मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २ बिहीबार १०:५३:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

अज्ञात समूहले पाइप प्वाल पारेपछि बिपी प्रतिष्ठानमा पानी अभाव

Read Time : < 1 मिनेट
२०७८ बैशाख २ बिहीबार १०:५३:००

अज्ञात समूहले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानी वितरण गरिने मुख्य पाइप प्वाल पारेपछि पानीको संकट देखिएको छ । जमिनमुनि बिछ्याइएको पाइप जमिन खनेर प्वाल पारेको पाइएको छ । 

स्थानीयका अनुसार मंगलबार दिउँसो ४ बजेतिर अपरिचित दुई व्यक्तिले पाइप गाडिएकै स्थानको जमिन खनेका थिए । उनीहरूले आफूहरू खानेपानी कार्यालयबाट आएको भन्दै धमाधम पाइप गाडिएको जमिन खनेका थिए । त्यसैक्रममा उनीहरूले नै पाइप प्वाल पारेको स्थानीयले दाबी गरेका छन् । पाइप प्वाल पार्नेहरूको पहिचान हुन सकेको छैन । प्रतिष्ठानले आफ्नो लागि आवश्यक पानी व्यवस्थाका लागि जंगलबाट पम्पिङ गरेर पाइपमार्फत खानेपानी ल्याएको छ । 

एकाएक पानी आपूर्ति बन्द भएपछि प्रतिष्ठानमा खानेपानी अभाव देखिएको थियो । त्यसपछि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको नेतृत्वमा खानेपानी आपूर्तिको समस्या समाधानको प्रयास भइरहेको छ । नगर प्रमुख राईले धरानमा खानेपानी सहज हुँदै गएको सार्वजनिक अभिव्यक्ति दिएको भोलिपल्ट प्रतिष्ठानमा पानी अभाव भएको हो । 

प्रतिष्ठानका खानेपानी कर्मचारी जीवन मगरका अनुसार प्रतिष्ठानमा मंगलबार राति १ बजेदेखि पानी अवरुद्ध भएको थियो । स्थानीय गीता लिम्बूले जानकारी दिएअनुसार ती दुई व्यक्तिले पाइप प्वाल पार्न मेसिन प्रयोग गरेका थिए । जमिन खनेर पाइपमा प्वाल पारेलगत्तै पानी निस्कन थालेको र रोक्न नसकेपछि उनीहरू त्यहाँबाट भागेको उनले बताइन् । ‘भर्खरका केटाहरू थिए, के गरेको भाइ भनेर सोध्दा हामी खानेपानी कार्यालयबाट आएको भने । पानीको फोर्स थुन्न नसकेपछि उनीहरू दुवैजना निस्किए,’ उनले नयाँ पत्रिकासँग भनिन् ।

खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलले जमिन खनेर खानेपानीको पाइपलाइनमा प्वाल पारिएपछि प्रतिष्ठानमा खानेपानी अवरुद्ध भएको बताए । उनले भने, ‘हामीलाई मंगलबार राति नै जानकारी भएको थियो । हामी राति नै अनुगमनमा पनि गएका थियौँ । तर, राति काम गर्न समस्या भएपछि बिहान आएका हौँ ।’