मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
निर्वाण चौधरी
२०७८ बैशाख ४ शनिबार १४:१९:००
Read Time : > 5 मिनेट
१४औँ वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

नेपालमै बसेर विश्वभर व्यापार

विदेशमा लगानी गर्न खुला गरिदिए नेपालको अर्थतन्त्रको विस्तार अभूतपूर्व रूपमा हुनेछ

Read Time : > 5 मिनेट
निर्वाण चौधरी
२०७८ बैशाख ४ शनिबार १४:१९:००

नेपालीले विदेशमा आफ्नो सीप प्रसोग गरी कमाएर पठाएको रेमिट्यान्सले मुलुक चलिरहेको छ । पछिल्लो २० वर्षमा विभिन्न मुलुकमा पुगेका नेपालीहरूले विश्व बजारमा सीप सिकेका मात्रै छैनन्, त्यसको विकास गरी उद्यमशीलताको यत्रामा लागिसकेका छन् ।

अहिले विश्वका जुनसुकै मुलुकमा राम्रो रेस्टुराँदेखि ग्रोसरी सप, सपिङ मललगायतमा नेपालीले लगानी गरेका छन् । खासगरी सानो व्यवसायमा नेपाली माथि आइरहेका छन् । विश्वको उत्कृष्ट रेस्टुराँमा जाँदा एउटा न एउटा नेपाली हुन्छ । उसले आफ्नो व्यक्तिगत दक्षता त वृद्धि गराइरहेको छ । कुनै दिन नेपालमा माहोल बन्यो भने ऊ त्यो सिप प्रयोग गरी नेपालमा राम्रो रेस्टुराँ खोल्न चाहन्छ । बाहिरबाट आउने पाहुनालाई सिंगो नेपालका मौलिक परिकारहरू पस्किन सक्ला । नेपालीभित्र उद्यमशीलता भनेको डिएनएमा छ । उद्यमशील व्यक्तिले जस्तोसुकै परिस्थितिको पनि सामना गरेर अगाडि बढ्छ । 

नेपालमा पछिल्लो २८ वर्षमा नेपालीले २६ जना प्रधानमन्त्री पायौँ । नेपालमा राणातन्त्र,, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै किसिमका राजनीतिक प्रणालीको परीक्षण भइसक्यो । भूकम्प, बाढीपहिरो, हिमपहिरो, कोभिडलगायत सबै विपत्ति भोग्नुप¥यो । हाम्रो मुलुक समुद्रसँग जोडिएको छैन । मुलुक भूपरिवेष्ठित छ । तैपनि एकखालको वृद्धि त भइरहेको छ नि । अहिले अवसर धेरै छन् । ई–कमर्समा धेरै सम्भावना छ ।

नेपालीमा अवसरलाई उपयोग गर्ने गर्ने क्षमता पनि छ । पछिल्लो समय नेपालीहरूले विश्वभर व्यवसाय विस्तार गरिरहेका छन् । विदेशमा रहेका नेपाली एनआरएनमार्फत संगठित हुँदै गएपछि पनि उनीहरूमा आत्मविश्वास पनि बढ्दै गएको छ । पछिल्लो दुई–तीन वर्षयता धेरै एनआरएनले नेपालका विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् ।

नेपालमा बैंक, जलविद्युत्, रियलस्टेट, उद्योग, कृषि, रेस्टुराँ, होटेललगायत क्षेत्रमा एनआरएनहरूको लगानी बढ्दै गएको छ । कसैको बेलायतमा स्कुल–कलेज छ भने उसले नेपालमा पनि स्कुल–कलेज खोलेको छ । विदेशमा होटेल तथा रेस्टुराँ चलाइरहेका उद्यमीले नेपालमा पनि सुरु गरेका छन् । मलाई लाग्छ– एउटा खालको अभियान नै सुरु भइसकेको छ ।

चौधरी ग्रूपको सन्दर्भमा कुरा गर्दा हाम्रो हिजो, आज र भोलि जहिले पनि प्राथमिकतामा नेपाल हो । सिजीले विदेशमा लगानी गरेको छ, तर पैसा विदेशमा लगेको छैन । जसरी अन्य एनआरएनले विदेशमा लगानी गरेका छन्, मेरा भाइहरूले पनि सोही हैसियतमा लगानी गरेका छन् । सिजीले नेपाली ब्रान्डलाई बाहिर लगेको छ । बाहिर पनि आफ्नै किसिमले व्यवसाय विस्तार भइरहेको छ । त्यो विस्तारलाई कायम राख्न थप लगानी गर्न पनि जरुरी छ । तर, यदि हामीले सय रूपैयाँ लगानी गर्छौं भने ७० रूपैयाँ नेपालमै गर्छौं, बाँकी बाहिर । 

दुई वर्षअघि लगानी सम्मेलनमा सयवटा देशबाट लगानीकर्ता आएका थिए । सरकारले हामीले २०÷४० प्रोजेक्टको एमओयू गर्छु भनेको थियो । तर, आठवटा एमओयू भयो । त्यो आठवटा एमओयूमा ६ वटा चौधरी ग्रुपकै थिए । टेलिकममा लगानी गर्न एमओयू भएको थियो । हामीलाई काम गर्न दिइएन । लजिस्टिकमा एग्रिमेन्ट भएको थियो, पछि यसमा पोलिसी नै बनेको छैन भन्नुभयो । हामीले ६ सय मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने भनेका थियौँ । लगानी सम्मेलनमै सम्झौता भयो । प्रदेश सरकारले एक वर्षपछि हामीसँग सोलार प्लान्ट राख्न पर्याप्त जग्गा नै छैन भनिदियो । तर पनि, हामीले यी कुनै परियोजनामा हार मानिसकेका छैनौँ । 

नेपालमा धेरै जोखिम र अवरोध हुँदा पनि दीर्घकालीन सम्भावनालाई हेरेर लगानी गरिरहेका छौँ । हामीले नेपाललाई विश्वबजारमा लैजाने (टेकिङ नेपाल टु द वल्र्ड) मात्र होइन, विश्वस्तरीय सेवालाई नेपाल भित्र्याउने पनि हो । विश्वबजारमा हामीले आउँदो २० वर्ष दक्षिण एशियाको आर्थिक एकीकरणलाई ध्यान दिनुपर्छ ।

नेपालमा ५० प्रतिशतभन्दा बढी जनसंख्या २१ वर्षभन्दा तलको छ । दक्षिण एसियामा ७० प्रतिशत मानिस ३५ वर्षभन्दा तलका छन् । दक्षिण एसियामा मात्रै एक दिनमा एक लाखजना युवा श्रमबजारमा प्रवेश गर्छन् । तर, स्कुल जाने उमेरका ५६ प्रतिशत बालबालिकाले विद्यालय शिक्षा पूरा गर्दैनन् । त्यसो हुँदा श्रमबजारमा प्रवेश गर्न उनीहरूले आवश्यक सिप नै सिकेका हुँदैनन् । त्यसैले हामीले दक्षिण एसियामा सिप विकासमा प्राथमिकता दिनुपर्छ ।

दक्षिण एसियाली एकीकरणबाट नेपालले ठूलो लाभ पाउन सक्छ । आज श्रीलंका चियामा  विश्वमै सबैभन्दा चर्चित छ । त्यसैगरी हाम्रो इलाम पनि विश्वकै चर्चित बन्न सक्थ्यो । आज बंगलादेश विश्वको सबैभन्दा तीव्र आर्थिक वृद्धि भएको मुलुकमध्येमा पर्छ । उसलाई गार्मेन्टको मुलुक भनेर चिनिन्छ । भुटानले पर्यटनको व्यवस्थापन राम्रो गरेको छ । उसले खर्चालु पर्यटकमात्र भित्र्याउने नीति लिएको छ ।

हाम्रा यी छिमेकी मुलुकको प्रगति पछ्याउन सकेमा हामी पनि अघि बढ्न सक्छौं । राजनीतिक अस्थिरताबीच पनि नेपालमा आर्थिक वृद्धि सन्तोषजनक नै छ । तर, दक्षिण एसियासँग एकीकरण भयो भने हाम्रो विकासको गति अझे बढ्न सक्छ । दक्षिण एसियाको ठूलो जनसंख्यालाई हेरेर हामीले आफ्ना रणनीति बनाउनुपर्छ । विश्वको झन्डै एकतिहाइ जनसंख्या दक्षिण एसियामा बसोवास गर्छन् । यहाँको बजार पनि निकै तीव्र गतिमा बढिरहेको छ । त्यसैले हामीले विश्वबजार भन्दा पनि दक्षिण एसियाको एकीकृत बजारलाई ध्यान दिनुपर्छ । 
०००
अहिले धरै नेपाली मल्टीनेसनल भइसके । अन्य धेरै हुने सम्भावना पनि छ । कुनै पनि एनआरएनले विदेशका विभिन्न मुलुकमा होटेलको बिजनेस गरिरहेको छ, उसले नेपालमा पनि आएर होटेल खोल्यो रे । नेपालीले विश्व्यापी होटेल चेन पनि विस्तार गरिरहेको छ भने भने ऊ मल्टिनेसनल भयो । व्यवसाय जहाँबाट सुरु गरे पनि आफ्नो विशेषज्ञता भएको क्षेत्रमा लगानी विस्तार गर्ने नेपाली धेरै छन् ।

नेपालमा जन्मिएका ब्रान्डहरूलाई बाहिर लग्नु, विश्वस्तरीय ब्रान्डहरूलाई नेपालमा ल्याउनु नै उद्यमशीलता हो । विश्वभर व्यवसायमा यही नियम लागू हुन्छ । म वाइवाइको उदाहरण दिन्छु । नेपालमा प्रतिव्यक्ति चाउचाउ खपत ४६ प्याकेट प्रतिवर्ष छ, जबकि भारतमा दुई प्याकेट र चीनमा ६० प्याकेट । अब चाउचाउमा लगानीको अवसर कहाँ छ त ? निश्चय नै भारतमा । त्यसैले भारतको बजारमा हामीले पछिल्लो २० वर्षदेखि लगानी गरिरहेका छौँ ।

भारतभर उत्पादन शुरु भइसक्यो, वितरण सञ्जाल विस्तार भइसक्यो । भारतमा हाम्रो ११–१२ वटा प्लान्ट छन् । बंगलादेशमा छ । नेपालमा छ । भुटानमा पनि सम्भावना हेर्दै छौं । श्रीलंका पनि हाम्रो बजार हो । चाउचाउमा मात्रै होइन, अन्य क्षेत्रमा पनि हामीले दक्षिण एसिया र भारतलाई केन्द्रित गरेर लगानी गरेका छौं । अहिले भारतमा हाम्रो फर्न ब्रान्ड सबैभन्दा ठूलो होटेल कम्पनी बनेको छ । कोभिडकै वेलामा ३५–४० वटा नयाँ होटेल खुलेका छन् । होटेल, एफएमसिजी वा वित्तीय सेवाको विस्तार, यो क्षेत्र महत्वपूर्ण छ ।

तर, विश्वबजारमा नेपालीहरूको उपस्थिति जति हुनुपर्ने हो, त्यो भएको छैन । जुन दिन राज्यले नेपालबाहिर बस्ने एनआरएनहरूलाई दिएको भोटिङको अधिकार कार्यान्वयनमा आउँछ, नेपालीलाई विश्वबजारमा फैलने नीति आफैँ बन्छ । नेताहरूलाई भोट चाहिने भएपछि उनीहरूलाई विदेशमा बस्ने नेपालीको समस्या सुन्ने बाध्यता पनि हुन्छ । 
नेपालीलाई विदेशमा लगानी गर्न अझै पनि प्रतिबन्ध छ ।

यो नीति गलत हो । मानौँ, मैले श्रीलंकामा एउटा चाउचाउ फ्याक्ट्री किनेँ । मैले त्यहाँ लगानी गरेपछि त्यसको लाभांश त नेपाल नै आउनुपर्‍यो नि । तर, विदेशमा लगानी गर्न नदिने कानूनका कारण त्यसमा समस्या भएरहेको छ । हामीले अहिलेसम्म विदेशमा काम गर्ने कामदारले पठाएको रेमिट्यान्स भित्र्याइरहेका छौं । तर, विदेशमा लगानी गर्ने नेपालीले लाभांश भित्र्याउने वातावरण भने बनाउन सकेका छैनौं ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने नेपालबाहेक दोस्रो मुलुक  मैले थाहा पाएको छैन । अहिले एउटा नेपाली विदेशमा लगानी गर्नुपर्‍यो भने युरोप बस्छ, सिंगापुर बस्छ । राज्यको नीतिले यस्तो भएको हो । किनभने नेपालीले विदेशमा लगानी गर्न पाउँदैन, एनआरएनले पाउँछ । कसलाई मन लाग्दैन कि म आफ्नो देशमै बसेर बाहिर विश्वभर व्यवसाय गरौं । त्यसैले विदेशमा लगानी गर्न खुला गरिदिएमा नेपालको अर्थतन्त्रको विस्तार अभूतपूर्व रूपमा हुन्छ । 

म नेपाल फर्किएको सन् २००० सालमा हो । म १८–१९ वर्षको उमेरमा नेपाल आएँ । माओवादी युद्धको उत्कर्षमा । त्यस्तो विषय परिस्थितिमा मैले नेपालमा जुन किसिमले व्यवसाय गरेँ, त्यसभन्दा ठूलो तालिम त हावर्ड युनिभर्सिटीले पनि दिन सक्दैन । नेपालको अर्थतन्त्र, ब्युरोक्रेसी, नीति, बजारमा रहेर हामीले काम गरेका छौं भने अन्य मुलुकमा त सजिलै व्यापार गर्न सक्छौं । 
०००
आज हाम्रो ठूलो समस्या भनेको प्रतिस्पर्धी क्षमता कम हुनु होइन, उद्यमशीलता कमी हुनु होइन, पूँजीको अभाव पनि होइन । नेपालमा समस्या भनेको सोचाइको हो । हामीले ठूलो सोचाइ राख्न सक्दैनौं, त्यही हाम्रो समस्या हो । हामीले ठूलो सोच राख्नै पर्छ । उदाहरणका लागि कुनै लिकर कम्पनीले नेपालमा एकछत्र व्यापार गरेको छ भने ऊ किन विदेशमा गएर व्यवसाय विस्तार नगर्ने ? नेपाली उत्पादन हो, वल्र्डक्लास प्लान्ट छ, बजार पनि छ, लगानी पनि छ, टिम पनि छ, उसलाई बाहिर जान किन रोक्ने ? 

आज फोब्र्सको लिस्ट (धनीहरूको सूची)मा इन्डियाबाट एक सय ५० जना देख्नुहुन्छ । त्यो के नै हो र, ०.०००१ प्रतिशत होला । नेपालमा त्यो लेबलमा नभए पनि हामी जहाँ पुगेका छौँ, त्यहाँबाट भारतको स्तरमा पुग्न कति समय लाग्छ? सोच त हुनुप¥यो नि । सोच भएपछि क्षमता पनि विकास हुन्छ । त्यसैले सोचमा परिवर्तन हुनुपर्‍यो । 

तर, यहाँ त बाहिर विस्तारको कुरा छाडिदिनुस्, यहीँभित्र काम गर्न पनि एक–अर्काको खुट्टा तान्ने प्रवृत्ति छ । यो अवस्था पहिला धेरै थियो, अहिले अलिकति काम भएको छ । एक–अर्काबीच सहकार्य गरेर ‘सिनर्जी’ गरेर कसरी अगाडि बढ्ने भन्नेतर्फ लाग्नुपर्छ । कोरियामा सरकारले तिमीले स्टिल उत्पादन गर्ने, तिमी अटोमोबिल गर्ने, तिमी इलेक्ट्रोनिक, तिमी कन्स्ट्रक्सन गर्ने भनेर भन्दियो ।

आज त्यहाँ वल्र्डक्लास बिलियन डलरका कम्पनीहरू खडा भएका छन् । हामी कोरियाभन्दा के फरक छौं र ? हाम्रो जनसंख्या तीन करोड, कोरियाको पाँच करोड त हो नि । हामी सानो होइनौं । सिंगापुरको जनसंख्या हेर्नुहोस् न । जब सिंगापुरका लि क्वान यु श्रीलंका गएका थिए, उनको सपना नै सिंगापुरलाई श्रीलंका बनाउने थियो । तर, आज हेर्नुहोस् त । एउटा मान्छेको सोचले सिंगापुर कहाँ पुग्यो ?