मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २ बिहीबार १०:५८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग संकलन

Read Time : > 1 मिनेट
२०७८ बैशाख २ बिहीबार १०:५८:००

विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी नहुँदा विद्यालय आफैँले निजी स्रोतबाट शिक्षक राख्ने गरेको छ, तर तिनलाई तलब खुवाउन स्रोत नभएपछि आर्थिक संकलन गरिएको हो 

गोरखामा सामुदायिक विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन आर्थिक संकलन गर्ने गरिएको छ । विद्यार्थीअनुसार शिक्षक दरबन्दी कम भएका विद्यालयले निजी स्रोतबाट शिक्षक राख्ने र तिनलाई तलब खुवाउन आर्थिक संकलन गर्ने गरेका छन् । 

सहिद लखन गाउँपालिका– ७ बुङकोटमा रहेको श्री चण्डिका आधारभूत विद्यालयले त्यस्तै गरेको छ । सो विद्यालयले निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग संकलन गरिरहेको छ । विद्यालयमा विद्यार्थी संख्याअनुसार शिक्षकको दरबन्दी नहुँदा विद्यालयको शैक्षिक गुणस्तर असर पर्ने भएकाले निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग संकलन गरिएको वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले बताए । उनका अनुसार हालसम्म करिब पाँच लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ । अभियान सुरु गरेको पहिलो दिनमा चार लाख ९४ हजार पाँच हजार ४० रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए । 

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, विद्यालयका शिक्षक, समाजसेवी, पूर्वविद्यार्थी, कर्मचारीलगायतबाट आर्थिक सहयोग प्राप्त भएको श्रेष्ठको भनाइ छ । प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ । श्रेष्ठका अनुसार हालसम्म अधिकतम २८ हजारदेखि न्यूनतम पाँच हजारसम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको छ । थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता आइरहेको उनले बताए । 

‘विद्यालयमा शिक्षकको दरबन्दी कटौती गर्दा कक्षा सञ्चालन गर्न कठिनाइ भइरहेको छ, एउटै शिक्षकले सबै विषय पढाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘निजी स्रोतका शिक्षक राख्न विद्यालय र गाउँपालिकासँग स्रोत छैन । त्यसैले शिक्षकको व्यवस्थापन गरी गुणस्तरीय शिक्षा दिन आर्थिक सहयोग संकलन गरेका हौँ ।’ 

शिक्षाको गुणस्तरमा असर नपुग्ने गरी निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन आर्थिक स्रोत जुटाउन थालिएको उनको भनाइ छ । आर्थिक सहयोग संकलनपश्चात् विद्यालयले निजी स्रोतमा शिक्षक राख्ने तयारी गरिरहेकोसमेत उनले जानकारी दिए ।