मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भास्करराज राजकर्णिकार
२०७८ बैशाख ३ शुक्रबार १३:४६:००
Read Time : > 3 मिनेट
१४औँ वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

मिडिया उद्योग : ‘कर्पोरेट गभर्नेन्स’सहितको सम्पादकीय नीति

Read Time : > 3 मिनेट
भास्करराज राजकर्णिकार
२०७८ बैशाख ३ शुक्रबार १३:४६:००

नेपालमा सञ्चार छेत्रमा निजी क्षेत्रको लगानी भित्रिन सुरु भएको करिब तीन दशकको अवधिमा वर्तमान कालखण्ड सर्वाधिक चुनौतीपूर्ण देखिएको छ । कोभिड– १९ को महामारीको प्रभावले मात्र होइन, नेपाली आमसञ्चारको यो कालखण्ड प्रविधिको तीव्र विकासका कारण पनि व्यावसायिक, प्राविधिक अनि आर्थिक रूपमा पनि चुनौतीपूर्ण देखिँदै छ ।

छापा, रेडियो र टेलिभिजनलाई अनलाइनले विस्थापित गर्ने क्रमको तीव्रता एकातिर छँदै छ । अनलाइन मिडियाकै कारण अनलाइन रूपान्तरणको अनियन्त्रित वेगमा आजसम्मका मूलधारका सञ्चारमाध्यम हल्लिएको अवस्था छ । त्यसो त विश्वव्यापी रूपमा यो विकासक्रम धान्न नसकेर विश्वका थुप्रै विशाल सञ्चारगृह मक्किएको प्रशस्त उदाहरण छन् । यद्यपि, नेपालको परिप्रेक्ष्यमा अहिलेसम्म त्यस किसिमका ठूला उतार–चढाव नदेखिए पनि समग्र नेपाली सञ्चारको स्वरूपमा केही समयदेखि बृहत् परिवर्तन र प्रभाव देख्न सकिन्छ ।

 हिजोको मिसन जर्नालिजम र आजको पूर्ण तथा अनिवार्य व्यवसायीकरणले आफैँमा सञ्चारको सम्पादकीय स्वतन्त्रतामा चुनौती थपिदिएका छन् । अर्कातिर, आर्थिक रूपमा स्वतन्त्र नभई मूलधारको सञ्चारकर्म व्यावसायिक र स्वशासित बन्न सक्दैन । नेपाली पत्रकारिताको लामो गौरवमय इतिहासको प्रतिछाया नेपाली आमसञ्चारमा परिरहनु स्वाभाविक नै होला । तर, अब त्यो धरातलीय यथार्थलाई मैलिकतासहित आधुनिक, व्यावसायिक र वस्तुपरक पत्रकारिताले निर्देशित ‘कर्पोरेट गभर्नेन्स’सहितको सम्पादकीय नीति अबको उत्तम विकल्प हो । 

नेपालका लगभग सबै सञ्चारमाध्यम विज्ञापनबाट हुने आम्दानीबाट नै सञ्चालित छन् । ग्राहक शुल्क वा अन्य वैधानिक आयस्रोत कि त छँदै छैन, कि एकदमै कम मात्रै छ । नेपालको विज्ञापन बजारको आकारका विषयको तथ्यांकलाई पुष्टि गर्न पर्याप्त आधिकारिकता छैन । तर, नेपाल विज्ञापन संघले गरेको आकलनअनुसार अहिले नेपालको वार्षिक विज्ञापन बजार सालाखाला १२ अर्बजति देखिन्छ । यो तथ्यलाई मानेर नेपाली मूलधारका छापा, रेडियो, टेलिभिजन र अनलाइनको आयस्रोतको विश्लेषण गर्ने हो भने १२ अर्बको करिब ७० प्रतिशत मात्रै सञ्चारमाध्यममा विज्ञापन प्रवाह भएको पाइन्छ । त्यसमा पनि कोभिडको प्रभावका कारण नेपालको विज्ञापनको बजारको ४० देखि ५० प्रतिशत मात्रै अहिले कारोबार भइरहेको छ । 

विज्ञापन बजारमा दैनिक उपभोग्य उत्पादनको विज्ञापनको बाहुल्यता हुनुपर्ने हो । तर, नेपाली विज्ञापन क्षेत्रको मुख्य हिस्सा भने दैनिक उपभोग्य वस्तुबाहेकका क्षेत्रका सामग्रीले धानेको देखिन्छ । दैनिक उपभोग्य उत्पादनको बजारमा कोरोनाको प्रभाव न्यून मात्रै देखिन्छ । तर, विज्ञापनको बजार घट्दा दैनिक उपभोग्य उत्पादनको विज्ञापन पनि सँगसँगै घटिरहेको छ । यो अस्वाभाविक देखिन्छ । यस विषयलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ । 

 

गुगल इन्सर्टमार्फत गैरकानुनी रूपमा नेपाली विज्ञापन अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरूमा प्रकाशन र प्रसारण भइरहेका छन् । त्यस्तो विज्ञापनमा वार्षिक चार अर्ब हाराहारीमा गैरकानुनी रूपमा विदेशी मुद्राको भुक्तानी भइरहेको छ । त्यस्तो अवैधानिक विज्ञापन कारोबारको कहीँकतैबाट खोजबिन नहुनु गम्भीर छ ।

यस्तो अवैधानिक र गैरकानुनी कारोबारले एकातर्फ प्रत्यक्ष रूपमा विदेशी मुद्राको अपचलन भइरहेको छ भने अर्कातिर विज्ञापन व्यवसाय प्रभावित बनाइरहेको छ । त्यसैका कारण पनि नेपाली मूलधारको सञ्चारमाध्यमको अस्तित्व यसवेला संकटतर्फ उन्मुख देखिन्छ । यहाँ उल्लिखित विचलनले विज्ञापन बजारमा ठूलो समस्या छ भन्ने स्पष्ट हुन्छ । त्यसका कारण विज्ञापनबाटै हुने आम्दानीमा आश्रित नेपाली मिडिया क्षेत्र ठूलो समस्यामा छ । 

यति हुँदाहुँदै पनि नेपाली मिडिया उद्योगमा केही सुखद पक्ष पनि छन् । हालै मात्रै नेपालमा क्लिनफिड लागू भएको छ । क्लिनफिडको सकारात्मक असर देखिन थालेबाट नेपाली विज्ञापनको कारोबार तीन वर्षभित्र दोहोरो वृद्धि हुन सक्ने आकलन छ । आकलन गरेजस्तो विज्ञापन कारोबारमा वृद्धि हुने विषयमा नेपाल विज्ञापन बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ । क्लिनफिडको व्यावसायिक कार्यान्वयन अनिवार्य छ ।

सञ्चारमाध्यम विज्ञापनमा आश्रित हुन्छन् । यस्तो अवस्थामा निजी क्षेत्रको विसंगतिविरुद्ध मिडियाको आवाजलाई कर्पोरेट प्रभावले रोक्न सक्नेछ । 

नेपाली बजारमा बिक्री हुने विदेशी र स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार कारोबारमा न्यूनतम पाँच प्रतिशत विज्ञापन खर्च गर्नुपर्ने नीति ल्याउन आवश्यक छ । पाँच प्रतिशतभन्दा माथि प्रवद्र्धन खर्च गरेको अवस्थामा भ्याट छुट वा आयकरमा छुट दिने व्यवस्था गर्न आवश्यक छ ।

यस्ता व्यावसायिक निर्णय गर्न सकियो भने नेपाली ब्रान्ड निर्माणमा त ठूलो योगदान हुनेछ नै, समग्र अर्थतन्त्रमा समेत टेवा पुग्नेछ । विज्ञापन बजारको वार्षिक कारोबार १२ अर्बबाट २४–२५ अर्ब पुग्न सक्नेछ । त्यसबाट प्राप्त हुने कर्पोरेट ट्याक्सले सरकारको राजस्व संकलनमा समेत सकारात्मक योगदान हुनेछ । अर्कातिर आर्थिक रूपमा आत्मनिर्भर नेपाली सञ्चारले सम्पादकीय स्वतन्त्रतामा अहिले देखिन थालेको कर्पोरेट प्रभाव पनि कम हुनेछ । 

नेपाली सञ्चारमाध्यमको सम्पादकीय स्वतन्त्रतामा दुई किसिमको हस्तक्षेप हुन सक्छ । पहिलो त सञ्चारमाध्यम विज्ञापनमा आश्रित हुने हुन्छन् । यस्तो अवस्थामा निजी क्षेत्रको विसंगतिविरुद्ध मिडियाको आवाजलाई कर्पोरेट प्रभावले रोक्न सक्नेछ । दोस्रो– सरकार वा राजनीतिक दलहरूले कमजोर आर्थिक हैसियत भएका सञ्चारमाध्यममा सजिलै राजनीतिक प्रभाव पार्न सक्नेछन् ।

यसरी नेपाली सञ्चारमाध्यमले स्वतन्त्र रूपमा खबर सम्प्रेषण गर्न ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । यसभन्दा अझ गहिराइमा जाने हो भने यस्तो आर्थिक रूपमा कमजोर सञ्चारमाध्यम सूचना तथा सञ्चार प्रविधिमा तीव्र रूपमा भइहेको परिवर्तनसँग जुझ्न पनि सक्नेछैनन् । यसले सञ्चारमाध्यमलाई कम प्रभावशाली बनाउने जोखिम छ ।

नेपाली सञ्चारमाध्यममा सम्भावनाको ‘चाँदीको घेरा’ नभएको भने होइन । यो असहज कालखण्डमा पनि नेपाली सञ्चार क्षेत्र ठूलो लगानीको लागि तयार भएको देखिन्छ । यो नेपाली सञ्चार उद्योगका लागि सुखद संकेत हो । यही व्यावसायिक अवस्थामा छापा, रेडियो, टेलिभिजन र विशेष गरेर डिजिटल माध्यममा पूर्ण व्यापारिक लगानीका लागि सञ्चार उद्योग तयार भएको देखिन्छ ।

त्यस्तै अबको एक वा डेढ वर्षमा नेपाली विज्ञापन बजारले ठूलो सञ्चार परियोजना ल्याउन सक्ने सम्भावना पनि देखिन्छ । यसका लागि नेपाल विज्ञापन बोर्ड, नेपाल विज्ञापन संघ, मिडिया अलाइन्स नेपाललगायत मिडियासँग सम्बन्धित संघसंस्था र नेपाल सरकारले सहकार्य गर्नु आवश्यक छ । मुलुकमा आर्थिक नीतिहरूलाई सञ्चार उद्योगमैत्री बनाएर व्यावसायिक वातावरण बनाउनुपर्ने आवश्यकता छ । 

अन्त्यमा यो वेलाको जस्तो ठूलो चुनौती नेपाली सञ्चारमाध्यमले कहिल्यै गर्नुपरेको थिएन । यस किसिमको व्यावसायिक संघर्ष पनि नेपाली सञ्चार उद्योगले पहिलोपटक गरिरहेको छ । यही अवस्थाको सिकाइ र भोगाइबाट पाठ सिक्दै नेपाली सञ्चारमाध्यमले अगाडिका दिनलाई स्वर्णिम बनाउनुपर्नेछ । नेपाली मिडिया उद्योगको आगामी यात्रा निश्चय नै सुनौलो हुने नै छ । त्यसका लागि व्यावसायिक लगानी बढाउनुपर्ने र त्यसका लागि नीति–नियम र वातावरण बनाउनुपर्ने आवश्यकता छ । त्यसो हुन सक्यो भने नेपाली सञ्चार एउटा परिपक्व उद्योग बन्नेछ ।