मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँदिल्ली
२०७८ बैशाख २ बिहीबार १०:३१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा कोरोना : शव जलाउन १२ घन्टासम्म पर्खनुपर्ने अवस्था

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७८ बैशाख २ बिहीबार १०:३१:००

भारतमा कोभिड–१९ को दोस्रो लहर सन् १९१८ मा युरोपमा फैलिएको स्पेनिस फ्लुको जस्तै बन्ने तयारीमा छ । अप्रिल–मे १९१८ मा युरोपमा स्पेनिस फ्लुमा फैलिएको थियो । केही समयमै यो संक्रमण बिस्तारै कम हुन थालेको थियो । सर्वसाधारणले ठाने कि अब स्पेनिस फ्लु सकियो ।

तर, सर्वसाधारणको सोचाइको ठीकविपरीत स्पेनिस फ्लुको दोस्रो लहर चल्यो । अगस्ट १९१८ मा स्पेनिस फ्लुको नयाँ म्युटेड आयो । यो भाइरस यति खतरनाक थियो कि युरोपमा यसको संक्रमण सुक्खा वनमा फैलिएको डढेलोजस्तो भयो ।  यो घटना थियो एक सय वर्षअघिको । अहिले भारतमा कोरोना भाइरसको दोस्रो लहरले यस्तै झल्को दिइरहेको विज्ञहरूको भनाइ छ । 

भारतमा कोरोना भाइरसको दोस्रो लहर यति धेरै खतरनाक भइसकेको छ कि यहाँ हरेक दिन डेढ लाखभन्दा बढी संक्रमणका केस सार्वजनिक भइरहेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक हजारभन्दा बढी छ । संक्रमितहरूले उपचारका लागि अस्पतालमा लामो समयसम्म कुर्नुपर्ने मात्रै होइन, शव जलाउनसमेत १२ घन्टासम्म कुर्नुपर्ने अवस्था आएको छ । 

‘एकै दिन ५०–६० वटासम्म शव आउँछ’
‘अहिले मध्याह्नको १ः१० भएको छ । यति वेलासम्म २२ वटा शव जलाइ सकेँ । केही दिनयता यहाँ दैनिक ५०–६० वटासम्म शव आउने गर्छ । खाना खाने फुर्सदसम्म पाइँदैन । शव जलाउँदाजलाउँदै खाना खाने गरेका छौँ,’ पुणेस्थित एक सरकारी शवगृहका वरुण जनगमले भने । शवदाहगृहमा काम गर्ने कर्मचारीका प्रतिनिधि पात्र हुन वरुण । पछिल्लो समय देशभरका यस्ता कर्मचारी भ्याइनभ्याइमा छन् । 

महाराष्ट्रमा मंगलबार ६० हजार दुई सय १२ जना कोरोना संक्रमित थपिएका छन् भने दुई सय ८१ जनाको मृत्यु भएको छ । महाराष्ट्र मात्रै होइन दिल्ली, गुजरात, युपी, मध्यप्रदेश, तमिलनाडु, केरल र कर्नाटक राज्यमा भाइरस तीव्र गतिमा फैलिरहेको छ । भारतका कुल संक्रमितमध्ये ८० प्रतिशत यिनै राज्यमा छन् । यसमध्ये पनि महाराष्ट्र सबैभन्दा नराम्रोसँग प्रभावित बनेको छ । 

वरुण भन्छन्, ‘हाम्रो ड्युटी समय आठ घन्टाको हुन्छ । तर, आठ घन्टा नै ओभरटाइम गरिरहेका छौँ । तर, हामीसँग पिपिईसमेत छैन ।’ आर्यघाटमा काम गर्ने कर्मचारी मात्रै होइन, मृतकका आफन्त पनि निकै दुःख झेलिरहेका छन् । आफन्त गुमाउनुको दुःख एकातिर छ त्यसमाथि दाहसंस्कार गर्न घन्टौँ कुर्नुपर्दा उनीहरू निकै नै निराश बन्ने गरेका छन् । यसअघि पनि बिरामीको उपचारका लागि उनीहरू कैयौँ दिन अस्पतालमा धाएका थिए । शवदाहस्थलको अवस्था देखेर अस्पतालहरूले पनि ढिला गरी शव दिन थालेका छन् । 

युपीका मुख्यमन्त्री योगी आदित्यनाथ पनि संक्रमित
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि कोभिड–१९ बाट संक्रमित भएका छन् । उनले बुधबार एक ट्विटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए । उनले भनेका छन्, ‘सुरुवाती लक्षण देखिनासाथै मैले कोभिड जाँच गराएको थिएँ । मेरो रिपोर्ट पजिटिभ देखिएको छ । यसकारण म आइसोलेसनमा बसेको छु । चिकित्सकहरूसँग नियमित परामर्श पनि गरिरहेको छु ।’ युपीको राजधानी लखनउमा कोरोना संक्रमण व्यापक बनिरहेको छ ।