको दाबी छ । यी सब भनाइका बाबजुद हामीले आफ्नो स्थानबाट जे भएको थियो, त्यसलाई स्मरण गराइरहनु आवश्यक छ । यसले मात्र यस खेलमा लागेको मानवीय मूल्यमाथि प्रकाश पार्नेछ । 

(हरि राजले मेलबर्न, बेइजिङ, क्वालालम्पुर र हङकङमा रहेर पत्रकारिता गरिसकेका छन्)
साउथ चाइना मर्निङ पोस्टबाट