१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २ बिहीबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङका ३० वनमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २ बिहीबार १४:३९:००

गर्मीयाम सुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बाग्लुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घरगोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका  तीन सय ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन सिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहितमा आगलागी भएको सो कार्यालयका सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए ।  लामो समयको खडेरी र मानवीय लापरबाहीका कारण बर्सेनि आगलागीका घटना हुने गरेको उनको भनाइ छ । 

जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा, गलकोट र बरेङ गाउँपालिकाको जंगलमा आगलागी भएको सहायक वन अधिकृत कँडेलले बताए । ‘लामो समयदेखि खडेरी परेको छ, खडेरीले गर्दा सबै पातपतिंगर र काठजन्य वस्तु सुकेका हुन्छन्, थोरै सतर्कता नअपनाउँदा आगलागी भइहाल्छ, यस्तो समयमा निकै संयमता अपनाउनुपर्छ,’ उनले भने, ‘स्थानीयवासी सचेत नभएसम्म आगलागीका घटना भइरहन्छन् ।’ 

नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ । बाग्लुङमा अन्य कारणभन्दा मानवीय लापरबाहीका कारणले गर्दा आगलागीका घटना हुने गरेको सहायक वन अधिकृत कँडेलले बताए । आगलागीको घटना न्यूनीकरणका लागि कार्यालयले समुदायमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म आगलागीबाट एक करोड ८७ लाख ६३ हजार पाँच सय रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार आठ महिनाका अवधिमा आगलागीमा परी तीनजना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै, १९ घर र १५ गोठ पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ । रासस