मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
छैठौं कलेजो प्रत्यारोपण पछि फोटो खिचाउदै चिकित्सक
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार ११:२६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बन्द भएका सेवा सुरु 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार ११:२६:००

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बन्द भएका सेवाहरू पूर्ववत् अवस्थामा सञ्चालन गरेको छ । दुई वर्षअघि बन्द भएको मुटुको सेवा पनि सञ्चालनमा आएको छ । निकै महँगोमा उपकरण खरिद गरे पनि सेवा सञ्चालनमा आएको थिए । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा. प्रेमराज ज्ञवालीले विगतमा बन्द भएका सेवाहरू क्रमश: सञ्चालनमा ल्याएका छन् । मुटुको सेवा सञ्चालन गर्न उपकरण भए पनि चिकित्सक थिएनन् । तर, निर्देशक ज्ञवालीले करार सेवामा चिकित्सक राखेर सेवा सुरु गरेका छन् । तत्कालीन निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई ०७७ वैशाख २५ गते वीर अस्पताल सरुवा गरेर सरकारले शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीलाई केन्द्रको निर्देशक बनाएको थियो ।

कोरोना भाइरस कोभिड– १९ को संक्रमणले सेवामा केही प्रभाव पारे पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा नियमित गरेको निर्देशक डा. ज्ञवालीले बताए । ‘कोभिभ– १९को महामारीले गर्दा जनजीवन ठप्प भएको थियो,’ निर्देशक ज्ञवालीले भने, ‘संसारभरिका स्वास्थ्य संस्थाहरूमा जस्तै यस केन्द्रमा पनि बिरामीहरूको उपस्थिति न्यून थियो । मिर्गाैला प्रत्यारोपणलगायत अन्य शल्यक्रियाहरू पनि बन्द भएका थिए । तर, केन्द्रमा कोरोनाबाट पीडित बिरामीहरूको उपचार नभए तापनि दैनिक ९०–१०० बिरामीको हेमो–डाएलाइसिस सेवा नियमित रह्यो ।’ 

केन्द्रले कोभिडमा पनि यो सेवा कहिल्यै रोकेन । कोरोना पोजेटिभ भएर अन्य केन्द्रहरूले सेवा दिन अस्वीकार गरेका बिरामीहरूको हेमो–डाएलाइसिस पनि केन्द्रले नियमित गरेको उनले बताए । महामारीको समयमा बिरामीहरू कम भएको वेला केन्द्रको सरसफाइ, मर्मत कार्यलगायत वर्षौँदेखि सुप्त अवस्थामा रहेको भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र केन्द्रबीचको सम्बन्धलाई नयाँ तरिकाबाट सुरु गरेको चिकित्सकहरूले बताए । 

विश्वभरको तथ्यांक हेर्दा मिर्गाैला प्रत्यारोपणको क्रममा ३ प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उल्लेख छ । अझ कोरोनाको संक्रमण भएकाले योदर बढेर १५ देखि २० प्रतिशत पुग्ने अनुमान भएपछि संसारभरि मिर्गाैला प्रत्यारोपण शल्यक्रिया बन्द गरिएको थियो । 

२०७६ माघ महिनादेखि बन्द भएको मिर्गाैला प्रत्यारोपण शल्यक्रिया सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कोभिड पछि सबैभन्दा पहिलो ०७७ असोज २२ गतेबाट नियमित गरेको हो । हाल अन्य अस्पतालहरूमा पनि सुरु हुन थालेको छ । 

कोभिड– १९ को महामारीको अवस्थामा पनि अहिलेसम्म यस केन्द्रले नेपालभरिमा सबैभन्दा धेरै २६ जना बिरामीको मिर्गाैला प्रत्यारोपण गरेको निर्देशक ज्ञवालीले बताए । क्याथ ल्याबलगायत मुटुको उपचारका लागि आवश्यक पर्ने करोडौँ मूल्यका उपकरण खरिद गरेर वर्षौँदेखि थन्क्याएर राखिएको थियो । हाल आएर सो सेवा सञ्चालनमा आएको छ । 

यसअघि केन्द्रले कलेजो प्रत्यारोपण सेवा सुरु गरे पनि पछिल्लो समय कलेजो र मुटुको शल्यक्रिया गर्ने चिकित्सकहरू निकालिएको थियो । मुटुको शल्यक्रिया गर्ने विशेषज्ञहरू यस केन्द्रबाट निकालिएपछि अवरुद्ध रहेका सेवाहरू पनि अहिले फेरि सञ्चालनमा आइसकेका छन् । गत हप्ता मात्र केन्द्रले छैटाैँ कलेजो प्रत्यारोपण गरेको छ । 

ज्ञवाली भन्छन्, ‘कुनै पनि शल्यक्रियाको सफलता शतप्रतिशत हुँदैन । चिकित्सक र अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको मिहिनेत हुँदाहुँदै पनि कतिपय शल्यक्रियामा सफलता नमिल्न सक्छ ।’ तर, कतिपय कर्मचारीले घटनालाई बुझ्दै नबुझी संस्थाकै बदनाम गराउने काम भएकाले यस्ता कार्य रोक्नुपर्ने कर्मचारीहरू बताउँछन् । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्थान अभावका कारण चुस्त–दुरुस्त स्वास्थ्य सेवा प्रदान गर्न समस्या परेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको अंग प्रत्यारोपण सेवा प्रदान गर्न अस्पताल निर्माणार्थ जग्गाको खोजी भइरहेको निर्देशक ज्ञवाली बताउँछन् । यति मात्रै हाेइन, मिर्गाैला प्रत्यारोपण गर्दा नभइनहुने कतिपय जाँच नेपालमा नभएर भारत पठाउनुपर्ने अवस्थाको अन्त्य केन्द्रले गरेको छ । अहिले केन्द्रबाट सेवा प्रदान सुरु गरिसकिएको छ ।

केन्द्रमै मुटुको सेवा सञ्चालन गर्नु भक्तपुरका नागरिकका लागि निकै खुसीको कुरा हो । केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपण मात्रै होइन, भविष्यमा मुटु र फोक्सोसमेत प्रत्यारोपण गर्ने योजना बनाएको छ । केन्द्रले ०६९ वैशाख ११ गतेबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको र ०७३ मंसिर २२ गते बुधबार कलेजो प्रत्यारोपण सुरु गरेको थियो ।