Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ४ शनिबार ०८:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चितवनले भित्र्यायो इजिप्टका दुई खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ४ शनिबार ०८:१२:००

११ वैशाखदेखि दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि चितवनले शुक्रबार दुई इजिप्टका खेलाडी भित्र्याएको छ । चितवनले सामाजिक सञ्जालबाट इजिप्टका अहमद मोहमद गाबा र अल सायेद सावनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । यी दुवै खेलाडी एनएसएल खेल्न शुक्रबारै नेपाल आइपुगेका छन् ।

गत वर्ष गाबनले इजिप्टको शीर्ष डिभिजन क्लब वाडी डेग्लाबाट प्रतिस्पर्धा गरेका थिए । यसैगरी सायेदले गत सिजनमै इजिप्टकै दोस्रो डिभिजनको एल कोनाहाबाट प्रतिस्पर्धा गरेका हुन् । चितवनले सायेदलाई मिडफिल्डरको भूमिका दिइएको छ । चितवनका मार्की खेलाडी राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास र प्रमुख प्रशिक्षक मेघराज केसी हुन् । यसैबीच चितवनका मार्की खेलाडी खवास कोरोनामुक्त भएका छन् । त्रिभुवन आर्मी क्लबले एएफसी प्ले अफको दोस्रो चरणको खेल खेल्ने तयारी अघि गरिएको कोरोना परीक्षणमा खवासको नतिजा पजिटिभ देखिएको थियो । 

त्यसपछि खवास आइसोलेसनमा बसेका थिए । आइसोलेसनमा रहँदा खवासले एएफसी कपअन्तर्गत दोस्रो चरणको खेल गुमाए । आर्मीले १ वैशाखमा भारतको बेंगलुरुविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलमा ५–० ले पराजित हुँदै आर्मीले आफ्नो एएफसी कपको यात्रा टुंग्याएको थियो । एएफसी कपको दोस्रो चरण गुमाएका खवासको हालै भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

यस नतिजासँगै चितवनकै मुख्य खेलाडीका रूपमा रहेका खवासले एनएसएलमा प्रतिस्पर्धा गर्न पाउने निश्चित भएको छ । यसअघि धनगढी एफसीले लिगका लागि नेपाली फुटबलकै अनुभवी विदेशी खेलाडी ओलाबा ओलाडिपोलाई अनुबन्ध गरेको थियो । सन् २०१९ मा मनाङ मस्र्याङ्दी क्लबबाट एएफसी कपमा सहभागिता जनाइसकेका ओलाबाले गत सिजनमा साउदी अरेबियाको दोस्रो डिभिजन क्लब अल हेजाजबाट प्रतिस्पर्धा गरेका थिए । 

नेपालको फुटबलमा ओलाबाले सन् २०१२ मा रानीपोखरी कर्नर (आरसिटी)बाट पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । आरसिटीमा राम्रो प्रभाव जमाएपछि उनी थ्री स्टार क्लबमा आबद्ध भए । सन् २०१६ मा उनी बंगलादेशको क्लबसँग अनुबन्ध भए । त्यहाँ दुई वर्ष प्रतिस्पर्धा गरेका ओलाबा सन् २०१८ मा नेपाल फर्कंदै मनाङसँग अनुबन्ध भएका थिए । 

नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने एनएसएल २५ वैशाखसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेशको प्रतिनिधित्व हुने गरी सात सहरका सातै टोलीको सहभागिता रहनेछ । लिगमा १९ खेल हुने आयोजकले जनाएको छ ।