मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख २ बिहीबार १०:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गोसाइँकुण्ड केबलकार निर्माण चाँडै सुरु हुन्छ : वनमन्त्री आले

Read Time : > 1 मिनेट
२०७८ बैशाख २ बिहीबार १०:१२:००

रसुवाको सदरमुकाम धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणको थालनी छिट्टै हुने वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । २६औँ वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा आयोजित पालिका अध्यक्ष भलिबल तथा फुटबल कपको उद्घाटन समारोहमा वनमन्त्री आलेले धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणको थालनी छिट्टै हुने बताएका हुन् । 

केबलकार निर्माणका लागि कार्यविधि बनाएर अघि बढ्न आफूले निर्देशन गरिसकेको र कार्य सुरु भएकोसमेत उनले बताए । यही वैशाख १० गतेभित्र कार्यविधि निर्माण हुनेसमेत उनले बताए । उनले भने, ‘धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि कार्यविधि बनाएर अघि बढ्न निर्देशन दिइसकेको छु, त्यो १० गतेभित्र प्राप्त हुन्छ ।’

केबलकार निर्माणका लागि मन्त्रालयले वैशाखभित्र अनुमति दिने बताउँदै उनले धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा बन्ने केबलकारले आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि भई स्थानीयहरूले आर्थिक लाभसमेत लिन सकिने उहाँको भनाइ छ । 

त्यस्तै, भूकम्प र कोभिडको समयमा पर्यटकहरूको आगमन शून्य रहेको र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटेल व्यवसायीहरूले तिर्दै आएको वार्षिक राजस्व मिनाहाका लागि माग राखेपछि वनमन्त्री आलेले व्यवसायीले तिर्ने कर मिनाहाका लागि प्रधानमन्त्री केपी ओलीसमक्ष आग्रह गर्ने आश्वासन दिएका छन् । 

गोसाइँकुण्डमा केबलकार निर्माणका लागि रसुवाको दुई र नुवाकोटको दुई स्थानबाट प्रस्ताव गरिएको छ । अन्य क्षेत्रमध्ये सदरमुकाम धुन्चेदेखि गोसाइँकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने देखिएको छ । ४ हजार ६ सय मिटर उचाइमा रहेको गोसाइँकुण्डसम्म स्थापना गरिने केबलकार ६ दशमलव ५ किलोमिटर लम्बाइको हुने बताइएको छ । उक्त दूरीमा दुईवटा टर्मिनल र २८ वटा टावर राखिनेछ । 

प्रस्तावित क्षेत्र निकुञ्जको भएकाले केलबकार निर्माणअघि इआइए गर्नुपर्ने हुन्छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले केबलकार निर्माणका लागि अगुवाइ गर्दै आएको थियो । केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् । आयोजनाको सुरुको स्थान गोसाइँकुण्ड गाउँपालिका ६ र अन्तिम स्थान गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्दछ । आयोजना निर्माण भएमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई धार्मिकस्थल गोसाइँकुण्डको भ्रमण गर्न सहज हुने भएको छ ।

केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरिसकेका छन् । आर्थिक वर्ष २०७५/०७६ का लागि केबलकारको अध्ययन गर्न प्रदेश नम्बर ३, गोसाइँकुण्ड गाउँपालिका र नौकुण्ड गाउँपालिकाले ५५ लाख बजेट विनियोजन गरेका थिए ।