मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ४ शनिबार १४:०६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंलाई तराई जोड्ने दुर्त मार्गको संसदीय समितिद्वारा संयुक्त अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ४ शनिबार १४:०६:००

प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाडाैंलाई तराई जोड्ने दुर्त मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई दुर्त मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढिरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् ।

संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी नै परेको थियो । संसदीय अनुगमनमा पुग्नु भएका सांसदहरूले विकास निर्माणका ठूला आयोजनाहरू समयमा नै सम्पन्न हुन नसक्ने रोग काठमाडौं तराई द्रुतमार्गको निर्माण प्रक्रियामा पनि देखिएको टिप्पणी गरे ।  

स्थलगत अध्ययन गर्न पुगेका समिति सदस्यहरूबीच आयोजना समयमै सम्पन्न हुनेमा दुईमत देखियो । विकास तथा प्रविधि समितिका सदस्यहरूले चुनौतीपूर्ण र ठूला काम बाँकी नै रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे भने अर्थ समितिका सदस्यहरूले समयमै आयोजना सम्पन्न हुनेमा ढुक्क रहन आग्रह नै गरे ।

विकास समिति अन्तर्गत गठित द्रुतमार्ग अध्ययन उपसमितिका संयोजक गणेशकुमार पहाडीले २०८१ सालको कार्तिक मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाको अहिलेको अवस्था हेर्दा समय मै सम्पन्न हुन नसक्ने देखिएको प्रतिक्रिया दिए ।

उनले अहिले भइरहेको काम र बाँकी कामलाई हेर्दा नेपाली सेनाले नै आयोजनाको सम्पूर्ण काम गर्न सक्छ कि सक्दैन भन्ने चुनौती पनि देखिएको बताए । उनले आयोजनाको महत्वपूर्ण र जटिल कार्यमध्ये सुरुङमार्ग, अग्ला र ठूला पुल निर्माण गर्नुपर्ने कुराहरू बाँकी नै रहेको र त्यसका लागि ठेक्का प्रक्रिया पनि भइनसकेकाले बाँकी अवधिमा निर्माण सम्पन्न हुनेमा शंका व्यक्त गरे । 

उनले भने ‘०८१ को कात्तिक मसान्तभित्रै सम्पन्न हुने कुरामा चाहिँ केही चुनौती छन् । ११ वटा प्याकेज मध्ये दुईवटा प्याकेजको मात्रै ठेक्का निस्केको छ । निर्माण व्यवसायी छनाेट भएर ठेक्का हाल्ने काम भएको छ, तर त्यसको अन्तिम टुंगो लागेको छैन । अरू नाैवटा प्याकेजको त ठेक्का नै निस्केको छैन ।

जति काम भएका छन्, यसमा ठुल्ठूला काम खास भएका छैनन् । ८७ वटा पुल निर्माण गर्नुपर्छ । नेपालमा अहिलेसम्म नबनेका धेरै अग्ला पुल, ७५ मिटर अग्ला पुल यो आयोजनामा निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले टेक्निकल हिसाबले पनि केही चुनौती छन् । नेपालमा पहिलोचोटि हामीले सुरुङमार्ग निर्माण गर्दै छौँ । तीनवटा सुरुङ निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतीपूर्ण छ ।’

ठेक्कामा जानुपूर्व तयारीका काम र सर्भिस ट्रयाक भने बनिसकेको भन्दै उनले समयमै ठेक्काको काम सम्पन्न भए मात्र ठेक्का लिने कम्पनीहरूको कार्यक्षमताका आधारमा निर्माणबारे अनुमान गर्न सकिने तर्क गरे । उनले विगतमा आयोजना पूर्वतयारीका काम सम्पन्न नगरीकन ठेक्का लगाउने काम भएकाले समयमै आयोजना निर्माणको काम सम्पन्न नहुने गरेको र त्यस किसिमको प्रभाव द्रुतमार्ग निर्माण आयोजनामा पनि परेको टिप्पणी गरे । 

नेपालमा आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि सबैभन्दा ठूलो चुनौती जग्गा व्यवस्थापन रहेको भन्दै उनले समयमै जग्गा व्यवस्थापन गर्न नसक्ने, मुआब्जाको समस्यालगायत समस्या समाधानका लागि पनि सुरुङमार्गमा जानुपर्ने भएकाले सो प्रविधिलाई भित्र्याउनुपर्नेमा जोड दिए ।