मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १४:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण : संक्रमणको अवस्था हेरेर विद्यालय बन्द हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १४:५७:००

कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई भएको शिक्षा मन्त्रालयले बताएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँविशेषको कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डिसिसिएमसीले गर्न सक्ने बताएको छ ।

शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाले  स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।  स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेशअनुसार भौतिक रूपमा अथवा वैकल्पिक रूपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उनले बताए ।  मन्त्रालयले शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ ।

उनले भने,  ‘कोभिड संक्रमणको पुनः बढ्दो अवस्था छ भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरिसकेपछि हाम्रो यसमा गम्भीर ध्यानाकर्षण भएको छ । यस परिस्थितिमा मन्त्रालयमा हामीले शिक्षा क्षेत्रमा पर्न सक्ने विभिन्न असरबारे विभिन्न कोणबाट छलफल गरेका छौँ । अर्को निर्णय नभएसम्मका लागि जुन नेपाल सरकार मन्त्रिपरिषद्ले गर्छ । त्यस्तो अवस्थामा पनि शिक्षण सिकाइलाई निरन्तरता दिनलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गरेर स्थानविशेष र जिल्लाविशेषमा जुन हाम्रो जिम्मेवारी तोकिएको छ, डिसिसिएमसी जुन छ उहाँहरूको निर्णय र स्थानीय परिवेशअनुसार, स्थानीय पालिका, स्थानीय तहहरूबाट भौतिक अथवा वैकल्पिक दुवै विधिहरूलाई जारी राख्न सक्ने हामीले निर्णय गरेका छौँ । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र कुनै पनि सभा, समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने प्रकृतिका कुनै पनि कार्यक्रमको आयोजना नगर्नु, नगराउनुहुन हामीले सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेका छौँ ।’

विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुरूपको सिकाइका विभिन्न विधि अवलम्बन गर्न मन्त्रालयको आग्रह छ । प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिनसमेत मन्त्रालयले आग्रह गरेको छ । सचिव थपलियाले भने, ‘विद्यालय सञ्चालन गर्नुपर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ छ, त्यसमा विभिन्न शिक्षण सिकाइका विधि, प्रक्रियाबारे उल्लेख छ । त्यसको अवलम्बन गरेर, प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ ।’

सम्बन्धित पालिका तथा विद्यालयले वैकल्पिक सिकाइको ढाँचाहरूको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताए ।